
गोरखा — २६ पुस २०७८
गोरखा , नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको सातौं अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो ।अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोका निर्विरोध चयन भएका हुन् । गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । तीन पदाधिकारीसहित ६० सदस्य सर्वसम्मत भएको छ । सर्वसम्मत हुन नसकेका पद निर्वाचनबाट टुंग्याउन आइतबारबाट मतदान सुरु भएको छ । दुई उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । खुला पुरुषतर्फ २० पदका लागि २७ जना र समावेशी उत्पीडिततर्फ ३ जनाका लागि ११ र जनजाति खुलातर्फ ५ पदका लागि १० जनाबीच चुनावी प्रतिस्पर्धा भएको छ ।
एमाले लमजुङमा अधिकारी
नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल बार इकाई लमजुङका अध्यक्षसमेत रहेका अधिकारीलाई एमाले ८ औं जिल्ला अधिवेशनले सर्वसम्मत चयन गरेको हो । कुल ९५ सदस्यीय कमिटीका लागि १ सय ३० जनाको उम्मेदवारी परेकामा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको निर्वाचन कमिटी संयोजक बुद्धिसागर बरालले बताए । अन्य पदाधिकारी र सदस्यमा सर्वसम्मतको प्रयास भइरहेको छ । एमालेमा २ कार्यकाल सचिव भइसकेका उनी २०५४ मा गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
म्याग्दी एमालेमा केसी
एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर केसी निर्विरोध अध्यक्ष चयन भएका छन् । जिल्ला समन्वय समितिका संयोजक केसी साविक भगवती गाविसका अध्यक्ष र पार्टी जिल्ला कमिटीको निवर्तमान उपाध्यक्ष थिए । उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसचिवमा राजकुमार थापा मगर र थमसरा पुन मगर निर्विरोध चयन भएका छन् । अधिवेशनबाट पदाधिकारीसमेत ९० सदस्यीय जिल्ला कमिटी पनि निर्विरोध चयन भएको छ । कमिटीमा भूगोलबाट १२ जना महिलासमेत ३१ जना, समावेशीबाट २ महिलासमेत ७ जना, मजदुर २ जना, मुस्लिम १ जना, अन्य १ जना, जनजाति ४ महिलासमेत १३ जना, खुलामा ९ महिलासमेत ३० जना निर्वाचित भएका छन् ।
पूर्वी नवलपरासीमा सर्वसम्मत भएन
जिल्ला अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास यहाँ तेस्रो दिन पनि असफल भएको छ । जिल्ला अध्यक्षका लागि हालका अध्यक्ष एवं प्रदेशसभा सदस्य रोशन गाहामगर र जिल्ला सचिव जीवन श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा छ । शुक्रबारबाट सुरु अधिवेशनमा अध्यक्षका लागि सर्वसम्मत प्रयास आइतबार पनि असफल भयो । मतदानबाट अध्यक्ष रोज्न पाउनुपर्ने माग आए पनि अध्यक्ष मण्डलले आफैं नेतृत्व लिन खोजेका कारण नेतृत्व चयन पेचिलो बन्दै गएको छ । जिल्ला निर्वाचन समितिका संयोजक तीर्थ कँडेल अधिवेशनले अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेका कारण अन्योल रहेको बताउँछन् । ‘सर्वसम्मत गर्ने भनिएको छ तर हुने छाँट देखिएको छैन,’ कँडेल भन्छन्, ‘विभिन्न क्लस्टरबाट जिल्ला सदस्य निर्विरोध भइरहेका छन् । पदाधिकारीमा प्रवेश नै गरेको छैन । सदस्यहरू निर्विरोध भइसकेपछि पदाधिकारीको प्रयास हुनेछ । नभए निर्वाचन हुन्छ ।’
एमाले केन्द्रीय सदस्य तथा सांसद तिलक महतको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत गर्ने प्रयास गरिरहेको छ । महतले आफूनिकटका रोशन गाहा मगरलाई अध्यक्ष बनाउन चाहेका र अन्यले यो पटक नेतृत्व परिवर्तन गरेर (हालका) पार्टी सचिव जीवन श्रेष्ठलाई सर्वसम्मत बनाउन प्रयास गरेका कारण कुरा नमिलेको हो । प्रतिनिधि मतदानबाटै नेतृत्व चयन हुनुपर्नेमा रहेको एक जिल्ला सदस्यले बताए । अध्यक्ष मण्डलले टीका लगाएर नेता बनाउन खोजेकाले अधिवेशन लम्बिएको उनको भनाइ थियो । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
( कान्तिपुर दैनिक )
