
काठमाडौँ — २७ पुस २०७८
काठमाडौँ , नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । दाहालले राजीनामाको एक प्रति आफूलाई पठाएको मन्त्री आलेले बताए । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको थियो ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गत बुधबार गठित ‘नारायणहिटी दरबार संग्रहालयको परिसरमा क्यान्टिन/क्याफेटेरिया सञ्चालनसम्बन्धी अध्ययन एवं छानबिन समिति’ ले पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको देखाएको छ । ‘क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नगरी’ संग्रहालयका कार्यकारी निर्देशक दाहालले आफ्नै तजबिजले बढी क्षेत्र दिएर थप निर्माण गर्न बतास कम्पनीलाई प्रोत्साहन गरेको देखिएको पनि समितिको ठहर छ । समितिले सोमबार पर्यटनमन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको दाबी गरेका छन् । ३० वर्ष पुरातत्व विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको उनको जिकिर छ ।
( कान्तिपुर दैनिक )
