Fast Nepal News

४ दिनदेखि शीतलहर, मारमा विपन्न वर्ग

banner single news

जनकपुर, सर्लाही —  ०६ माघ २०७८

जनकपुर, सर्लाही, करिब सातायता घाम नलाग्ने र बिहानैदेखि चल्ने शीतलहरले मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको सिरेटोका कारण जाडो बढ्दा स्थानीय दैनिक जीवनयापन गर्नै समस्यामा परेका हुन् । माघको सुरुदेखि नै तापक्रम लगातार ओरोलो लाग्दा अत्याधिक चिसो महसुस भइरहेको हो । बढ्दो शीतलहरले सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ । बजार, पसल, व्यवसाय पनि कमै मात्र खुलेका छन् । शीतलहर बढेपछि बजारमा दाउरा बालेर आगो ताप्ने क्रम पनि बढेको छ । बुधबार बिहान जनकपुरको तापक्रम ११ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर २१ डिग्री सेल्सियस पुगे पनि ठिहिर्‍याउने क्रम उस्तै छ । प्रदेशको अर्को ठूलो सहर वीरगन्जको तापक्रम पनि घट्दो छ । बुधबार बिहान वीरगन्जको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बाराको कलैयाको तापक्रम पनि वीरगन्जजस्तै छ । बर्दिवासको तापक्रम बुधबार न्यूनतम ११ र अधिकतम २१ डिग्री सेल्सियस मापन गरिएको छ । लहानको तापक्रम पनि घट्दो छ । बुधबार लहानको तापक्रम न्यूनतम ११ र अधिकतम २१ डिग्री सेल्सियस मापन गरिएको छ । राजविराजमा पनि तापक्रम कम र शीतलहर बढ्दो छ । घाम नलाग्दा शीतलहरको प्रभाव बढी परेको हो । बाक्लो हुस्सु र शीतलहरकै कारण ‘भिजिबलिटी’ कम हुँदा प्रदेशका तीनवटै विमानस्थल जनकपुर, सिमरा र राजविराजबाट हुने नियमित हवाई सेवा पनि प्रभावित बनेको छ । लुगलुग काम्ने चिसोले सर्लाहीको जनजीवन प्रभावित बनेको छ । यहाँ ४ दिनयता घाम लागेको छैन । सडक र बजारमा चहलपहल घटेको छ । चिसोबाट अति विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबैभन्दा बढी प्रभावित भइरहेका छन् । मजदुरहरू ज्यालादारीमा फर्किन पाएका छैनन् ।

Inside Article Ads
अत्याधिक चिसोले काममा जान नपाउँदा बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन नसकिएको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका स्थानीय जनक माझीले बताए । उनले शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा परालको भरमा जाडो झेलिरहेको गुनासो पोखे । ‘अत्याधिकच सिोले घरबाट बाहिर काममा जान पाएका छैनौं । काममा नगएका कारण आम्दानी गुम्दा छोराछोरीलाई पोसिलो खानेकुरा पनि दिन सकिएको छैन,’ उनले भने, ‘घरमा जे छ, त्यही खाएर बसिरहेका छौं । हाम्रा लागि अहिले आगो नै सहारा बनेको छ ।’ विपन्न परिवार जाडो छल्न अधिकांश मसय आगो तापेर बसिरहेका छन् । कतिपय पराल र पातलो ओढ्नेकै भरमा शीतलहर झेलिरहेका छन् । अति विपन्न, मुसहर तथा डोम समुदायले जाडो छल्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएर गुजारा गरिरहेको बताउँछन् । तर ४ दिनदेखि घाम नलागेकाले पराल सुकाउन समेत नसकिएको स्थानीय दुखिया माझीले बताइन् । उनले घाममा पराल सुकाएर लगाएको बिस्तरामा जाडो कम हुने बताइन् ।
‘चिसोले ओछ्यानमा हालेको पराल पनि चिसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसोभन्दा राति धेरै चिसो महसुस हुन्छ ।’ सर्लाहीमा शीतलहरबाट प्रभावितहरूका लागि हरिवन नगरपालिकाबाहेक अन्य १९ स्थानीय तहले कुनै प्रबन्ध मिलाएका छैनन् । हरिवन नगरपालिकाले भने बस्ती–बस्तीमा दाउरा उपलब्ध गराएको छ । स्थानीय अगुवा पाचुलाल माझीका अनुसार चुनावमा भोट बैंकको रूपमा मात्र प्रयोग हुँदै आएको मुसहर तथा विपन्न परिवारको समस्या स्थानीय सरकारको प्राथमिकतामै परेको छैन । ‘मुसहर तथा विपन्न परिवार स्थानीय सरकारको प्रथमिकतामै परेको छैन । आफूहरू जहिल्यै भोट बैंकको रूपमा मात्र प्रयोग हुँदै आएका छौं,’ उनले भने, ‘चिसोमा हाम्रा नागरिकको अवस्था कस्तो छ भनेर कोही बुझ्न पनि आउँदैनन् ।’
निरन्तरको हावा र चिसो स्याँठले काम विशेषले घरबाहिर निस्कनुपर्नेहरू पनि प्रभावित बनेका छन् । चिसो स्याँठ र बाक्लो कुहिरोका कारण प्रदेशका सबैजसो अस्पतालमा चिसोका बिरामी बढेका छन् । कतिपय बिरामी कोरोना संक्रमणको डरले स्वास्थ्य संस्थामा जान मानिरहेका छैनन् । चिसोको असर पशुचौपाया तथा हिउँदे बालीमा समेत परेको छ । जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य कार्यालयले अनुरोध गरिरहेका छन् । बाक्लो हुस्सुले भिजिबिलिटी कम भएपछि पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा हरेका सवारीसाधन बत्ती बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारीसाधन गुडाउन अनुरोध गरिरहेको छ ।             

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.