
पर्वत — ०६ माघ २०७८
पर्वत , कोरोनाको जोखिममा पनि विद्यालय सञ्चालन गर्न जिल्लाका स्थानीय तहले गरेको निर्णय दुई दिन पनि टिकेन । कुश्मा नगरपालिकासहित जलजला, पैयुँ गाउँपालिका लगायतले विद्यालयमा नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको भए पनि मंगलबारको प्रशासनको निर्णयका कारण विद्यालय बन्द गर्न बाध्य हुनुपरेको पालिकाहरूले जनाएका छन् । सरकारले आदेश दिए पनि विद्यालय पूर्ण रूपमा बन्द भएका थिएनन् । मंगलबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले विद्यालयसहित सार्वजनिक स्थानका लागि जारी गरेको निषेधाज्ञालगत्तै कुश्मा नगरपालिकाले सबै विद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्न सूचित गरेपछि कुश्मा नगरपालिकाको आकस्मिक बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय गरेको गुरुङले बताए ।
( कान्तिपुर दैनिक )
