
सल्यान — २७ पुस २०७८
सल्यान , राप्ती राजमार्गअन्तर्गत कपुरकोट–चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम/शंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । १ वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ । ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि उपेक्षा भएको कपुरकोटका कमल शर्माले बताए । उनका अनुसार टेन्डर भएको लामो समयसम्म पनि काम पूरा हुन सकेको छैन । अहिले कपुरकोटदेखि चोरखोलासम्मको ८ किलोमिटर सडकमा स्तरोन्नतिको काम चलिरहेको छ । ‘यो ढिलाइले यात्रुलाई पनि सास्ती छ,’ स्थानीय अविनाश केसीले भने, ‘ठेकेदारले जथाभावी थुपारेको ढुंगामाटोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।’ उनका अनुसार सडक स्तरोन्नतिका लागि स्थानीय प्रशासनले दैनिक ८ घण्टा यातायात बन्द गरे पनि ठेकेदार कम्पनीले खासै काम गरेको देखिएको छैन ।
यसअघि कपुरकोटबाट तुलसीपुर जान झन्डै २० मिनेट समय लाग्ने गरेकोमा अहिले सडकको दूरवस्थाका कारण कम्तीमा १ घण्टा लाग्ने गरेको स्थानीय तिलक शर्माले बताए । ‘अकस्मात् रातिमा कोही बिरामी भए अस्पताल लैजान पनि समस्या भयो,’ उनले भने, ‘यात्रुलाई यो खण्डमा ठाउँठाउँमा झर्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनले सडकमा गुणस्तरीय कामसमेत नभएको आरोप लगाए । राप्ती राजमार्गमा टालटुल पारेर बजेट खर्च गर्नुभन्दा दीर्घकालीन विकासको बारेमा सोच्नुपर्ने बेला आएको उनले बताए । सडककै दूरवस्थाका कारण दुर्घटनाको जोखिम पनि बढिरहेको एकिकृत समाजवादीका जिल्ला सचिव रमेशकुमार गौतमले बताए । ‘राप्ती राजमार्ग सधैं टालटुलमै सीमित रहने भयो,’ उनले भने, ‘पहिलो वर्ष गरिएको मर्मत अर्को वर्ष पनि नटिक्ने समस्या छ ।’ विगतमा राजमार्गलाई चौडा बनाउन र कालोपत्र गर्न आएको झन्डै १ करोड रकम फ्रिज हुनु सडक डिभिजन कार्यालयको लापरबाही भएको उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )
