
रौतहट — ०७ माघ २०७८
रौतहट , बलिदानी दिवसका अवसरमा बुधबार गौरमा समाजवादी युवा संघ रौतहटले युवा भेलाको आयोजना गर्यो । भेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव प्रमुख अतिथि थिइन् । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी उपस्थिति हुन नपाउने भन्दै जारी गरेको आदेशको विपरीत मन्त्रीकै उपस्थितिमा भेलाको आयोजना गरिएको हो । गौरस्थित ब्यारेक मैदानमा भएको भेलामा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद रामकिशोर यादवलगायत पनि उपस्थित थिए । सदरमुकाममै सयौंको संख्यामा नेता–कार्यकर्ता भेला भएको उक्त कार्यक्रम स्थानीय प्रशासनले रोक्न सकेन । सरकारकै आदेशको प्रमुख परिपालक तथा नियामकसमेत रहेकी संघीय मन्त्री यादव आफैंले प्रशासनको आदेशको खिल्ली उडाएको भन्दै अहिले टीकाटिप्पणी र विरोध भइरहेको छ । प्रदेश राज्यमन्त्री यादवले स्थानीय प्रशासनसँग स्वीकृति लिएरै कार्यक्रम गरेको दाबी गरे । ‘सरकारकै मन्त्री हामीले प्रशासनको आदेशको पालना गर्नुपर्छ । तर कस्तो स्थानमा कार्यक्रम गर्नुपर्छ भन्ने पनि छ,’ उनले भने, ‘सीडीओ, एसपीलाई भेटेर कार्यक्रमबारे जानकारी गराएका थियौं । अब आदेशको पालना गर्छौं ।’
कोरोना संक्रमण फैलिन थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गएको पुस २७ मा भेला, सभा, सम्मेलन, मेला, महोत्सवमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आदेश जारी गरेको छ । तर, दलहरूले निरन्तर सभा, सम्मेलन र राजनीतिक भेला आयोजना गर्दै अटेरी गरिरहेकाले प्रशासन पनि दबाबमा छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले पछिल्लो समय सभा, सम्मेलन गर्न दलहरू नै तँछाडमछाड गरी लागेको बताए । यस्ता गतिविधि रोक्न खोज्दा थोरै मानिस भेला गर्दैनौं र स्वास्थ्य मापदण्ड अपनाउँछौं भनेर झुक्याउने गरेको उनले सुनाए । ‘ठूलो संख्यामा कार्यकर्ता भेला गराएर सभा नगर्नुस् भनेर अनुरोध गरेकै हो । बल प्रयोग गर्दा पनि दलहरू चिढिन्छन् । कोरोनाको अवस्था झनै जटिल बन्दै गएको छ,’ उनले भने, ‘एउटा मात्र दलले सभा गरेको भए पो । सबै दलहरू बिनामास्क, स्वास्थ्य मापदण्डबिना धमाधम कार्यक्रम गरिरहेका छन् ।’
प्रशासनले आदेश जारी गरेको ठीक ३ दिनपछि एमाले रौतहटले केन्द्रीय सचिव प्रदीप ज्ञवालीलाई प्रमुख अतिथि बनाएर मौलापुर नगरपालिकास्थित मर्यादपुरमा जिल्ला अधिवेशन आयोजना गर्यो । अधिवेशनअघि भएको विशाल सभामा सयौंको संख्यामा गाउँ–गाउँबाट नेता–कार्यकर्ता उतारिएको थियो । अधिकांशले मास्क नै लगाएका थिएनन् । कोचाकोच गर्दै सबैले नेताको भाषण सुने । सभा आयोजना गर्नुअघि प्रशासनले कोरोना संक्रमणको जोखिम हुने भन्दै त्यसो नगर्न अनुरोध गरेको थियो । एमालेका जिल्ला नेताले थोरै संख्यामा मानिसको उपस्थिति हुने र स्वास्थ्य मापदण्ड अपनाइने भनेर आश्वस्त पारे । तर परिस्थिति उल्टो देखियो । प्रमुख अतिथि ज्ञवाली नै मास्क नलगाई बसे । नगर प्रमुख रिनादेवी साह, एमाले नेता प्रभु साहलगायतले पनि मास्क लगाएका थिएनन् ।
मौलापुरको सभाको भोलिपल्ट एमालकै तुल्सीराज गिरी समूहले गरुडामा अर्को कार्यकर्ता भेलाको आयोजना गर्यो । भेलामा दर्जनौंको सहभागिता थियो । किसानको माग सम्बोधन गर्न दबाब दिन भन्दै सीके राउतको जनमत पार्टीका कार्यकर्ताले दिनहुँजसो विरोध गर्दै आएका छन् । त्यो पनि प्रशासनको आदेशविपरीत छ । जनमतका केन्द्रीय सदस्य ललित मलिक सानुले पूर्वघोषित कार्यक्रम भएकाले यसलाई निरन्तरता दिने बताए । प्रशासनले राजनितिक दल, स्थानीय तहका प्रमुखहरूलाई राखेर भेला, सभा, समारोहमा २५ जनाभन्दा बढी उपस्थिति हुन नपाउने निर्णय गराएको थियो । तर, निर्णय कागजमै सीमित भएको स्थानीय सुरज साहले बताए । वृन्दावन नगरपालिका प्रमुख रामस्नेही यादवले भने प्रशासनको आदेशको आफ्नो नगरक्षेत्रभित्र पूर्ण रूपमा पालना गराएको दाबी गरे । जिल्लामा अहिले प्रशासनले मास्क र खोप कार्ड पनि अनिवार्य गराएको छ । तर स्वास्थ्य चौकी, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, रेस्टुराँ, बजार, बसपार्क जहातहीं भीडभाड छ ।
( कान्तिपुर दैनिक )
