Fast Nepal News

मापदण्ड अपनाएर सामुदायिक विद्यालय खोलिने

banner single news

मुगु — २८  पुस २०७८

मुगु . जिल्लाका सामुदायिक विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन सुरु भएको हुँदा मापदण्ड अपनाएर सञ्चालन गरिने भएको छ । कोरोनाको तेस्रो लहरको जोखिम देखा पर्न थालेपछि मंगलबारदेखि देशभरका विद्यालय माघ १५ गतेसम्म बिदा गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसीले निर्णय गरेको भए पनि यहाँ अर्धवार्षिक परीक्षालाई मध्यनजर गरी विद्यालय खोल्ने भएका छन् । ‘विद्यालय बन्द गर्दा पुस २५ गतेबाट सुरु भएको अर्धवार्षिक परीक्षा फेरि कसरी गर्न भन्ने समस्या देखा परेको हुँदा मापदण्ड अपनाएर स्कुल खोल्ने कि भन्ने सोचमा छौं,’ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए । मुगु जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले के निर्णय गर्छ, त्यसको कार्यान्वयन गर्ने उनको भनाइ छ । कोरोना महामारीका कारण गत मंसिर दोस्रो सातादेखि यहाँका सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ।

पढाइ सुरु भएको करिब दुई महिनापछि अधिकांश विद्यालयमा अर्धवार्षिक सुरु भएको सीसीएमसीको निर्णय तत्काल कार्यान्वयन गर्न शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई समस्या देखा परेको छ । छायानाथ रारा नगरपालिकाभित्रका केही माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षा चलिरहेको छ । नगर शिक्षा शाखा प्रमुख खडग रोकायाले भने परीक्षा नसकिँदै कसरी विद्यालय बन्द गर्न लगाउने समस्या भयो । जिल्लास्तरमा तेस्रो लहरको कोरोना जोखिम देखा नपरेको हुँदा विद्यार्थीलाई माक्स–सेनिटाइजर लगाएर सामाजिक दूरी कायम गरी जोखिम नहुँदासम्म विद्यालय खुल्ने मनस्थितिमा सरोकारवाला छन् । विद्यार्थीको अर्धवार्षिक परीक्षा प्रभावित हुने भएकाले मापदण्ड अपनाएर विद्यालय सञ्चालन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । ‘केन्द्रबाट सीसीएमसीको पत्र आइपुग्यो,’ उनले भने, ‘केन्द्रको बैठक बसेर के गर्ने भन्ने निर्णय गर्नेछौं ।’

Inside Article Ads

भारतलगायत सहरी क्षेत्रमा तेस्रो लहरको कोरोना जोखिम हुन थालेपछि तराई झरेका स्थानीय जिल्ला उक्लिन थालेपछि जोखिम हुने आशंका गरिएको छ । केन्द्रको सीसीएमसीको निर्णयलाई मध्यनजर गरी सोरु र खत्याड गाउँपालिकभरिका सम्पूर्ण सामुदायिक विद्यालय निजी स्कुल मंगलबारदेखि नै बन्द गरेका छन् । मुगुम कार्मारोङ गाउँपालिकामा भने जाडो मौसमलाई मध्यनजर गरी पुस २५ गतेदेखि लागू हुने गरी एक महिनाका लागि विद्यालय बन्द गर्ने निर्णय पहिले नै गरिसकेको थियो । कोरोनाले गर्दा जिल्लाभरि १ सय ४१ वटा सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीको पढाइ डामाडोल हुने अवस्था आएपछि अभिभावक चिन्तित छन् । जिल्लाको ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच छैन । अनलाइन कक्षाको सम्भव नहुँदा विद्यालय सञ्चालन भए मात्र विद्यार्थीलाई पढ्न सहज छ । कोरोनाविरुद्धको खोप दिइसकेको हुँदा विद्यालय बन्द गर्नु खासै उपयुक्त नदेखिएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाइ छ ।

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.