Fast Nepal News

विदेश बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा रोक

banner single news

काठमाडौँ —  १० माघ २०७८

काठमाडौँ , अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ । पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको पनि सूचनामा उल्लेख छ ।

‘नेपालमा विदेशी मुद्राका रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र स्वदेशी पुँजी पलायन हुने हुन्छ,’ निर्देशनमा भनिएको छ, ‘यसकारण त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरे गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैका लागि जानकारी गराइन्छ ।’ स्रोतका अनुसार विदेशमा बस्ने नेपाली क्रिप्टोकरेन्सीलगायत गैरकानुनी काममा आबद्ध भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएको छ । उक्त कारोबारबाट कमाएको धन पनि अवैधानिक हुने भएकाले त्यसो नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

Inside Article Ads

राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्य नगर्न/नगराउन निर्देशन दिएको थियो । उक्त निर्देशन विदेशमा बस्ने नेपाली र नेपालमा बसोबास गर्ने विदेशीको सम्बन्धमा मौन थियो । अहिले विदेशमा बस्ने नेपाली र नेपालमा बस्ने विदेशीले पनि क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन नपाउने र त्यस्तो कारोबार गैरकानुनी भएको राष्ट्र बैंकले प्रस्ट्याएको छ । राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज गरेको थियो । पछिल्ला वर्षमा विभिन्न नाममा बिटक्वाइन जस्तै प्रकृतिका अन्य धेरै करेन्सीको कारोबार भइरहेका छन् ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.