
मुगु — ०६ माघ २०७८
मुगु , मुगुका ३ पालिका अस्पतालविहीन बनेका छन् । सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र १५ शय्याको जिल्ला अस्पताल छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा अस्पताल नहुँदा स्थानीयवासी सानो उपचारको लागि पनि जिल्ला अस्पताल आउन बाध्य छन् । ३ वटै पालिकामा अस्पताल नहुँदा गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाहरूमा १०/१० शय्याको अस्पताल बनाउन संघीय सरकारले अस्पताल भवन शिलान्यास गरे पनि सबै भवन अलपत्र छन् । सोरु गाउँपालिकामा २ वर्षअघि तारापानीमा १० शय्याको अस्पताल भवनका लागि शिलान्यास गरिएको थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले भवनको जगसमेत उठ्न सकेको छैन । सोरुका झन्डै १८ हजार जनसंख्या र ११ वडालाई लक्षित गरी अस्पताल निर्माणको काम अघि बढाइएको थियो । अस्पताल निर्माणको लागि ११ करोड रुपैयाँमा सगुन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ । ठेक्का सम्झौता गरिए पनि बजेट नआउँदा कामलाई तीव्रता दिन नसकिएको कम्पनीका प्रोपराइटर सहदेव खड्काले बताए ।
गाउँपालिकामा ११ वडामा स्वास्थ्यचौकी स्थापना गरिएको जानकारी दिए । ‘जनशक्ति, औषधि र उपकरणको अभाव भने भोगिरहेका छौं,’ उनले भने, ‘यातायात सुविधा नहुँदा महँगो भाडा तिरेर औषधि ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ सडक सुविधा नहुादा माथिल्लो बस्तीका बिरामीलाई बोकेर छाइलबजारसम्म पुर्याउनुपर्ने र त्यहााबाट एम्बुलेन्स प्रयोग गरी जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । ११ वडा र झन्डै २४ हजार जनसंख्या रहेको खत्याड गाउँपालिकामा बल्ल जग्गाको टुंगो लागेको छ । स्वास्थ्यचौकीहरू पनि नाम मात्रका हुँदा बिरामीलाई उपचार गर्न बाजुराको कोल्टी, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल गमगढीमा पुर्याउनुपर्ने बाध्यता भएको स्थानीय नविन कार्कीले बताए । उनका अनुसार गाउँपालिकाले १० शय्याको अस्पताल निर्माण गर्ने भने पनि काम अझै सुरु नगर्दा बिरामी सास्ती भोग्न बाध्य छन् । ‘साढे चार वर्षसम्म पनि गाउँपालिकाले एउटा अस्पताल पनि बनाउन सकेन,’ उनले भने, ‘आपत्कालीन अवस्थामा त हेलिकप्टर चार्टरको विकल्प छैन ।’ अस्पताल निर्माणका लागि पैखुमा जग्गा खरिद भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टक्क डागरले बताए । उनका अनुसार जग्गा खरिद प्रक्रियामा ढिलाइ हुँदा भवन निर्माणको काममा समस्या भएको हो ।
पोस्टमार्टम गर्न कठिन
जिल्ला सदरमुकामबाहेक अन्यत्र अस्पताल नहुँदा विभिन्न घटनामा मृत्यु भएका व्यक्तिलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । घटनामा मृत्यु भएका व्यक्तिको शव सुरक्षाकर्मी र परिवारले बोकेर सदमुकाम लैजानुपर्ने बाध्यता भएको कार्कीले बताए । ‘कम्तीमा एक दिन बोकेर शव सदरमुकाम लैजानुपर्छ,’ उनले भने, ‘पोस्टमार्टम भएपछि फेरि बोकेरै गाउँ पुर्याइ दाहसंस्कार गर्नुपर्ने बाध्यता छ ।’ ग्रामीण क्षेत्रमा अस्पताल नहुँदा शव बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमेश गौतमले बताए ।
( कान्तिपुर दैनिक )
