Fast Nepal News

पेन्सन पाउँदा किसान दंग

banner single news

नेपालगन्ज — १२ माघ २०७८

नेपालगन्ज , बाँकेको नरैनापुर गाउँपालिका–१ कटकुइयाकी कमला तिवारी पाँच कट्ठामा तरकारी खेती गर्छिन् । बारीमा फलेका टमाटर, भान्टा, भेडे खुर्सानी बेच्न उनलाई बजारसम्म पुग्नु पर्दैन । स्थानीय बजारमा आफ्नो उत्पादन बेच्छिन् । २०६० सालदेखि व्यावसायिक तरकारीले गुजारा गर्दै आएकी उनको चार जनाको परिवार खेतीमै रमाएको छ । गाउँपालिकामा उनको परिचय उत्कृष्ट किसानको छ । उनले गाउँपालिकाबाट मासिक २ हजार रुपैयाँ पेन्सन पाउँछिन् । अब उनी बेमौसमी तरकारी खेती लगाउने तयारीमा छिन् । उनको तरकारी खेतीप्रतिको लगाव देखेर गाउँपालिकाले बोरिङ मेसिन उपलब्ध गराएको छ । ‘बीउबिजन सहयोग माग्दै तरकारी खेती गरिरहेकी छु,’ ४३ वर्षीया तिवारीले भनिन्, ‘कृषिमार्फत स्वरोजगारलाई बढावा दिने सोच छ ।’ नरैनापुर–६ दोन्द्राका ७० वर्षीय हमिद मुकेरी १४ कट्ठामा तरकारी खेती गरिरहेका छन् । उनको १४ जनाको परिवार कृषिमा निर्भर छ । उनलाई पनि गाउँपालिकाले पेन्सनबापत मासिक २ हजार रुपैयाँ दिन्छ । ‘गाउँका युवा जग्गा बाँझो राखेर भारत जान्छन्,’ मुकेरीले भने, ‘घरमा भएका बूढाबूढीले नै खेती गर्नुपर्‍यो ।

खेती गरेर पेन्सन पनि पाउँदा खुसी छु ।’ नरैनापुर–४ दौलतपुरका ५४ वर्षीय धनवीर थारूले १२ कट्ठामा तरकारी खेती गरेको १० वर्ष भयो । कृषिबाट भएको आम्दानीको उनले ठ्याक्कै हिसाब राखेका छैनन् । तर उनको चार जनाको परिवार यही खेतीबाट धानिएको छ । गाउँपालिकाको किसान पेन्सन योजनाले उनलाई थप हौस्याएको छ । ‘पेन्सन पैसा मात्र होइन, किसानलाई गरिएको सम्मान पनि हो,’ थारूले भने, ‘किसान पेन्सनले खेतीमै लगानी गर्न किसानलाई मद्दत पुर्‍याउँछ ।’ उत्पादित कृषि उपजले गाउँमै बजार पाएको छ । ‘बीउबिजन र बोरिङमा बढी खर्च हुन्छ,’ उनले भने, ‘घर खर्च चलेकै छ । वर्षमा एक–डेढ लाख आम्दानी हुन्छ ।’ नरैनापुरका अधिकांश स्थानीय कृषिमा निर्भर छन् । त्यसैले गाउँपालिकाले कृषिमा उत्कृष्ट गरेका किसानलाई पेन्सन दिएर थप उत्साहित बनाएको छ ।

Inside Article Ads

गाउँपालिकाले ६ जना व्यावसायिक पशुपालक र ६ जना तरकारी खेती गर्नेलाई पेन्सन दिन सुरु गरेको हो । चालु वर्ष १२ जनालाई उत्कृष्ट किसान ठहर गरी जनही मासिक २ हजार रुपैयाँ ‘किसान पेन्सन’ दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन लिएको नीति यो महिना (माघ) बाट कार्यान्वयनमा ल्याएका हौं,’ उनले भने, ‘कृषि पेसाबाट अलग भएका किसानका हकमा पेन्सन रोक्का गरिनेछ ।’ गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले व्यावसायिक कृषि गरिरहेका कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा पेन्सन दिने व्यवस्था गरेको बताए । ‘अहिले १२ जनालाई समेटे पनि उत्कृष्ट किसान छनोट गर्दै संख्या बढाउँदै लैजाने छौं,’ उनले भने ।

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.