Fast Nepal News

प्रदेश २ को नाम र राजधानी मतदानबाट

banner single news

धनुषा — २८  पुस २०७८

धनुषा , प्रदेश २ को नाम र राजधानीको प्रक्रिया अगाडि बढाउन माघ २ गते प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले प्रतिवेदन प्रस्तुत गरेपछि मतदान प्रक्रिया सुरु हुने भएको हो । प्रदेश बैठक सुरु भएको अर्को दिन माघ ३ मा मतदान गर्न दलहरूबीच सहमति भएको प्रदेशसभा संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए । सत्तारूढ जनता समाजवादी पार्टी, नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् । एमाले, एकीकृत समाजवादीले जानकी, कांग्रेसले मिथिला भोजपुरा र कांग्रेस सांसद राजेश्वर प्रसाद साहले मध्यमधेस नाम प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीमा जनकपुर र वीरगन्ज प्रस्ताव भएको छ । दर्ता भएको कुनै प्रस्तावमा सहमति नभएपछि मतदानको प्रक्रिया अगाडि बढाएको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । संसदीय समितिले प्रदेशसभामा दर्ता प्रदेशको राजधानी जनकपुरका लागि ५ र वीरगन्जका लागि २ गरी ७ वटा प्रस्तावमा छलफल गरी ३ प्रस्ताव बनाएको छ । उत्तरमा ढल्केबर, पूर्वमा कमला नदी, दक्षिणमा भारतको बोर्डर र पश्चिममा मिथिला सिमाना राखेर जनकपुरको ५ प्रस्तावलाई साझा एक प्रस्ताव बनाइएको छ । वीरगन्जसम्बन्धी २ प्रस्तावलाई साझा प्रस्ताव बनाउने सहमति हुन सकेको छैन । समितिले मंसिर १५ गतेदेखि छलफल थाले पनि सहमति हुन नसकेको हो ।

मंगलबार बसेको अध्ययन विशेष समितिको बैठकमा प्रदेश सांसदहरूले सहमति सम्भव नभएपछि मतदान प्रक्रिया अगाडि बढाउन सुझाव दिएको कांग्रेस संसदीय दलका सचेतक उपेन्द्र कुशवाहले बताए । समितिको बैठकमा साझा प्रस्ताव बनाएर सहमति खोज्ने प्रयास असफल भएपछि मतदानको प्रक्रियामा जान सांसदहरू एकमत भएको उनले जानकारी दिए । प्रदेश सभामुख यादवले मंगलबार बोलाएको सर्वदलीय बैठकमा पनि नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको थियो । बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले चालु प्रदेशसभाको अधिवेशनमा नाम र राजधानी तोक्ने सहमति भएको बताए ।

Inside Article Ads

प्रदेशसभामा १ सय ४ जना सांसद छन् । जसपाका ३९, कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादी १३, एमाले ८, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । नामकरण टुंग्याउन प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ मतका लागि ७० जना सांसद चाहिन्छन् । मधेस प्रदेशको पक्षमा जसपा ३९, माओवादी ८ र लोसपाका १६ जना गरी ६३ सांसद मात्रै छन् । मधेसमा १ जना सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन गरेको छ । मधेस प्रदेश प्रस्ताव पारित गर्न ७० जना आवश्यक रहेकोमा ६४ जना मात्र छन् । यसअघि ०७७ चैत ५ गते प्रदेशको राजधानी र नामकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो । कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि अस्वीकृत भएको थियो ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.