Fast Nepal News

प्रताप मल्लकालीन शिलालेख प्रहरी चौकीआँगनमा

banner single news

काठमाडौँ —  १० माघ २०७८

काठमाडौँ , मल्लकालमा वंशकै शक्तिशाली राजा थिए प्रताप मल्ल । उनका पालामा बनेको डल्लु खोलाको पुलमा तीनवटा शिलालेख राखिएका थिए– मल्ल राजाकै गाथा, कपरदार भोटु पाण्डेको वीरता र जंगबहादुर राणाका बुहारीका बारेमा । झन्डै ५ सय वर्षअघि (संवत् १६९८–१७३१) मा ३३ वर्ष राजा रहेका उनले रानीपोखरी, हनुमानढोका मूर्ति, हनुमानढोकाभित्र नासलचोक, नरसिंहचोक, सुन्दरीचोक, कालीचोकसहितका ऐतिहासिक संरचना बनाउन लगाएका थिए । पुल, साँधसीमा, खोलाको पहिचानका लागि यसरी शिलालेख राख्न सुरु गरेका थिए । ‘डल्लु खोलाको पुलमा राखिएका तीनवटै शिलालेख हराएको वर्षौं भइसकेको थियो, अहिले एउटा भने स्वयम्भूको प्रहरी चौकीको आँगनमा भेटिएको जानकारी आयो,’ इतिहासविद् महेशराज पन्तले कान्तिपुरसँग भने । डल्लु प्राचीन मार्ग एवं पुल विस्तारका क्रममै २०२० सालमा जापानले बनाइदिएको नयाँ पुलमा भने ती शिलालेख नरहेको छाउनीवासी पन्तले बताए । २०२० सालपछि ती तीन शिलालेख कता हराए, लगिए भन्नेमा कतै अभिलेख छैन ।

अहिले दुई वटा शिलालेख भने स्वयम्भू प्रहरी चौकी परिसरमा भेटिएको हो । विज्ञ पन्तका अनुसार भेटिएका दुई शिलालेखमध्ये पहिलोमा डल्लु पुल बनाइएको संवत् १७२० (नेपाल संवत् ७८३) को विवरण उल्लेख छ । यस शिलालेखको अभिलेख संग्रह, भाग–३ (संशोधन मण्डल–२०१८) मा अन्वेषक गौतमबज्र वज्राचार्य र महेशराज पन्तले प्रकाशन गरेका छन् । फेला परेको अर्को शिलालेखमा भने जंगबहादुरकी बुहारीका बारेको लिखत छ । यसमा संवत् १९४१ मिति लेखिएको छ । डल्लु पुलमा रहेका भोटु पाण्डे (संवत् १८६७) बारेको शिलालेख भने अप्राप्य बनिसकेको छ । ‘हामीसँग यो शिलालेख कहिलेदेखि छ, यसको अभिलेख वा पुरातात्त्विक महिमा के छ भन्ने हामीलाई जानकारी छैन,’ स्वयम्भू प्रहरी चौकीका प्रमुख डीएसपी मिलन केसीले भने, ‘पक्कै महत्त्वकै चिज हुनुपर्छ भनेर सुरक्षित राखेका छौं ।’ इतिहासविद् पन्तका अनुसार, डल्लु खोलाको पुलमा रहेका ३ शिलालेखमध्ये पहिलोको २०१८ मा प्रकाशित ‘अभिलेख संग्रह’ मा विवरण आइसकेको छ भने दोस्रोको योगी नरहरिनाथको पत्रिका ‘संस्कृत सन्देश’(२०११) मा लिपि उल्था गरिएको छ । तर, प्रहरी चौकीको कुनोमा खुला आकाशमुनि राखिएको शिलालेख घामपानीका कारण धुमिलिँदै गएको र यसलाई पढ्न निकै मिहिनेत चाहिने अन्वेषक पन्तले बताए ।

स्वयम्भू चौकीमा शिलालेखबाहेक पुरातात्त्विक देखिने कालो ढुंगाको चतुर्मुखी लिंग र एक प्रस्तर बसाहा पनि राखिएको छ । सम्पदा संरक्षण महाअभियानअन्तर्गत हराएका/चोरिएका सम्पदाको खोजबिनमा लागेका अभियानकर्मी यादवलाल कायस्थको टोलीले स्वयम्भू, हनुमानढोका, जनपथ प्रहरी, गौशाला प्रहरी चौकी आदिमा रहेका मूर्ति/सम्पदाका बारेमा जानकारी बटुलेको हो । ‘यस्ता मूर्ति, अभिलेख राखिने स्थान प्रहरी चौकी होइन भनेर बहस–परामर्श सुरु गर्नै पनि चौकीमा धाउन थालेका छौं,’ कायस्थ भन्छन्, ‘पहिलो चरणमा धर्मपथको जनपथ प्रहरी कार्यालयमा रहेका १५ वटा ऐतिहासिक महत्त्वका मूर्ति तथा सम्पदालाई छाउनी संग्रहालयमा जिम्मा लाउन यो साता सफल भएका छौं ।’ अभियन्ता कायस्थसहितको आग्रहमा छाउनी राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठसहितको टोली जनपथ प्रहरी गएर तत्काल प्राप्त मूर्ति, सम्पदाको अभिलेख राख्दै संग्रहालयमा लगिसकेको छ । ‘जनपथ प्रहरीको धर्मपथ कार्यालयमा राखिएका १५ वटा मूर्ति छाउनी संग्रहालय ल्याइएको छ,’ प्रमुख श्रेष्ठले भने, ‘तत्कालै यी सामग्रीको पुरानो अभिलेख पहिल्याउन वा पुरातात्त्विक हिसाबले तत्कालै सबै आधार निश्चित गर्न मुस्किल छ ।’ जनपथबाट छाउनी लगिएका मूर्तिमा कामदेव, टुँडाल (कृष्ण), शिलापत्र, गजुर, भूमिस्पर्सका अक्षोभ्य बुद्ध (शिर काटिएको), ‘न्हेकङ्लो’ आदि छन् ।

२०७४ सालको भूकम्पपछि विभिन्न स्थानमा अलपत्रै रहेका मूर्तिहरू सुरक्षा र संकलनका हिसाबमा जनपथमा राखिएको र मुचुल्का उठाएर छाउनी संग्रहालयमा ल्याइएको प्रमुख श्रेष्ठले जनाए । हनुमानढोका प्रहरी कार्यालय प्रमुख एसएसपी सुदीप गिरीले २०७४ को भूकम्पमा भत्किएका र अलपत्रै देखिएका मूर्ति, सम्पदाहरू तत्कालको सुरक्षाका हिसाबमा प्रहरीकहाँ राखिएको जानकारी दिए । हनुमानढोकाभित्रकै दुर्गा मन्दिरमा दुर्गा र बुद्धको पुरातात्त्विक मूर्ति राखिएको छ, तर त्यसबारेको अभिलेख पनि कहींकतै छैन । ‘प्रहरीभित्र यस्ता सामग्रीको पुरातात्त्विक महत्त्व केलाउने वा अभिलेख राख्ने/हेर्ने संयन्त्र नभएकाले देखेभेटेसम्मका सम्पदालाई सुरक्षा गरेर राख्ने मात्रै हो,’ एसएसपी गिरीले भने, ‘अब यस्ता सम्पदाको पहिचान, अभिलेखीकरण गर्ने र प्रहरी चौकीजस्तै अरू निकायमा रहेका बेवारिस मूर्तिहरूको जिम्मा लिनेगरीको टास्क–फोर्स तय हुनुपर्छ जस्तो लाग्छ ।’ अरूभन्दा पनि देशभित्रबाट चोरिएर विदेश पुगेका मूर्तिको सरोकारमा सबै निकाय जागृत भइरहेका बेला आफ्नै घरभित्र चोरिएका, हराएका वा अलपत्रै भेटिएका सम्पदाका बारेमा पनि ख्याल रहनुपर्ने विज्ञहरूको भनाइ छ । ‘हामी आफैंले हाम्रो सम्पदाको अभिलेखीकरण गर्न सकिरहेका छैनौं,’ अभियन्ता कायस्थ भन्छन्, ‘संग्रहालयमै रहेका सम्पदाको पनि अभिलेखीकरण हुन नसकेको अवस्था छ, यसबेला पुरातत्त्व विभाग, अभिलेखालयले आफ्नो इतिहास/सभ्यता जोगाउने सम्झाउने पक्षमा निकै काम गर्नुपर्ने देखिन्छ ।’

Inside Article Ads

विभिन्न प्रहरी चौकीमा भेटिएका मूर्तिको शिल्पी र बनोट हेर्दा यीमध्ये केही सोह्रौं/सत्रौं शताब्दीको हुन सक्ने अनुमान संस्कृतिविद् गोविन्द टन्डनले गरेका छन् । जनपथ प्रहरीबाट उठाइएको र गौशाला चौकीमा भेटिएका दुई बुद्ध मूर्तिको टाउको काटिएको देखिएकाले यसमा ऐतिहासिकता र सरोकार बढी हुन सक्ने उनले बताए । ‘संवत् १४०६ मा बंगालका सुल्तान समसुद्दिनले काठमाडौं उपत्यकामा आक्रमण गर्दा धेरै मठमन्दिर भत्काउने र देवीदेवतालाई अंगभंग गर्ने काम गरेका थिए भन्ने इतिहास छ,’ टन्डनले भने, ‘पशुपति, स्वयम्भू तथा पिम्बहाल (पाटन) का अनगिन्ती मठ–मन्दिर, स्तूप भत्काइएको इतिहासमा धेरै पछिसम्म अंगभंग देवीदेवता भेटिने गरेका थिए । यसो भन्दैमा अहिले प्रहरी चौकीमा थन्किएका टाउको काटिएका बुद्धमूर्तिहरू त्यो इतिहासमा जोडिएका थिए भन्न मुस्किल छ, तर चौकीमा रहेका सम्पदामा सम्बद्ध निकायले पुरातात्त्विक अध्ययन गर्नैपर्ने देखिन्छ ।’ गौशाला प्रहरी चौकीको आँगनमा थोत्रा मोटरसाइकल/ गाडीको ग्यारेजसँगै प्रस्तरको लिच्छविकालीन ब्रह्ममूर्ति राखिएको छ । जयबागेश्वरी मन्दिर नजिकैबाट २०३८ सालमा हराएको यो पुरातात्त्विक मूर्तिका बारेमा कला अन्वेषक लैनसिंह वाङदेलले कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) मा समेत उल्लेख गरेका छन् । उनले सन् ८० को दशकमा यो ब्रह्मा मूर्ति पशुपति, देवपाटनबाट हराएको भनेका छन् ।

गौशाला प्रहरी चौकी परिसरमै घाँटी काटिएको अमिताव बुद्धको मूर्ति पनि फोहोरको डंगुरमा थन्किएर बसेको भेटियो । ‘बेवारिसे अवस्थामा भेटिएका यी मूर्ति यति महत्त्वका सम्पदा हुन् भनेर बुझ्ने–बुझाउने काम भर्खरै थालिएको छ,’ गौशाला प्रहरी चौकीका प्रमुख डीएसपी केशव भट्टराई भन्छन्, ‘हामीले यी सम्पदाका बारेमा अध्ययन र सुरक्षित तवरले संग्रहालय वा पुरातत्त्व कतै लगेर राखियोस् भन्न थालेको निकै भयो ।’ उत्पत्तिको थलो वा सम्बद्ध मठ–मन्दिर वा संग्रहालयमा रहनुपर्ने पुरातात्त्विक अभिलेख तथा मूर्तिहरू प्रहरी चौकीका भण्डारमा भेटिएको स्थितिलाई सम्पदाविद् रवीन्द्र पुरीले ‘लाजमर्दो’ भन्दै राज्यस्तरमा सम्भव छैन भने निजी तहमा संयोजन गरेर यस्ता सम्पदा संरक्षण, अध्ययन र अवलोकनका लागि राख्न सकिने सुझाव दिए ।

‘पनौतीमा निर्माणाधीन म्युजियम अफ स्टोलन आर्टले समेत एउटा भिन्नै कक्ष दिएर यस्ता फेला परेका र अहिले अलपत्रझैं रहेका सम्पदालाई अभिलेखीकरणसहित राख्न सकिने प्रबन्ध मिलाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि सम्बद्ध निकायले जिम्मेवारी दिन सक्नुपर्‍यो, यो इतिहासलाई जोगाएर राख्न हामी तत्पर छौं ।’ पुरातात्त्विक सम्पदाको खोजबिन र सुरक्षा पहलमा लागेका अभियन्ता कायस्थले अब उपत्यकामा रहेका सबै प्रहरी चौकी र सम्भावित सरकारी अड्डामा रहेका मूर्ति/अभिलेखको खोजबिन र अभिलेखीकरण थालिने जानकारी दिए । ‘कि त अस्ति भर्खरै नक्सालका स्थानीयले ४४ वर्षपछि फेला पारेको पद्मपाणि लोकेश्वरको मूर्ति आफ्नै बिहारमा फर्काएर लगेजस्तै गर्नुपर्ने बेला आएको छ । होइन भने यस्ता उत्पत्तिको थलो नखुलेका र स्थानीय समुदायले जिम्मेवारी नलिएका सम्पदालाई संग्रहालयमै राख्नु उपयुक्त हुन्छ भनेर हामी लागिपरेका छौं,’ कायस्थले भने ।

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.