
कञ्चनपुर/बझाङ — ०६ माघ २०७८
कञ्चनपुर/बझाङ, पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला रोकथामका लागि स्थानीय तह मिहिनेतका साथ लागेका थिए । क्वारेन्टिनदेखि आइसोलेसन व्यवस्थापनका लागि जनप्रतिनिधिहरू आफैं खटिएका थिए । भारतबाट घर फर्किनेलाई नाकामै स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सोझै क्वारेन्टिनमा बसाइयो । क्वारेन्टिनमा बसेकालाई संक्रमण देखिए अस्पताल वा आइसोलेसनमा राखेर उपचार गरियो । १४ दिन क्वारेन्टिनमा बसेकाहरूको परीक्षण गरेर नेगेटिभ आएपछि मात्रै घरतर्फ पठाइयो । त्यतिबेला राम्रो अभ्यास गरिएको थियो । जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी सबै दिनरात खटिएका देखिन्थे । समुदायमा कसैमा संक्रमण देखिए कन्ट्याक्ट ट्रेसिङमा समेत स्वास्थ्यकर्मीभन्दा पहिले जनप्रतिनिधि पुग्थे । सम्बन्धित टोलसँगै वडासमेत सिल गरिन्थ्यो । यसले समुदायमा संक्रमण फैलिनबाट रोकेको थियो ।
दोस्रो लहरका बेला क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा स्थानीय तहका जनप्रतिनिधिहरू चुकेका थिए । भारतबाट घर फर्केकाहरू सोझै घरतर्फ जाँदा संक्रमण समुदायमै फैलियो । जसका कारण दोस्रो लहरका बेला कञ्चनपुरमा मात्रै १ सय ८० जनाको मृत्यु भयो । जब अवस्था जटिल बन्दै गयो त्यसपछि जनप्रतिनिधिहरूले हरेक पालिकामा आइसोलेसन केन्द्र तथा अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न थाले । तर अहिले भने जनप्रतिनिधिदेखि सबैले कोरोना रोकथाममा बेवास्ता गरेका छन् । ‘विगतमा जस्तो अहिले जनप्रतिनिधिले सक्रियता देखाएका छैनन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘अहिलेको संक्रमणमा मृत्युदर कम देखिएको र केही दिनमा अवस्था सामान्य बन्ने अपेक्षा गरिएकाले पनि होला ।’ उनका अनुसार जिल्ला स्तरका बैठकमा जनप्रतिनिधिले विगतमा क्वारेन्टिनदेखि राहत वितरणमा भएको खर्च संघीय सरकारबाट नपाएको गुनासो गरेका छन् ।
कोभिड संकट न्यूनीकरणका लागि स्थानीय तहले ध्यान नदिँदा बझाङमा संक्रमण तीव्र गतिमा फैलिरहेको स्वास्थ्यकमीहरू बताउँछन् । महामारी नियन्त्रणका लागि आवश्यक परीक्षण, कट्याक्ट ट्रेसिङ र आइसोलेसन केन्द्र व्यवस्थापनमा पालिकाहरूले बेवास्ता गरेका कारण स्थिति भयावह बन्न सक्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् । बझाङमा दैनिक सयौंको संख्यामा मानिसहरू भारत र अन्य जिल्लाबाट भित्रिने भए पनि हालसम्म ९१ जनाको मात्रै कोभिड परीक्षण भएको छ । जसमध्ये २१ जनामा कोरोना संक्रमण भएको छ । परीक्षण न्यून हुँदा संक्रमितहरू निष्फिक्री घुमघाम गरिरहेको र अन्य व्यक्तिहरूलाई संक्रमण सारिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कञ्चनपुरमा पनि दैनिक संक्रमित हुनेको संख्या डेढ सयभन्दा बढी छ । परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ । कतिपय बेला त शतप्रतिशतमा संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘हामीले सक्दो प्रयास गरेकै छौं, आइसोलेसन व्यवस्थापनदेखि नाकामा जथाभावी आउनेलाई रोक्ने काममा लागेकै छौं,’ कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले भने, ‘पहिलेभन्दा अहिले केही कमजोरी भएको छ, संक्रमण समुदायमै फैलिइसकेको छ ।’
