
कपिलवस्तु, लुम्बिनी र बर्दिया — ०७ माघ २०७८
कपिलवस्तु, लुम्बिनी र बर्दिया, कपिलवस्तु नगरपालिका–१ आनन्दबागकी सावित्री शर्मा कोठाबाट ननिस्किएको ५ दिन भयो । ‘मुटु छुने चिसो छ,’ उनले भनिन्, ‘दिसा–पिसाब गर्न पनि कोठाभित्रकै शौचालयमा जान्छु ।’ हुस्सुसँगै बढेको चिसोले यहाँको जनजीवन कष्टकर बनाएको छ । शनिबारदेखि यहाँ घाम लागेको छैन । सर्वसाधारण घरभित्रै खुम्चिएका छन् । चिसोका कारण बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । कपिलवस्तुका तौलिहवा, जितपुर, कृष्णनगर, चन्द्रौटा र महाराजगन्जलगायत स्थानमा सर्वसाधारण चोकचोकमा आगो तापेर बसेका छन् । घरमा पनि हिटर र तातो हुने उपकरण बालेर बसेका छन् । चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन् । ‘कोरोना संक्रमण पनि बढ्दो छ,’ महाराजगन्ज नगरपालिका बुटहनियाका कृष्ण यादवले भने, ‘जाडो हुँदा बाहिर नगई कोठामै बसेका छौं ।’ बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयलगायतमा मान्छेहरूको चहलपहल न्यून रहेको छ ।
जिल्लाको गैडहवा गाउँपालिका–५ का कृष्ण विकलाई दैनिक बढेको चिसोले सताएको छ । बिनावर्षा आएको पानीले गहुँ कुहिएपछि खाने बेलामा के गर्ने होला भन्ने समस्या परेको उनले बताए । ‘कतै काम गर्न चाहेर पनि पाइँदैन,’ उनले भने, ‘काम गरिहालेमा पैसा दिँदैनन् ।’ ज्याला मजदुरी गर्ने गरेका उनले बाक्लो कपडा नभई च्यातिएका लुगा लगाएर काम गर्ने गरेको र परिवारमा रहेका अन्यलाई समेत केही पुर्याउन नसकेको गुनासो गरे । खपडाको घर भएकाले शीत चुहिने र चारैतिर भत्किएकाले थप समस्या भइरहेको उनको भनाइ छ । सोही स्थानकी उर्मिला नाउँको घर फुसको छ । आगोमा खाना पकाउने गरेकी उनले चिसोले गर्दा दाउरा खोज्न र ल्याउनै अप्ठ्यारो परेको बताइन् । ‘५३ वर्षकी भएँ । एक्लै छु । काम गर्न चिसोले दिँदैन,’ उनले भनिन्, ‘आफ्ना कोही नहुँदा यो जाडोमा केही भइहाले कसले हेर्ला भन्ने लागेको छ ।’ रूपन्देहीको दक्षिणी तथा उत्तरी भेगका अनिता चौधरी, पार्वती थारू, धमेन्द्र कुर्मी, रामकिसुन थारूलगायतलाई समेत चिसोले चिन्ता बढाएको छ । दिनहुँ घरमै आगो तापेर बस्न आर्थिक स्थितिले नदिने भन्दै उनीहरूले जाडो कहिले जाला र काम पाइएला भन्ने लागेको बताए ।
हरेक वर्ष चिसोका कारण खानपान र जीवनयापनमै समस्या पर्ने भन्दै उनीहरूले स्थानीय सरकारले यस्ता बेलामा राहत दिन सके पुण्य हुने बताए । चिसो मौसमको असर एकातिर छ भने चिसोमै सक्रिय हुने कोरोना संक्रमणले समेत स्थानीयलाई जोखिम पुर्याउने देखिएको छ । चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्य केन्द्रमा बिरामी पनि बढ्न थालेका छन् । अस्पतालमा निमोनिया, दम, डायरियाजस्ता बिरामीको चाप बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । साथै यी बिरामीमा कोरोना संक्रमण भए अवस्था सिकिस्त हुन सक्ने भन्दै उनले वृद्धवृद्धालाई विशेष ख्याल गर्नुपर्ने बताए । ‘कोरोनासमेत चिसोमा थप सक्रिय भएर असर गर्ने भाइरस हो,’ उनले भने, ‘लापरबाही गरेमा स्वास्थ्यमा जटिलता हुन सक्छ ।’
कोरोना र अन्य रोग सर्ने माध्यम एउटै भएका कारण जोगिनुपर्ने स्थिति रहेको उनको भनाइ छ । जाडो भनी मानिस आगो ताप्ने बहानामा झुम्मिएर एकै ठाउँ बस्ने, गफ गर्ने गर्दा संक्रमण फैलन सक्ने उनले बताए । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन उनले सुझाए । एक सातायता बर्दियामा अत्यधिक चिसो बढेपछि जनजीवन थप कष्टकर बन्दै गएको छ । बिहानैदेखि शीतलहरसँगै चिसो हावा चलेपछि जनजीवन प्रभावित बनेको हो । ज्याला मजदुरी नगरे जीवन धान्न नसक्ने अवस्था आएको बारबर्दिया नगरपालिका–५ का श्यामलाल थारूले बताए । ‘निकै चिसो छ । हावा पनि चलेको छ,’ उनले भने, ‘आगो तापेर ज्यान तताउन मन लागे पनि पेटका लागि काम गर्नुपरेको छ ।’ शीतलहरबाट जोगाउन स्थानीय प्रशासन र पालिकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्ला विपद् व्यस्थापन समितिले शीतलहर र चिसोबाट जोगिन कागजमा लिखित तयारी गरे पनि कार्यान्वयन शून्य छ ।
( कान्तिपुर दैनिक )
