Fast Nepal News

११ वर्षसम्म पनि पुल नबनेपछि मुख्यमन्त्री निरीक्षणमा

banner single news

मकवानपुर — २८  पुस २०७८

मकवानपुर , शिलान्यास भएको ११ वर्षमा पनि पुल निर्माण पूरा नभएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थलगत निरीक्षण गरेका छन् । मदन भण्डारी (धरान–चतरा सडक) राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सुरु भएको ११ वर्षमा पनि पूरा नभएपछि मुख्यमन्त्री पाण्डेले चासो व्यक्त गरेका हुन् । धरान–चतरा सडकअन्तर्गत हेटौंडा र सिन्धुली बजारबाट पुल निर्माण भएको स्थानसम्मको सडक निर्माण अन्तिम चरणमा पुगे पनि पुल समयमै नबन्दा वाग्मती खोला वारपार गर्न समस्या भइरहेको छ । धरान–चतरा सडकको मकवानपुरतर्फ वाग्मती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ को सिमानासम्म कालोपत्र भएर पनि पक्की पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भइरहेको छ ।

‘पुल समयमै नबन्दा हामी खोला तर्न पाँच सय रुपैयाँसम्म तिर्न बाध्य भइरहेका छौं,’ स्थानीय गजेन्द्रबहादुर राईका अनुसार मोटरसाइकल खोला पार गर्दा एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको छ । ‘विशेष गरी जेठदेखि असोजसम्म वाग्मती तर्न गाह्रो हुन्छ । ट्युबबाट हामी वारपार गर्छौँ,’ उनले भने । हिउँदको समयमा खोलाबाट ठूला यातायात सञ्चालन भए पनि साना सवारी चलाउन कठिन हुने गरेको उनले बताए । स्थानीय मंगल राईले घर अगाडि चिल्लो कालोपत्रे सडक निर्माण भए पनि पक्की पुल नबन्दा समस्या भइरहेको बताए । मुख्यमन्त्री पाण्डेले पुल निर्माण कम्पनी स्वच्छन्द भैरवका सञ्चालक जयराम लामिछानेलाई पुल निर्माण स्थलमा स्थानीयबासीको माझ कहिलेसम्म पुलको काम सकिन्छ भनेर घोषणा गरिदिन निरीक्षणको क्रममा आग्रह गरेका थिए ।

उनको निर्देशन अनुसार लामिछानेले पुल निर्माण अन्तिम चरणमा पुगेको र माघको पहिलो हप्ताबाट पुल भएर सवारी आउजाउ गर्न मिल्ने गरी तयार गर्ने बताए । ‘पुलको सम्पूर्ण काम र ड्याम र एप्रोच रोडको काम सक्काएर हामी चैतभित्रमा आयोजनालाई हस्तान्तरण गर्नेछौं,’ लामिछानेले भने । मुख्यमन्त्री पाण्डेले पुल निर्माण भएसँगै सिन्धुली, रामेछाप र दोलखाका मानिसलाई प्रदेशको राजधानी आउन सहज हुने भन्दै छिट्टोभन्दा छिट्टो पुलको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । पुलको एक्सपान्सन ज्वाइन्ट, फुटपाथ, रेलिङ र पहुँच सडक निर्माणको काम बाँकी रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ  । ४ सय १३ मिटर लामो पुलको निर्माण सुरु २०७८ असार २९ गतेबाट सुरु भएको थियो ।

Inside Article Ads

राष्ट्रिय गौरवका आयोजनाहरू समयमा निर्माण सम्पन्न गर्न सरकारले दबाब दिएपछि मात्र स्वच्छन्द निर्माण सेवाले दुई वर्ष अघिदेखि पुल निर्माणको कामलाई तीव्रता दिएको थियो । आयोजनाका इन्जिनियर निरञ्जन थापाका अनुसार २०६८ असार २९ मा ५ वर्षभित्र निर्माण सक्ने गरी २३ करोड ५३ लाख ९ हजार ३ सय ४४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि ठेकेदारबाट १० प्रतिशत क्षतिपूर्तिबापत २ करोड १० लाख ४० हजार रुपैयाँ असुलसमेत गरिएको छ । आयोजनाको म्याद पाँचौं पटक म्याद थप भइसक्दा भौतिक प्रगति ८९ प्रतिशत छ । थापाका अनुसार आयोजनाको म्याद अन्तिम पटकका लागि चैत ३० गतेसम्म रहेको छ । ‘अहिलेको गतिमा काम भए तोकिएको समय अगाडि नै पुल निर्माण सकिन्छ,’ उनले भने ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.