Fast Nepal News

खोपको गति सुस्त

banner single news

रुपन्देही — २८  पुस २०७८

रुपन्देही , कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १७ लाख ८१ हजार मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारत आउजाउ गर्ने मुख्य सीमा नाका रहेको प्रदेशमा कोरोनाविरुद्धको खोपले तीव्रता पाउन सकेको छैन । प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन नपाएको जनाए । रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए ।

अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । ‘अहिले पालिकामा खोपका लागि कुनै समस्या छैन,’ उनले भने, ‘१८ वर्षमाथिका सबैलाई खोप लगाइएको छ ।’ १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए । कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए । अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए । ‘पालिकाका ११ हजार ६ सय ६५ विद्यार्थीले पनि पहिलो डोजको खोप लगाएका छन्,’ उनले भने, ‘फागुनभित्र सकाउने गरी खोप दैनिक नै लगाउने गरिएको छ ।’

८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले जनाए । १ लाख जना बसोबास रहेको वाणगंगामा ५ देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ । ‘सुरुमा खोप आउँदा हाहाकार भएर समस्या पर्‍यो,’ उनले भने, ‘अर्को लहर आउन सक्ने संकेतलाई ख्याल गर्दै स्वास्थ्य शाखाका कर्मचारी तयारी अवस्थामा छन् ।’ बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए । प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन ।

पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिउको छ । ‘खोप लगाउन बोलाए पनि नआएर आपत् छ,’ उनले भने, ‘लक्षित समूहकै लागि ल्याइएको खोप फिर्ता पठाउन बाध्य भएका छौं ।’ पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५ सय २३ जनाले लगाएका छन् । दोस्रो डोज लगाउने ५ हजार ३ सय ७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।

Inside Article Ads

लुम्बिनी प्रदेशको कुल जनसंख्या ५१ लाख ६४ हजार मध्ये खोप पाउन योग्य १८ वर्षभन्दा माथिको संख्या ३३ लाख ८७ हजार छ । त्यस्तै, ५ लाख ८० हजार जना १ देखि १७ वर्ष उमेरसमुहका छन् । दुवै उमेर समुह मध्येबाट कुल ३० लाख ७४ हजार ४ सय १७ जनाले पहिलो मात्रा खोप लगाउन पाएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । उनका अनुसार प्रदेशभरिबाट पूर्ण खोप पाउनेको संख्या १७ लाख ८१ हजार छ ।प्रदेशमा ८ लाख  ८२ हजार डोज कोभिसिल्ड, २९ लाख ४८ हजार ७ सय १७ डोज भेरोसेल, ४ लाख ९२ हजार डोज जोनसन, ६ लाख ६५ हजार डोज एस्ट्राजेनिका, १० हजार ५ सय ६० डोज फाइजर र ३ लाख ३० हजार डोज मोर्डना खोप प्राप्त भएको थियो । यहाँ लक्षित उमेर समूहमध्ये १२ वर्षभन्दा माथिका ८० प्रतिशतले पहिलो डोज र १८ वर्षभन्दा माथिका ४८ प्रतिशतले दोस्रो डोज पाएको तथ्यांक छ । पुस २७ सम्म प्रदेशका विभिन्न जिल्ला, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा गरी ४ लाख ७२ हजार १ सय १२ डोज भ्याक्सिन मौज्दात रहेको भण्डारीले जनाए । ‘अब प्रदेशका लक्षित समूहमध्ये १२ वर्षभन्दा माथिका सबैलाई डोज पुर्‍याउन ८ लाख ६९ हजार ५ सय २ डोज पहिलो मात्रा खोप चाहिन्छ,’ उनले भने, ‘दोस्रो डोज २१ लाख ६२ हजार १ सय ७१ आवश्यक छ ।’

प्रदेशका १२ जिल्लाको तथ्यांकका आधारमा रुकुम पूर्वमा हालसम्म लक्षित समूहको ५३ प्रतिशतले पूर्ण खोप पाएका छन् । त्यस्तै, रोल्पामा ६४, प्यूठानमा ३६, गुल्मीमा ४१, अर्घाखाँचीमा ६६, पाल्पामा ८०, पश्चिम नवलपरासीमा ३७, रूपन्देहीमा ६३, कपिलवस्तुमा ४२, दाङमा ६१, बाँकेमा ४९ र बर्दियामा ४० प्रतिशत नागरिकले पूर्ण डोजमा भ्याक्सिन लगाएका छन् । यो प्रतिशत कुल लक्षित समूह ३७ लाख ८ सय ४० को ५३ प्रतिशत रहेको भण्डारीले जनाए । जिल्लाहरूका स्वास्थ्य संस्थामा अहिले भीडभाड नभएको उनले बताए । प्रदेशमा पछिल्लोपटक खोपको मात्रा पर्याप्त भएकाले समस्या नपरेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाको भनाइ छ । उनले पहिलो डोज भ्याक्सिन आयात अन्य प्रदेशको तुलनामा कम आएकाले दोस्रो डोजका लागि रफ्तार बढाउन नसकिएको प्रस्ट्याए । ‘कोभिसिल्ड र एस्ट्राजेनिकको खपतमा लामो समय लाग्यो,’ उनले भने, ‘निश्चित मापदण्ड पुगेको उमेर समूहलाई बुस्टर डोज आएपछि लगाउने तयारीमा छौं ।’ संघीय स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले जिल्लागत लक्षित समूहसम्म खोप पुर्‍याएको भन्दै देवकोटाले छुटफुटको समेत नामावली राखी मौज्दातका भ्याक्सिन लगाउन हरेक जिल्लामा अह्राइएको र सबैले पाइरहेको बताए ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.