Fast Nepal News

खोप लगाउन आठ घण्टा लाइन

banner single news

काठमाडौँ — ०७ माघ २०७८

काठमाडौँ , ललितपुर सातदोबाटोकी चाहना लिम्बू बुधबार बिहान ८ बजे कोरोनाविरुद्धको खोप (बुस्टर) लगाउन निजामती अस्पताल बानेश्वर आइपुगिन् । तर, उनले खोपको कुपन पाइनन्, फर्किइन् । चिसोको पर्वाह नगरी भोलिपल्ट बिहान ४ बजे नै अस्पताल पुगेर कुपनको लाइनमा बसिन् । दिउँसो १२ बजेसम्म पालो आएको थिएन । ‘अब आउला कि, दुई दिन धाउँदा बल्ल पालो आउने भयो,’ लाइनमा बसिरहेकी लिम्बूले भनिन्, ‘बिहान ४ बजे आइपुग्दा पनि लामो लाइन थियो, खोपका लागि मान्छे बाटोमै रात कटाउँदा रहेछन् ।’ बूढानीलकण्ठका अशोक मगर दम्पती बुधबार १० बजे खोपका लागि निजामती अस्पताल आइपुगेका थिए । खोपका लागि कुपन नपाएका मगरले खोप पाउने सम्भावना भएन र फर्किए । बिहीबार भने उनीहरू बिहान ४ नबज्दै अस्पताल पुगे र लाइन बसेर कुपन लिन भ्याए । ‘झन्डै ८ घण्टा लाइनमा बसेपछि बल्ल पालो आयो, अब त ओमिक्रोनले भेटे पनि चिन्ता भएन्,’ उनले भने, ‘खोप लाउनभन्दा कुपन भेट्टाउन गाह्रो रैछ ।’

चाबहिलकी नारायणी वाग्लेको भोगाइ पनि उस्तै छ । ‘हिजो त्यतिकै फर्किएँ आज त कुपन पाएकी छु, खोप पनि पाइएला नि,’ उनले आशा व्यक्त गरिन्, ‘बिहान साढे ५ बजे लाइन बस्न आएकी हुँ, चिसोभन्दा पनि यही लाइनबाट कोरोना सर्छ कि भन्ने डर छ ।’ माघको कठ्याग्रिँदो बिहानीमा लाइन बसेकाहरू घाम ढल्किँदासम्म पनि लाइनमा कोच्चिएर बसेका थिए । ‘सामाजिक दूरीको त कल्पना मात्र हो, हजारौं मान्छे एकै ठाउँमा झुम्मिएका छन्,’ उनले भनिन्, ‘जनस्वास्थ्य मापदण्डको पालना कसले गर्छ खै ।’ निजामती अस्पतालका डा. विदेश विष्टले भने खोप व्यवस्थापनको जिम्मा अस्पतालको नभएको बताए । ‘अस्पतालले ठाउँ मात्र उपलब्ध गराएको हो, कुपन बाँड्ने, जनस्वास्थ्य मापदण्डको पालना गराउँदै खोप लगाउने कार्य मन्त्रालयबाटै खटिएका कर्मचारीले गर्नुहुन्छ,’ उनले भने, ‘भोलि कुन खोप कति दिइँदै छ भन्नेसमेत अस्पताललाई थाहा हुँदैन ।’ मन्त्रालयकै कर्मचारीले बिहान कुपन बाँड्ने र कुपनअनुसार खोप दिने गरेको उनी बताउँछन् ।

Inside Article Ads
सरकारले आइतबारदेखि कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरहरूलाई बुस्टर डोज दिन सुरु गरेको हो । हाल फ्रन्टलाइनरअन्तर्गत बुस्टर डोज पाउनेहरूमा स्वास्थ्यकर्मी, नेपाली सेना, सबै सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी छन् । सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारी अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतलाई बुस्टर डोज दिइँदै छ । माघ १४ देखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरूका लागि समेत बुस्टर मात्र खोप लगाउने सरकारी तयारी छ । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप केन्द्रमा सावधानी देखिन्न । बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउन सयौं नागरिक लामबद्ध थिए । अस्पतालकी निर्देशक डा.मनीषा रावल भीडभाड नियन्त्रण तथा जनस्वास्थ्य मापदण्ड पालना गराउन स्थानीय तहले वडास्तरमै पहल गर्नुपर्ने बताउँछिन् ।
‘वडास्तरमै खोप केन्द्र स्थापना गरेर व्यवस्थापन गर्न सके अस्पतालको भीड नियन्त्रणमा आउँथ्यो,’ उनले भनिन्, ‘संघीय सरकारजति स्थानीय सरकार पनि सक्रिय हुनुपर्थ्यो । दैनिक हजारौं नागरिकलाई अस्पतालले व्यवस्थापन गर्न कठिन छ ।’ करिब ११ सय नागरिकलाई बुस्टर डोज लगाएपछि कर्मचारीमा संक्रमण देखिएको भन्दै मध्यपुर थिमि नगरपालिका–१ वडा कार्यालयले खोप कार्यक्रम स्थगित गरेको छ । ‘सामाजिक दूरी कायम गरेर लाइनमा बसिदिनुस् भन्दा नमानेर तँछाडमछाड गर्छन्, खोप केन्द्रबाटै संक्रमण बढिरहेको छ,’ वडाध्यक्ष सुरज खड्काले भने, ‘केही दिनका लागि खोप सेवा नै बन्द गरेका छौं, खोप लगाउने कर्मचारी नै छैन ।’ मध्यपुर थिमिद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायत अस्पतालका २२ जना कर्मचारीमा संक्रमण देखिएको छ । अस्पतालका खोप संयोजक राजाराम वाग्ले जनस्वास्थ्य मापदण्डको बेवास्ताले खोप केन्द्रबाटै संक्रमण फैलिने जोखिम बढेको बताउँछन् । जनस्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउन सबै स्थानीय तहलाई निर्देशन दिइएको र अनुगमन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।                      

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.