Fast Nepal News

गोलाप्रथाबाट बेन्च तोकिँदै

banner single news

बागलुङ — २९  पुस २०७८

बागलुङ , सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न थालिएपछि उच्च अदालत पोखराको बागलुङ इजलासमा पनि यो क्रम सुरु हुने भएको छ । आगामी माघ २ देखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भएको रजिस्ट्रार नेत्रप्रसाद भुसालले बताए । यसअघि मुख्य न्यायाधीशले कुन मुद्दा कुन बेन्चमा पार्ने भन्ने निर्णय गर्थे । उच्च अदालतले बार एसोसिएसनसँगको छलफलपछि यो निर्णय गरेको भुसालले जानकारी दिए । ‘सर्वोच्चले यस्तो अभ्यास गरिसकेको छ, हामीले पनि तयारी गरेका छौं,’ उनले भने, ‘यो प्रक्रियाले मुद्दाको सुनुवाइमा निष्पक्षता बढाउनेछ ।’ उनले कुनै वकिल र न्यायाधीशले चाहेर मुद्दा आफ्नोमा पार्ने अवस्था अब अन्त्य हुने दाबीसमेत गरे ।

उच्च अदालतमा विशेष गरी रिट निवेदन, सार्वजनिक सरोकारका मुद्दा तथा केही विशेष प्रकृतिका मुद्दामा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने बढी चासो हुने गर्थ्यो । यो प्रक्रियाले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामा थप मद्दत पुग्नेसमेत उनले बताए । उच्च अदालत बार एसोसिएसनकै सहमतिमा यो निर्णय भए पनि कतिपय अधिवक्ताले भने फरक मत राखेका छन् । यस्तो प्रक्रियाले मुद्दाको समय झनै लम्बिन सक्ने टिप्पणी उनीहरूको छ । ‘कतिपय मुद्दाको विशेषताकै आधारमा बेन्च तोकिनुपर्छ, त्यो अवस्था अब रहेन,’ उच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष भूमिश्वर गौतमले भने, ‘राजस्व छलीको मुद्दा र फौजदारी प्रकृतिको मुद्दा हेर्ने दक्षता भएका न्यायाधीश फरक–फरक हुन सक्छन्, तर गोलाप्रथाले एकै ठाउँमा पर्न सक्छ,’ उनले भने, ‘त्यसपछिको परिणाम हामीले पचाउन सक्ने कि नसक्ने ?’

एकाध वकिल र न्यायाधीशको अकर्मण्यताले यो विधि जन्मेको उनले टिप्पणी गरे । अर्का पूर्वअध्यक्ष राम शर्माले स्वाभाविक रूपमा निष्पक्ष देखिए पनि मुद्दामा बेन्च नबसेर समय लम्बिने खतरा पनि उत्तिकै रहेको बताए । ‘कुनै झगडियाको मुद्दा हेर्नै नमिल्ने न्यायाधीश पनि हुन सक्छन्, त्यो दिन आएका पक्षहरू बेन्च नबसेर फर्कनु पर्न सक्छ,’ उनले भने, ‘समग्रतामा कसको बेन्चमा पर्छ भनेर तत्कालै थाहा हुने भएकाले सेटिङको काम भने गर्न सक्दैनन् ।’ न्यायालयको भ्रष्टाचार अन्त्यका लागि पनि गोलाप्रथा उपयोगी भएको उनले बताए ।

Inside Article Ads

मुद्दा दर्ताकै दिन फैसला मिति तोकिने

बागलुङ इजलासले मुद्दा दर्ता भएकै दिन फैसलाको मिति तोक्ने काम थालेको छ । ढिला न्याय दिनु भनेको नदिनु जस्तै हो भन्ने मान्यताअनुरूप यस्तो प्रक्रिया थालेको मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताए । ‘अदालतलाई आधुनिक प्रविधिमा लैजाने, सेवाग्राहीमैत्री बनाउने र चुस्त न्याय प्रशासनका लागि यो विधि अवलम्बन गरेका हौं,’ जोशीले भने, ‘प्रक्रिया पुगेको मुद्दा १० मिनेटमै दर्ता गर्ने र निवेदन र प्रतिवेदन १ महिनाभित्रै किनारा लगाइसक्ने काम पनि सुरु भएका छन् ।’ मुद्दा दर्ता भएपछि पेसीको तालिकासहित पक्षलाई फैसलासम्मको मितिको फाइल दिने गरिएको हो ।            

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.