
धनगढी — २६ पुस २०७८
धनगढी , एमालेको जिल्ला अधिवेशनमा आइतबार बैतडी र डडेलधुरामा सर्वसम्मत जिल्ला कमिटी चयन भएको छ । बझाङबाहेकका आठ जिल्लामा शुक्रबार एकसाथ जिल्ला अधिवेशन सुरु भएको थियो । एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार बैतडीको अध्यक्षमा सुरेन्द्र पाल पुनः सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्ष पदमै दाबी गरिरहेका गोरखबहादुर चन्दले पाललाई समर्थन गरेका हुन् । उपाध्यक्षमा रमिल बम चयन भएका छन् । पालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । डडेलधुरामा प्रकाश साउद अध्यक्ष पदमा निर्वाचित भए ।
अध्यक्ष पदका दाबेदार अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले साउदलाई समर्थन गरेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । एमाले डडेलधुराको उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अञ्जु गैरे चयन भएका छन् । बाजुरामा सर्वसम्मत रूपमा अध्यक्षसहित पूरै कमिटी चयनका लागि प्रयास भइरहेको नेता कार्यकर्ताहरूले बताएका छन् । कैलाली र अछाममा मतदानको प्रक्रिया सुरु गरिएको छ । कैलालीमा अध्यक्षका लागि वर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुरुमा अध्यक्ष पदमा दाबी गरेका डेजी पाण्डेले चन्दलाई समर्थन गरेर आफू चन्दको प्यानलबाट सचिव पदको उम्मेदवार बनेका छन् । थापाको प्यानलबाट दुर्गा जोशी उपाध्यक्ष पदमा उठेका छन् । अछाममा प्रकाश शाह र चन्द्र बोहराको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । शाह भीम रावलनिकट हुन् भने बोहरा ओली पक्षधर नेता हुन् । कैलालीको निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार १ सय ५० पदका लागि ३ सय २९ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ १२ महिला निर्विरोध निर्वाचित भए । डोटीमा निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि प्रक्रिया स्थगित गरेको छ । कञ्चनपुर र दार्चुलामा मतदान प्रक्रिया अघि बढाएको समितिले जनाएको छ ।
( कान्तिपुर दैनिक )
