
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमलाई पदबाट हटाउने तयारी गरेकी छिन् ।नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र विद्युत् नियमन आयोगलगायतका प्रमुख तथा पदाधिकारीहरू हटाउने अभियानमा रहेकी मन्त्री भुसालले एचआईडीसीएलका सीईओलाई पनि हटाउने योजना बनाइरहेकी हुन् ।मन्त्री नियुक्त भएसँगै भुसालले नेपाल विद्युत् प्राधिकरणकाका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई विनाकसुर हटाएर कुलमान घिसिङलाई ल्याएकी छिन् । त्यस्तै उनले विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहलाई हटाएर आफ्नो अनुकुलको व्यक्तिलाई जिम्मेवारी प्रदान गरिसकेकी छिन् । अहिले विभागको महानिर्देशकको जिम्मेवारीमा सन्दिप कुमार देव छन् ।त्यसैगरी मन्त्री भुसालले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहसहितका पदाधिकारीहरूलाई हटाउनका लागि अनेक प्रपञ्च गरिरहेकी छिन् । तर, विभिन्न कानुनी र व्यावहारिक अड्चनका कारण यो अभियानमा उनले हालसम्म सफलता पाउन सकेकी छैनन् ।
यसैबीच उनले एचआईडीसीएलका सीईओ गौतमलाई पनि हटाउने तयारी गरेकी हुन् ।मन्त्रालय मातहतका सबै निकायहरूमा आफ्नो अनुकुलका व्यक्तिहरूलाई स्थापित गर्ने र समग्र जलविद्युत् क्षेत्रलाई आफ्नो कब्जामा पार्ने रणनीति अनुसार मन्त्री भुसालले एकलौटीरूपमा यस्तो अभियान थालेको मन्त्रालय स्रोतको दाबी छ ।यद्यपि, सीईओ गौतमलाई हटाउने कुरामा मन्त्रालयका सचिव देवेन्द कार्कीले असहमति प्रकट गरेपछि त्यो प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतले बताएको छ । मन्त्रालयका सचिव कार्की जलविद्युत् लगानी तथा विकास कम्पनीका अध्यक्ष हुन् ।पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रलाई आफ्नो अनुकुलको बनाउन उनले देखाएको यो अस्वाभाविक र अव्यवहारिक रणनीतिक व्यवहार रहस्यमयी रहेको जानकारहरू बताउँछन् ।
