Fast Nepal News

कोरोना संक्रमणको उच्च जोखिमकै बीच मेला-महोत्सव

banner single news

चितवन — २६ पुस २०७८    

चितवन , सामान्य बेलाको जस्तै गरेर आइतबारदेखि नारायणगढको नारायणी नदी किनारमा तामझामका साथ व्यापारिक मेला ‘चितवन महोत्सव’ सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको महोत्सव माघ ४ सम्म चल्नेछ । मंगलबारदेखि पूर्वी चितवनको रत्ननगरमा पनि यस्तै महोत्सव सुरु हुँदै छ । थारू समुदायहरूले माघीको अवसर पारेर खैरहनीमा खिचरा महोत्सव गर्दै छन् । कालिका नगरपालिकामा पनि पदमपुर महोत्सव सुरु भएको छ । हालै राप्ती नगरपालिकामा गड्यौली महोत्सव सकिएको छ । विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपालमा पुष्टि भइसकेको छ । संक्रमण विस्तारको जोखिम उच्च रहेकै बेला जिल्लामा जारी र हुन लागेका मेला–महोत्सवले सर्वसाधारण चिन्तित छन् । माघ १ बाट देवघाटमा लाग्ने मकर स्नानको तयारी पनि तीव्र रूपमा भइरहेको छ ।

सामाजिक सञ्जालहरूमा यस्ता मेला–महोत्सव आयोजना नगर्दा राम्रो हुने स्टाटस धमाधम पोस्ट भइरहेका छन् । नारायणगढका शरदरञ्जन श्रेष्ठ लेख्छन्, ‘चितवन महोत्सव चितवनको गौरव भनेर गर्व गर्दै आएका हामी चितवनवासीहरू कोरोनाको बढ्दो संक्रमणका कारण महोत्सवमा सहभागी हुनु जोखिम बढाउनु हो । त्यसैले सकभर महोत्सव जाँदै नजानु नै उत्तम ।’ उद्योग वाणिज्य संघ चितवनले २०५३ देखि प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । जसअनुसार गतवर्ष हुनुपर्नेमा कोरोना महामारीकै कारण हुन सकेको थिएन । कोरोनाले शिथिल भएको आर्थिक गतिविधिलाई सक्रिय बनाउन महोत्सव आयोजना गरिएको संघका अध्यक्ष राजु श्रेष्ठको भनाइ छ । ‘संक्रमण नफैलियोस् भनेर हामीले महोत्सव हेर्न आउनेलाई प्रवेश टिकटसँगै निःशुल्क मास्क दिएका छौं,’ उनले भने ।

Inside Article Ads
चितवनमा हाल सक्रिय संक्रमितको संख्या ८२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ७ जना अस्पताल भर्ना छन् । तथ्यांक हेर्दा चिन्ता मान्नु पर्ने अवस्था देखिँदैन । सक्रिय संक्रमितको संख्या सयभन्दा पनि तलै रहेका कारण मेला महोत्सव बन्द गर्न र अन्य आदेश जारी गर्न सरकारी अधिकारीहरू अग्रसर भएका छैनन् । तर अन्यत्र संक्रमण बढेको खबरले स्थानीय चिन्तित छन् । एक सातायता मात्रै छिमेकी मुलुक भारतमा संक्रमण हुने दर ह्वात्तै बढेको छ । काठमाडौंमा पनि संक्रमित बढ्न थालेका छन् । चितवनमा पनि न्यून मात्रामा संक्रमितको संख्या बढेको छ । शुक्रबार १ सय ३० जनाको पीसीआर परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि पुस लागेपछि संक्रमण दर ३–६ प्रतिशतमा छ । ‘संख्या हेर्दा आत्तिनु नपर्ने जस्तो देखिन्छ,’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘तर डर के हो भने विगतमा काठमाडौंमा संक्रमण फैलिएसँगै चितवनमा तत्कालै असर परेको थियो । अहिले काठमाडौंमा फैलन थाल्यो । त्यहाँ बढेको हुँदा चितवनमा पनि सावधानी अपनाउन आवश्यक छ ।’         
      

( कान्तिपुर दैनिक )

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.