Fast Nepal News

मुग्लिङ–नागढुंगा सडकमा मालवाहकलाई अब छुट्टै लेन

banner single news

चितवन — १३ माघ २०७८

चितवन , संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग मुग्लिङ–नागढुंगा सडकमा मालवाहक सवारीसाधनका लागि फरक लेनको व्यवस्था गरिने भएको छ । विस्तारको क्रममा रहेको यो सडकअन्तर्गत उकालो क्षेत्रमा गुड्न मालवाहक सवारीलाई सहजता र ट्राफिक व्यवस्थापनका लागि ‘क्लाइम्बिङ लेन’ बनाउन लागिएको हो । यो लेन बनेपछि मालवाहक सवारीलाई अन्य सवारीले पछ्याइरहनुपर्ने र कुनै सवारी बिग्रिएर घण्टौं जाममा बस्नुपर्ने अवस्था रहने छैन । ‘यो सडक विस्तार गर्नुको प्रमुख उद्देश्य मालवाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउनु हो । त्यसैले क्लाइम्बिङ लेन राख्न थालेका हौं,’ नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले भने । चितवनको मुग्लिङदेखि काठमाडौंको नागढुंगासम्मको सडकको लम्बाइ ९४.८० किलोमिटर छ । यो खण्डमा पृथ्वी राजमार्गको ८२.४० किमि र त्रिभुवन राजपथको १२.४० किमि सडक पर्छ । यो सडकलाई तीन खण्ड बनाएर विस्तार भइरहेको छ । जसमा नागढुंगा–नौबिसे (१२.२६ किमि), नौबिसे–मलेखु (४३.५४२ किमि) र मलेखु–मुग्लिङ (३८.८६१ किमि) पर्छन् ।

मुग्लिङ–नागढुंगा खण्डमा ३७.७५७ किमि सडकमा क्लाइम्बिङ लेन रहने आयोजना प्रमुख कार्की बताउँछन् । ‘नागढुंगा–नौबिसेमा ४.७१० किमि र नौबिसे–मुग्लिङ खण्डमा ३२.८६५ किमि सडकमा अतिरिक्त लेन बन्नेछ,’ उनले भने, ‘खासमा उकालो क्षेत्रमा सडक ३ लेनको बन्ने हो । एउटा लेन मालवाहक गाडीका लागि मात्रै हुनेछ । अरू गाडी बाँकी २ लेनबाट गुड्नेछन् ।’ मुग्लिङ–नागढुंगा सडक हुँदै दैनिक १२ हजारभन्दा धेरै साना–ठूला सवारीसाधन काठमाडौं छिर्ने गर्छन् । तर, यो सडक मुस्किलले दुई लेनको मात्रै छ । सवारी चाप, पहिरो र सडक नै पुरानो भएका कारण अवस्था जीर्ण छ । मोडहरू फराकिला छैनन् । उकालोमा मालवाहक गाडी पछ्याउँदा अन्य गाडीको लामै लाम लाग्छ । मुलुककै लाइफलाइनका रूपमा रहेको सडकको दुरवस्था सुधार गर्न आयोजनाले काम सुरु गरेको हो । यो सडकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप २ लेन, बजार क्षेत्रमा ४ लेन र उकालोमा क्लाइम्बिङ लेनसमेत बनाउने गरी विस्तार गर्न लागिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए ।

‘अहिलेको सडक दुई लेनका लागि पनि एक मिटर कम हुन्छ । हामी यसलाई मापदण्डअनुरूप दुई लेनको कायम गर्दै छौं,’ उनले भने, ‘बजार रहेका १६ स्थानमा सडक २१–३० मिटरसम्म फराकिलो बनाइनेछ । ४ लेन रहने सडकको कुल लम्बाइ ९.८६० किमि हुनेछ ।’ सडक विस्तारमा समेत समय अनुकूलको प्रविधि उपयोग गरिने उनले बताए । आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड ४२ लाख ४६ हजार रुपैयाँ अनुमान गरिएको छ । निर्माण सुरु भएपछि नागढुंगा–नौबिसे खण्ड २ वर्षमा र बाँकी खण्ड ३ वर्षमा सक्ने लक्ष्य आयोजनाको छ । तर सडक विस्तार समयै सक्न र विस्तारका क्रममा गाडीको चाप व्यवस्थापन गर्न भने चुनौतीपूर्ण देखिएको छ । यसअघि नारायणगढ–मुग्लिङ खण्ड विस्तार गर्दा निकै समस्या परेको थियो । ‘मुलककै मुख्य राजमार्ग हो । धेरै गाडीहरू चल्छन् । काममा पनि ढिलाइ नहोस्, यातायात पनि प्रभावित नहोस् भन्नेर विशेष योजना बनाउनुपर्छ । यसका लागि एकै पटक धेरै सडक खन्ने हैन, स–सानो खण्ड बनाएर काम गर्दै जान सकिन्छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले भने ।

Inside Article Ads

उनले उकालोमा भारी बोकेका ट्रकका लागि छुट्टै लेन बन्नु राम्रो भएको र त्यो लेन कालोपत्रे गर्नुभन्दा कंक्रिट ढलान गर्नु उचित हुने राय दिए । आयोजना प्रमुख कार्की विस्तारका बेला आउन सक्ने समस्याहरूलाई समाधान गर्दै लैजान अहिलेदेखि नै तयारी सुरु भएको दाबी गर्छन् । उनले सरोकार समितिहरू बनाएर सल्लाह लिँदै आएको जानकारी दिए । यो आयोजना विश्व बैंकको ऋण सहयोगमा सम्पन्न हुँदै छ । ‘चैत १५ भित्रै नागढुंगा–मलेखु खण्ड विस्तारको ठेक्का सम्झौता हुनेछ । त्यसको २/४ महिनापछि मुग्लिङ–मलेखुको पनि सम्झौता हुनेछ,’ उनले भने । आयोजना कार्यालयले अहिले विस्तारका बेला काट्नुपर्ने रूखहरूको लगत संकलन गर्ने, घरहरूको विवरण लिने र विद्युत्का पोल सार्दा लाग्ने खर्च आकलनको काम गरिरहेको जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.