Fast Nepal News

हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन लाग्ने

banner single news

ताप्लेजुङ —  १० माघ २०७८

ताप्लेजुङ , हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन बढी लाग्ने भएको छ । सुकेटारदेखि पाथीभरा मन्दिरसम्मै बाक्लो हिउँ परेकाले बाटो खुल्न समय लाग्ने भएको हो । पाथीभरा जानका लागि सुकेटारदेखि काफ्लेपार्टीसम्म १२ किलोमिटर कच्ची सडक छ । त्यहाँबाट ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । मोटरबाटोको तुलनामा पैदल हिँड्ने बाटोमा धेरै हिउँ भएको र त्यो बिलाउन साता दिनभन्दा बढी लाग्ने पाथीभराका कर्मचारी राजेन्द्र महत बताउँछन् । उनका अनुसार माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा अधिक हिउँ थुप्रिएको छ । सुकेटार–पाथीभरा ट्याक्सी चलाउँदै आएका चालक विपुल पोख्रेलका अनुसार रातको समयमा धुम्म भएर बादल लागे हिउँ चाँडो बिलाउँछ । तर राति आकाश खुले शीत पर्ने र त्यो शीतले हिउँ झन् दह्रो बनाउने भएको हुँदा यातायात चलाउन कठिन हुन्छ । ‘राति आकाश खुलिदियो भने हिउँ स्टिल जस्तो हुन्छ, बिलाउन पनि समय लाग्छ, फुट्न पनि फुट्दैन,’ पोख्रेलले भने, ‘हिउँ परेकै बेला तुँवालो लाग्यो भनेचाहिँ तापले जम्न पाउँदैन र चाँडो बिलाउँछ ।’ हिउँका कारण कच्ची सडक हिलाम्य भएको छ ।

हिउँ बिलाउँदा पानी हुने भएकाले सुकेटारदेखि काफ्लेपार्टीसम्म कतै पनि सुक्खा नभएको पोख्रेल बताउँछन् । हिउँ नपरेको समयमा पैदल मार्ग अत्यधिक चिप्लो हुन्छ । यतिबेला बिनालट्ठी हिँड्नै नसकिने राजेन्द्र बताउँछन् । उकालो चढ्दाको तुलनामा ओरालो झर्दा कठिन हुने गरेको छ । यतिबेला पैदलयात्रीलाई जुत्ताको बाहिर जुराफ लगाउन सुझाव दिने गरेको उनले बताए । जुराफ जुत्ता जस्तो नचिप्लिने भएकाले हिँड्न केही सहज हुन्छ । ‘नयाँ परेको हिउँमा टेक्दै हिँड्यो भने लड्ने सम्भावना कम हुन्छ,’ राजेन्द्रले भने, ‘बिलाउँदै गरेको र अरूले टेकेको हिउँमा चिप्लिने जोखिम अधिक हुन्छ । त्यो बेला जुत्ताको बाहिर बाक्लो जुराफ लगाए चिप्लिने खतरा कम हुन्छ ।’ लडेर यात्रुहरूको घुँडामा चोट लागेपछि तीन वर्षअघि माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका हवलदार धनराज तुम्बापोले तीर्थयात्रीले टाँगेको धागोको बाहिर कपडाको गाँठो बनाइदिएका थिए । त्यही धागो समाएर हिँड्न सुझाएका थिए । यहाँ सहज परिस्थितिमा तीर्थयात्रीले माथिल्लो फेदी नजिकैको कान्छी थानदेखि पाथीभरा मन्दिरसम्म धागो टाँगेर लैजान्छन् । त्यो धागो निकै ठूलो मुठो हुने गरेको छ । पूरै ठाडो र अप्ठेरो ठाउँहरूमा एकदेखि अर्को रूखमा डोरी बाँधिदिएका थिए ।

 डोरी पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले उपलब्ध गराएको थियो । हिउँ परेका बेला चिप्लेर यात्रु लड्न थालेपछि अहिले बाटोमा जस्तापाता लगाउन थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले मन्दिरदेखि काफ्लेपार्टीसम्म जस्तापाता लगाउने योजना रहेको बताए । यो भित्र हिउँ नपस्ने र पसिहाले चाँडै बिलाउने भएकाले बाटो छोप्ने योजना ल्याइएको हो । ‘यति गर्न सके बर्खामा पानी र हिउँदमा हिउँ पर्दा यात्रीहरू निर्बाध हिँड्न पाउँछन्,’ काफ्लेले भने, ‘दुवैतिर बारिने भएकाले समाएर हिँड्न पनि पाउँछन् ।’ तर यसका लागि बजेटचाहि करोडौं चाहिने उनले बताए । अहिलेसम्म करिब एक किलोमिटर सडकमा छानो लगाइएको छ । पाथीभरा क्षेत्रमा तीन/चार फिट बाक्लो हिउँ जम्ने गरेको छ । ‘मान्छे हिँड्ने बाटोको हिउँ कोदालोले सोरेर पन्साउँछौं पनि,’ पाथीभराका कर्मचारी डिल्ली आचार्यले भने, ‘बाटो बाहिर त पछि वैशाख–जेठसम्मै हिउँ रहन्छ ।’ पाथीभरा मन्दिरदेखि पाँच सय मिटरसम्मको सडकमा छानो लगाइएको छ ।

Inside Article Ads

हिउँदमा हिउँमा नलडुन् र बर्खामा पानीले नभिजुन् भनेर छानो लगाउन थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् । माथिल्लो फेदीसम्मै छानो लगाउने योजना छ । यसका लागि कम्तीमा चार करोड रुपैयाँ लाग्छ । ‘पाँच सय मिटरका लागि ७० देखि ८० लाख रुपैयाँ लाग्ने रहेछ,’ काफ्लेले भने, ‘यति क्षेत्रफलको बाटो छोप्न सके र बिजुलीको व्यवस्था गरिदिए यात्रुलाई कुनै समस्या हुँदैन ।’ ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्न काफ्लेपार्टीसम्म गाडीमा जान सकिन्छ । सदरमुकामदेखि सुकेटारसम्म ८ किलोमिटर कालोपत्रे सडक छ । त्यहाँदेखि काफ्लेपार्टीसम्म १२ किलोमिटर कच्ची छ । काफ्लेपार्टीदेखि माथिल्लो फेदीसम्म अढाई किलोमिटर छ । माथिल्लो फेदीदेखि मन्दिरको दूरी पनि अढाई किलोमिटर नै छ । मन्दिर क्षेत्रको जंगलमा वैशाखसम्मै हिउँ रहने भएकाले तीर्थयात्रीले हिउँको स्पर्श गर्न पाउँछन् । अझ पछिल्ला वर्ष फागनु–चैतमै हिउँ पर्ने गरेको छ ।

( कान्तिपुर दैनिक )

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.