Fast Nepal News

राष्ट्रिय सभामा सत्तापक्षको करिब दुई तिहाइ

banner single news

काठमाडौँ — १३ माघ २०७८

काठमाडौँ , राष्ट्रिय सभामा बुधबारको निर्वाचन परिणामसँगै शक्ति सन्तुलन बदलिएको छ । संघ र प्रदेश सरकारबाट बाहिरिएर कमजोर बन्दै गएको एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा थप क्षति पुगेको छ । राष्ट्रिय सभामा तत्कालीन नेकपा झन्डै दुई तिहाइ बहुमतमा रहेकामा पछिल्लो निर्वाचनपछि एमाले अध्यक्षबाहेक १६ सिटमा झरेको छ । सत्ता गठबन्धनले करिब दुई तिहाइ जुटाएको छ । प्रतिनिधिसभामा यसअघि नै सत्ता गठबन्धनको बहुमत कायम छ । राष्ट्रिय सभा सदस्यमध्ये एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र मनोनीत १ जनाको अवधि फागुन २० मा सकिँदै छ । रिक्त हुने मनोनीतबाहेक १९ सदस्यका लागि बुधबार गराइएको निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवार उठाएको थियो । मधेस प्रदेशमा एमालेले उम्मेदवारी दर्तापछि लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन बनाएको थियो । एमालेले प्रदेश १ बाट मात्र एक सिट जोगाएको छ । सत्तारूढ गठबन्धनमा भएको ‘फ्लोर क्रस’ का कारण त्यहाँ एमाले उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धन बनाउँदा सबैभन्दा बढी फाइदा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चालाई भएको छ । कांग्रेसबाट ६ जना निर्वाचित भएका छन् । योसँगै राष्ट्रिय सभामा कांग्रेस सांसदको संख्या १० पुगेको छ । जसपाको यसअघि एक सिट पनि थिएन । अहिले भने एक सिट जोडेको छ । त्यस्तै राष्ट्रिय सभामा शून्य प्रतिनिधित्व रहेको जनमोर्चाले समेत एक सिट जितेको छ । राष्ट्रिय सभामा जनमोर्चा २७ वर्षपछि प्रवेश गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक २०७८ जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि जनमोर्चा गठबन्धनमा सामेल भएको थियो । बुधबार भएको चुनावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साझा उम्मेदवारी दिएका थिए । माओवादीको उपाध्यक्षसहित १४ सिट रहेकामा चार जनाको अवधि सकिँदै छ । उसले गठबन्धन गरेर एक सिट थपेकाले राष्ट्रिय सभामा सदस्य संख्या १५ पुर्‍याएको छ । योसँगै माओवादी दोस्रो ठूलो दलमा कायम छ । एमालेबाट छुट्दा ७ सदस्य रहेको एकीकृत समाजवादीका पनि राष्ट्रिय सभामा आठ सदस्य भएका छन् । अहिलेको गठबन्धन कायम रहे सत्तापक्षमा ३७ सिट हुन्छ । स्वतन्त्र भनिएका खिमलाल देवकोटा पनि सत्तापक्षकै हुन् । अवधि सकिने लागेको एक जना मनोनीतको ठाउँमा पनि मन्त्रिपरिषद्बाट सिफारिस भएर नियुक्ति हुन्छ ।

यसका आधारमा राष्ट्रिय सभामा सत्तापक्षका ३९ सदस्य हुन्छन् । ५९ सदस्य रहने राष्ट्रिय सभामा अध्यक्षले कुनै विषयमा मत विभाजन हुँदा दुवैतर्फ बराबर भएको अवस्थामा बाहेक भाग लिन नपाउने व्यवस्था छ । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन सत्तारूढ नेकपाको राष्ट्रिय सभामा ४५ सिट थियो । अहिले एमालेइतर गठबन्धनमा दुई तिहाइ पुगेको छ । एमालेले प्रदेश १ मा एक सिट मात्र जोगाएको हो । उसले प्रदेश १ बाट २, प्रदेश २ बाट १, लुम्बिनीबाट २, कर्णालीबाट १ र सुदूरपश्चिमबाट एक सिट गुमाएको छ । सात सिट गुमाउँदा पनि राष्ट्रिय सभामा एमाले नै सबैभन्दा ठूलो पार्टी छ । प्रदेश १ बाट अन्यतर्फ कांग्रेसका गोपाल बस्नेत र महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । अन्यतर्फ बस्नेत र एमालेका गुरु बरालको समान ४ हजार ४ सय ८८ मतभार आएको थियो । गोला तान्दा बस्नेत विजयी भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए । बस्नेतलाई २०७४ मा तत्कालीन सरकारले राष्ट्रिय सभाको मनोनीत कोटामा सिफारिस गरेको थियो तर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गरेकी थिइनन् ।

उक्त समूहका अर्का उम्मेदवार राप्रपाका अमर विष्टले १ सय ८८ मतभार पाएका थिए । शेर्पा ४ हजार ७ सय ३४ मतभार ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमराज राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरेका थिए । ४ मत भने बदर भएको थियो । महिलातर्फ एकीकृत समाजवादीकी राई ४ हजार ६ सय ९२ मतभार ल्याएर विजयी भएकी हुन् । उक्त समूहमा एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ र राप्रपाकी रञ्जु प्याकुरेलले १ सय २० मतभार प्राप्त गरेका थिए । तीनवटा मत बदर भएको थियो । लम्सालका अनुसार स्थानीय तहका दुई प्रतिनिधि र एक प्रदेश सांसद मतदानमा अनुपस्थित थिए । स्थानीय तहतर्फ २ सय ७० र प्रदेशसभा सदस्यतर्फ ९१ मत खसेको थियो । मधेस प्रदेशबाट गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मतभार र अन्य समूहमा जनता समाजवादी पार्टीका खालिद सिद्धिकीले ६ हजार ६ सय ७८ मतभारसहित विजयी भएको प्रदेश निर्वाचन कार्यालय जनकपुरकी प्रमुख पुष्पा झाले बताइन् । अन्यमा एमालेका उसमान अन्सारीले २ हजार ७ सय ६६ र महिलामा लोकतान्त्रिक समाजवादी पार्टीकी रूपा यादवले २ हजार ७ सय ५४ मतभार प्राप्त गरेका थिए । एमालेकी उम्मेदवार बिना साहले ३ सय ६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ ।

मधेस प्रदेशमा उम्मेदवारी दर्तापछि एमालेले महिला सदस्यमा सघाउने गरी लोसपासँग गठबन्धन गरेको थियो । महिला समूहतर्फ स्थानीय तहका १६ र प्रदेशसभाका तीन जनाले दिएको मत बदर भएको छ । अन्य समूहतर्फ प्रदेश सांसदको २ र स्थानीय तहको ६ मत बदर भयो । वाग्मती प्रदेशमा पनि दुवै सिटमा सत्तारूढ गठबन्धन विजयी भएको छ । महिलातर्फ एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना ४ हजार ८ सय २४ र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल ४ हजार ७ सय ९४ मतभारसहित विजयी भएका हुन् । पौडेललाई पनि २०७४ मा सरकारले सिफारिस गरे पनि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा मनोनयन गर्न अस्वीकार गरेकी थिइन् । महिलातर्फ एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेर पराजित भइन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार पाए । नेमकिपाका गीता काफ्ले र कृष्णबहादुर तामाङले ८४/८४ मतभार प्राप्त गरे । प्रदेशसभाको १ सय ९ मतमध्ये १ सय ६ मत र स्थानीय तहतर्फ शतप्रतिशत (२ सय ३७ मत) खसेको थियो । तीन मत रहेको विवेकशील साझा पार्टी भने मतदान प्रक्रियामा सहभागी भएन ।

गण्डकीबाट महिलामा कांग्रेसकी कमला पन्त, अन्य र दलितबाट माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार पन्तले ३ हजार ८४ मतभार पाइन् । प्रतिद्वन्द्वी एमालेकी लीला पोख्रेल थनेतले २ हजार ७ सय २४ मतभार ल्याइन् । पन्त कांग्रेसको हालै भएको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । दलिततर्फ सुनारले ३ हजार ४८ मतभार ल्याए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले २ हजार ७ सय २४ मतभार पाए । अन्य समूहबाट आलेमगर ३ हजार ९६ मतभारसहित विजयी भए । एमालेका पुण्यप्रसाद पौडेलका पक्षमा २ हजार ६ सय ९४ मतभार पर्‍यो । गठबन्धनको केही मत एमालेलाई गएको थियो ।

Inside Article Ads

प्रदेशसभामा एमालेका २७ सांसद भए पनि महिला र दलिततर्फ २/२ र अन्यमा १ मत बढी खसेको थियो । स्थानीय तहतर्फ पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि रहेकामा ५ जनाले मत क्रस गरे । एमालेका ६९ जनप्रतिनिधि रहेकामा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढी परेको हो । मतदानमा स्थानीय तहका २ जनप्रतिनिधिले भाग लिएनन् । प्रदेशसभा सदस्य भने शतप्रतिशत सहभागी भए । बागलुङको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट मतदानमा सहभागी नभएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित खड्का केन्द्रको निर्देशनअनुसार मतदानमा सहभागी नभएका हुन् । राप्रपाबाटै निर्वाचित म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल भने पार्टीको निर्देशनविपरीत मतदानमा सहभागी भइन् । गण्डकीमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० मतदाता रहेकामा १६८ मत खसेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट अन्यतर्फ कांग्रेसका युवराज शर्मा, महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार शर्मा ४ हजार ३ सय ४४ मतभार प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्ताले ३ हजार ३ सय ७८ मतभार मात्र ल्याए । महिलातर्फ गैरेले ४ हजार ३ सय ७४ मतभार पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनाल उपाध्यायले ३ हजार ३ सय १२ मतभार ल्याएर पराजित भइन् । दलिततर्फ विश्वकर्मा ४ हजार ३ सय ५६ मतभार प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३ हजार ३ सय ४८ मत प्राप्त गरे ।

लुम्बिनीमा कुल २ सय ९६ मतदातामध्ये २ सय ९४ मत खसेको थियो । राप्रपाबाट निर्वाचित बाँकेको नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा र रूपन्देहीको रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार मतदानमा उपस्थित नभएको निर्वाचन अधिकृत थापाले बताए । कर्णालीबाट अन्यतर्फ एकीकृत समाजवादीका उदय बोहरा, अपांगता वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित भएका हुन् । बोहराले ३ हजार ६ मतभार ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका चूडामणि शर्माले १ हजार ४ सय १६ मतभार ल्याए । अपांगता वा अल्पसंख्यकतर्फ विष्टले ३ हजार ६ र उनका प्रतिद्वन्द्वी एमालेकै पदमबहादुर माझीले १ हजार ३ सय ९८ मतभार ल्याए । महिलातर्फ गुरुङ २ हजार ९ सय ७० मतभारसहित विजयी हुँदा उनकी प्रतिद्वन्द्वी गंगा महतले १ हजार ४ सय १६ मतभार पाइन् ।

सुदूरपश्चिमबाट महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तहमा १ सय ७५ र प्रदेश सभाका ५३ मतदाता गरी मतभार ५ हजार ६ सय ४६ छ । शाह ३ हजार ८ सय ३४ मतभार ल्याएर विजयी भएकी हुन् । प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी थापाले १ हजार ७ सय २८ मतभार पाइन् । दलिततर्फ पार्कीले ३ हजार ७ सय ६२ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विश्वकर्माले १ हजार ७ सय ८२ मतभार पाए । अन्य समूहतर्फ कांग्रेसका मिश्र ३ हजार ७ सय ४४ मतभारसहित विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले १ हजार ८ सय ६६ मतभार पाए । आगामी फागुन २० मा रिक्त हुने राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा गराइएको चुनावमा नौ दलका ४३ जना प्रतिस्पर्धामा थिए । २ हजार २५ मतदातामध्ये २ हजार ७ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । चुनावमा प्रदेशसभा सदस्य १ बराबर ४८ र स्थानीय तहका पदाधिकारीतर्फ १ सदस्य बराबर १८ मतभार हुने व्यवस्था छ ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.