
काठमाडौँ — ०७ माघ २०७८
काठमाडौँ , ललितपुर सातदोबाटोकी चाहना लिम्बू बुधबार बिहान ८ बजे कोरोनाविरुद्धको खोप (बुस्टर) लगाउन निजामती अस्पताल बानेश्वर आइपुगिन् । तर, उनले खोपको कुपन पाइनन्, फर्किइन् । चिसोको पर्वाह नगरी भोलिपल्ट बिहान ४ बजे नै अस्पताल पुगेर कुपनको लाइनमा बसिन् । दिउँसो १२ बजेसम्म पालो आएको थिएन । ‘अब आउला कि, दुई दिन धाउँदा बल्ल पालो आउने भयो,’ लाइनमा बसिरहेकी लिम्बूले भनिन्, ‘बिहान ४ बजे आइपुग्दा पनि लामो लाइन थियो, खोपका लागि मान्छे बाटोमै रात कटाउँदा रहेछन् ।’ बूढानीलकण्ठका अशोक मगर दम्पती बुधबार १० बजे खोपका लागि निजामती अस्पताल आइपुगेका थिए । खोपका लागि कुपन नपाएका मगरले खोप पाउने सम्भावना भएन र फर्किए । बिहीबार भने उनीहरू बिहान ४ नबज्दै अस्पताल पुगे र लाइन बसेर कुपन लिन भ्याए । ‘झन्डै ८ घण्टा लाइनमा बसेपछि बल्ल पालो आयो, अब त ओमिक्रोनले भेटे पनि चिन्ता भएन्,’ उनले भने, ‘खोप लाउनभन्दा कुपन भेट्टाउन गाह्रो रैछ ।’
चाबहिलकी नारायणी वाग्लेको भोगाइ पनि उस्तै छ । ‘हिजो त्यतिकै फर्किएँ आज त कुपन पाएकी छु, खोप पनि पाइएला नि,’ उनले आशा व्यक्त गरिन्, ‘बिहान साढे ५ बजे लाइन बस्न आएकी हुँ, चिसोभन्दा पनि यही लाइनबाट कोरोना सर्छ कि भन्ने डर छ ।’ माघको कठ्याग्रिँदो बिहानीमा लाइन बसेकाहरू घाम ढल्किँदासम्म पनि लाइनमा कोच्चिएर बसेका थिए । ‘सामाजिक दूरीको त कल्पना मात्र हो, हजारौं मान्छे एकै ठाउँमा झुम्मिएका छन्,’ उनले भनिन्, ‘जनस्वास्थ्य मापदण्डको पालना कसले गर्छ खै ।’ निजामती अस्पतालका डा. विदेश विष्टले भने खोप व्यवस्थापनको जिम्मा अस्पतालको नभएको बताए । ‘अस्पतालले ठाउँ मात्र उपलब्ध गराएको हो, कुपन बाँड्ने, जनस्वास्थ्य मापदण्डको पालना गराउँदै खोप लगाउने कार्य मन्त्रालयबाटै खटिएका कर्मचारीले गर्नुहुन्छ,’ उनले भने, ‘भोलि कुन खोप कति दिइँदै छ भन्नेसमेत अस्पताललाई थाहा हुँदैन ।’ मन्त्रालयकै कर्मचारीले बिहान कुपन बाँड्ने र कुपनअनुसार खोप दिने गरेको उनी बताउँछन् ।
( कान्तिपुर दैनिक )
