
दमक — २७ पुस २०७८
दमक , न्वारानको नाम चक्र साउदेन लिम्बू । आफैंले जुराएको नुमा लिम्बू ‘चञ्चला’ । पुरुषका रूपमा जन्मिएका चक्र लिंग परिवर्तनपछि चञ्चला बनिन् । चक्रबाट चञ्चलामा रूपान्तरण उनलाई आफैं कुनै फिल्मको कथाजस्तै लाग्छ । उनी मोरङ बबियाबिर्ताको किसान परिवारमा जन्मिए । दुई छोरीपछि जन्मिएको छोरो । लालनपालनमा ‘लाडप्यार’ थियो । तर, उमेर बढ्दै गएपछि स्वभावमा परिवर्तन हुन थाल्यो । छोरीहरूसँग मात्रै घुलमिल, उनीहरूकै लुगा, गरगहना, लिपस्टिक पाउडरप्रति रुचि । ‘सुरु सुरुमा त आफैं अचम्म पनि लाग्थ्यो,’ चञ्चलाले सुनाइन् । स्कुल पढ्दादेखि नै केटाहरूभन्दा फरक स्वभाव । केटी जस्तो हाउभाउका कारण स्कुले साथीले अपशब्द बोलेर खिसिट्युरी गर्थे । ‘छक्का हिँजडा भनेर गिज्याउँदा धेरै दुःख लाग्थ्यो,’ उनी सम्झिन्छिन् । अरूभन्दा फरक भएकामा दुःख त छँदैथ्यो, सँगै आफैंलाई कौतुहलता पनि थियो । कलेज पढ्न विराटनगर पुगेपछि त्यहाँ पनि अपशब्दका दुर्व्यवहार सामना गर्नुपर्यो ।
‘आत्महत्या गर्ने सोच पनि आयो तर कसोकसो सम्हालिएँ,’ उनले भनिन् । कलेज पढ्दै गर्दा सन् २००८ तिर लैंगिक र अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गर्ने एक संस्थासँग उनी जोडिइन् । त्यसको सम्पर्कपछि उनले बल्ल आफूलाई चिन्ने मौका पाइन् । त्यसयता उनी निरन्तर अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा क्रियाशील छिन् । सुरुमा तेस्रो लिंगीका रूपमा खुल्न गाह्रो थियो, संस्थासँगको सहकार्यले सघायो । पुरुष भएर वंश चलाउनुपर्छ भन्ने परिवार र समाजको सोचविरुद्ध उनले विद्रोह बोलिन् । ‘अहिले फर्किएर हेर्दा मैले कसरी त्यो आँट गरेछु भन्ने लाग्छ,’ चञ्चलाले विगत कोट्याइन्, ‘आँट नगरेको भए म चक्रकै रूपमा बाँच्नुको विकल्प थिएन ।’ हुँदाहुँदा उनमा पूर्ण रूपमै महिला हुने मोह भयो । अन्ततः सन् २०१४ मा थाइल्यान्ड पुगेर लिंग परिवर्तन गराइन् । त्यसपछि लगत्तै मोरङ जिल्ला प्रशासन कार्यालयबाट नुमा लिम्बू चञ्चलाको नामबाट नागरिकता पनि लिइन् ।
( कान्तिपुर दैनिक )
