Fast Nepal News

परीक्षण उडानको तयारी गर्न थाई टोली भैरहवामा

banner single news

भैरहवा — १४ माघ २०७८

भैरहवा , निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानको पूर्वतयारीका लागि थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको छ । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका चार जनाको प्राविधिक टोली बुधबार यहाँ आइपुगेको हो । टोलीले विमानस्थलमा जडित विभिन्न उपकरणको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्ने बताइएको छ । ‘यो टोली गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सम्पन्न नगरी फर्किने छैन,’ आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीन न्यौपानेले भने, ‘टोलीले काम थालेको केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली आउनेछ ।’

Inside Article Ads
थाई प्राविधिक टोलीसँग मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोलीले काठमाडौंमा छलफल गरेको थियो । टोलीले बिहीबारदेखि नै काम थालेको छ । परीक्षण उडानका लागि धावनमार्ग जाँच र विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि यही टोलीले दिनेछ । विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टोलीलाई गत माघ २ देखि भैरहवामा दुईमहिने तालिम दिन सुरु भइसकेको छ । विमानस्थलमा प्राधिकरणबाट ३४ कर्मचारी परिचालन भएका छन् । अब थप १ सय ५१ जनाको दरबन्दी पूर्ति गर्नुपर्ने अवस्था छ ।             

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.