Fast Nepal News

बिरामीलाई रगत जुटाउनै सकस

banner single news

बैतडी —  ०६ माघ २०७८

बैतडी , एक साताअघि बैतडीको दशरथचन्द नगरपालिका—४ की एक महिलालाई बी पोजिटिभ रगत चाहिने भयो । २५ वर्षकी गर्भवती उनी बच्चा खेर गएर उपचारका लागि अस्पताल पुगेकी थिइन् । अस्पताल पुग्दा उनको शरीरमा जम्मा ५ प्रतिशत मात्र रगतको मात्रा रहेको स्वास्थ्यकर्मीले बताए । उनलाई तत्काल रगत आवश्यकता परेको थियो । समयमै रगत नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था थियो । तर रगतको जोहो गर्न निकै सकस पर्‍यो । बिरामी हेरिरहेका जिल्ला अस्पतालका डाक्टर थानेश्वर न्यौपाने आफैं रगतका लागि सुरक्षाकर्मी र रगत दिने सम्भावित व्यक्तिलाई खबर गर्ने हतारोमा थिए । धेरै मेहनतपछि उनलाई २ पिन्ट रगत खोजेर चढाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश पन्तले बताए । उनका अनुसार अस्पतालले सबैतिर सम्पर्क गर्दा मुस्किलले रगतको जोहो गरेर बिरामीको ज्यान बचाउन सफल भएको बताए । नेपाली सेनाबाट आएका दुई जनाले रगत दिएर बिरामीको ज्यान जोगिएको हो ।

यस्तै, करिब २ हप्ताअघि पनि दार्चुलाको लेकमबाट आएकी २१ वर्षकी गर्भवती महिलाको शल्यक्रिया गनुपर्ने थियो । नर्मल सुत्केरी हुन नसक्ने अवस्थाकी उनलाई पनि रगत चाहिने अनुमान उपचारका संलग्न डाक्टरहरूको थियो । ओ पोजिटिभ रगत आवश्यक परेकी उनलाई अस्पतालका कर्मचारी र प्रहरीले रगत दिनको लागि तयार पारिएको थियो । यी महिलाको लागि रगतको जोहो गर्न पनि अस्पताललाई हम्मेहम्मे परेको थियो । यही अवस्थामा एक जना अस्पतालका स्वास्थ्यकर्मी र नेपाल प्रहरीका एक जना रगत दिनका लागि तयार पारिएको थियो । अन्तमा रगत चढाउन नपर्ने भएपछि राहत महसुस गरेको अस्पतालका सूचना अधिकारी पन्त बताउँछन् । जिल्ला अस्पताल बैतडीमा रगत चाहिने बिरामी आए भने जहिल्यै समस्या हुने गरेको छ । जिल्लामा ब्लड बैंक छैन । तत्काल रगत दिन दाताहरू भेटिँदैनन् । रगत चाहिने केसहरू आएपछि रगत खोज्नका लागि निकै समस्या हुने गरेको पन्तले बताए ।

जिल्ला अस्पतालमा महिनामा ४ वटा जति केसहरूलाई रगतको आवश्यकता पर्ने देखिएको अस्पतालका डाक्टर थानेश्वर न्यौपानेले बताए । कतिपय बिरामीलाई रगत चाहिन्छ कि भनेर पूर्वतयारी पनि गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘ब्लड स्टोर गरेर राख्ने अवस्था यहाँ छैन,’ डाक्टर न्यौपानेले भने, ‘स्टोर नहुँदा अकस्मात् रगत चाहिएमा कसलाई बोलाउने भन्ने पीर पर्छ ।’ रगत चाहियो भने धेरैलाई खबर गर्नुपर्ने आउन माने पनि घण्टौं लाग्ने समस्या आफुूहरूले झेल्नुपरिरहेको उनले बताए । जिल्लामा ब्लड बैंक नहुँदा समस्या नै भएको उनले बताए । जिल्लाको हकमा बच्चा जन्माउने, बच्चा खेर गएका महिलालाई रगतको आवश्यकता धेरै पर्ने गरेको उनले बताए । रगतको अभावले स्वास्थ्यकर्मी र बिरामीहरूलाई समस्या हुने गरेको उनले बताए ।

Inside Article Ads

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकै भर

बैतडीमा स्थानीय रगत दिन तयार हुँदैनन् । रगत दियो भने सकिन्छ भन्ने गलत बुझाइका कारण रगत दिन तयार नहुने गरेका स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले जिल्लामा रगत चाहियो भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले नै पूर्ति गर्दै आइरहेका छन् । मिडियाको केही साथीहरूले पनि रगत दिनमा सहयोग गरेका अस्पतालका सूचना अधिकारी पन्त बताउँछन् ।

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.