
काठमाडौँ — २६ पुस २०७८
काठमाडौँ , सत्तारूढ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच पार्टी सञ्चालनको विषयलाई लिएर दूरी बढ्दै गएको छ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयनले दुई नेताबीचको दूरीलाई थप तन्काएको पार्टीभित्रकै नेताहरूले बताएका छन् । सैद्धान्तिक रूपमा ठूलो विवाद नभए पनि कार्यशैलीका कारण भट्टराई र यादवबीच सम्बन्ध बिग्रँदै गएको नेताहरू बताउँछन् । उनीहरूका अनुसार पछिल्लो समय दुई नेताबीच सामान्य समन्वय पनि छैन । भट्टराई र यादव पार्टी संगठनकै काममा भिन्दाभिन्दै तरिकाले हिँडिरहेका छन् । सुरुमा सत्ता गठबन्धनको बैठकमा पनि यादवमात्रै जाने गरेको र छलफलका विषय जानकारी नगराउने गरेको भन्दै भट्टराई असन्तुष्ट थिए । यादवको भने सरकारविरुद्ध आन्दोलन भइरहेका बेला भट्टराईले तत्कालीन प्रधानमन्त्री ओलीलाई सुटुक्क भेटेपछि चित्त दुखाइ सुरु भएको हो ।
जसपाले प्रदेश १ मा अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ र प्रदेश २ मा अन्यतर्फ एक–एक सिट पाएको छ । ‘लुम्बिनीमा हाम्रो ३ सय ५० भन्दा बढी मतभार छ । १ सय २० मतभार भएका जनमोर्चा र एकीकृत समाजवादीले पाए । हामीले तीनवटै सिट दान गर्नुपर्ने ?’ सुवेदीले भने । समावेशी समानुपातिक चरित्रको पार्टी बनाउने भने पनि अध्यक्ष यादवले ‘यादववाद’ लाई बढावा दिएको आरोप पनि लाग्ने गरेको छ । ‘समुदायगत सन्तुलन भएन भनेर पश्चिम र पूर्वका साथीहरूको ठूलो असन्तुष्टि थियो । मधेसमा राजवंशी, भिमाद, सतार, डुनिया, डोम, तमार, साह पनि होलान् । यादवै यादव मात्रै छन् त ?’ केन्द्रीय कार्यकारिणी सदस्य सुवेदीले भने । यादवले विभिन्न पार्टी छाडेर आएका विकास तिवारी, सुरेन्द्र साह, डीबी लामा, शिवसुन्दर शाही, सूर्यनारायण यादव, विजय सरावगी, चन्देश्वर सदा, दिलुकमारी खड्का र सिद्धान्त राईलाई एकलौटी ढंगले केन्द्रीय समितिमा ल्याएको भन्दै भट्टराई असन्तुष्ट छन् । जसपाका एक सदस्यका अनुसार पार्टीलाई वैकल्पिक शक्ति बनाउने हो भने सामूहिक निर्णय र विधिमा चल्नुपर्ने आवाज केन्द्रीय कार्यकारिणी समिति बैठकमा उठ्दै आएको छ । ‘उपेन्द्रजीको कार्यशैलीप्रति बाबुरामजी धेरै असन्तुष्ट हुनुहुन्छ, हामी सबै विषयमा छलफल गर्दै छौं’, ती नेताले भने ।
मंसिर पहिलो साता बसेको कार्यकारिणीको बैठकमा पार्टी सञ्चालनको विषयलाई लिएर चर्को मतभेद भएको थियो । अधिकार बाँडफाँटमा विवाद भएपछि बैठकले पदाधिकारीको विषय टुंग्याउन सकेन । एकीकृत पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष थिए । विभाजनपछि नयाँ विधान बनेको छैन । पदपूर्ति गर्ने कि विधान संशोधन गर्ने भन्नेमा विवाद छ । निकट नेताहरूका अनुसार यादव नयाँ अध्यक्ष राख्ने पक्षमा छैनन् । जसपामा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा अर्को समूह पनि अस्तित्वमा छ । जसपामा समायोजनको काम टुंग्याउन राईको नेतृत्वमा राजेन्द्र श्रेष्ठ, महिन्द्र राय यादव, रेणु यादव र नवराज सुवेदी रहेको कार्यदल बनाइएको थियो । कार्यदलको कार्यक्षेत्रलाई लिएर पनि पार्टीभित्र विवाद छ । कार्यदलमा ‘हिमाल, पहाड, तराई जोड्ने संकल्पसहित समावेशी पार्टी बनाउने’ विषयमा नेताहरूबीच विवाद भएपछि बाँकी काम अगाडि बढ्न नसकेको एक नेताले बताए । ‘सबै क्षेत्रलाई समेट्ने गरी पार्टीको कार्यक्रम बनाउने र तदनुरूपको शक्ति सन्तुलन मिलाउने काम भएकै छैन’, सुवेदीले भने ।
पार्टी हितविपरीत काम गरेको भन्दै प्रदीप यादवलाई केन्द्रीय समितिबाट हटाइएको छ । मन्त्रीका आकांक्षी उनलाई अध्यक्ष यादवले हटाएका हुन् । त्यसको विरोधमा प्रदीपले वीरगन्जमा पार्टी अध्यक्षकै पुतला दहन गरेका थिए । प्रदीपमाथि सनकमा कारबाही भएको उनी पक्षधर नेताको भनाइ छ । अध्यक्ष यादवले भने पार्टी सहमतिमै चलेको दाबी गरे । ‘पार्टीमा कुनै असन्तुष्टि छैन, जे जति निर्णय भएका छन् । सबै सहमतिमा भएका छन्,’ उनले भने । भट्टराई र यादवबीच व्यक्तित्वको टकराव पनि छ । ‘बाबुरामजीले राजनीतिक रूपमा जुनियर भए पनि उपेन्द्रजीलाई अध्यक्ष मानेर अगाडि बढ्नुभएको छ । तर उपेन्द्रजीमा बाबुरामलाई धेरै भूमिका दिँदा आफू पछाडि परिन्छ कि भन्ने भय देखिन्छ,’ केन्द्रीय कार्यकारिणी समितिका अर्का एक नेताले भने, ‘व्यक्तित्वको टकराव र आफ्नो राजनीतिक भविष्यको भयले पनि विवाद बढाएको होला ।’
अर्कातिर भट्टराईले गुट निर्माणमा मात्रै ध्यान दिएको भन्दै यादव असन्तुष्ट रहेको उनीनिकट एक नेताले बताए । उनका अनुसार सानो समूह लिएर पार्टी एकता गरेका भट्टराईले कार्यकारी अध्यक्षको अभ्यास खोजेको यादवको बुझाइ छ । यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच ०७६ वैशाख २२ मा एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसबेला भट्टराई संघीय परिषद् अध्यक्ष र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष भएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ०७७ वैशाख १० मा समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । प्रतिनिधिसभा विघटनलाई लिएर ठाकुर र यादव–भट्टराई पक्षबीच विवाद चर्कियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएपछि ठाकुरले छुट्टै दल लोकतान्त्रिक समाजवादी पार्टी बनाए ।
दुई विकल्प
नेताहरूका अनुसार भट्टराईसँग अध्यक्ष यादवलाई रूपान्तरण गरेर पद्धति, विधि, विधान र सामूहिक निर्णयमा चल्ने पार्टी बनाउने पहिलो विकल्प छ । यादव रूपान्तरणका लागि तयार नभए केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिमा बहुमत सिद्ध गरेर ‘समाजवादी केन्द्र’ निर्माणमा लाग्ने दोस्रो विकल्प भट्टराईसँग छ । ‘तर यो बाध्यात्मक र अन्तिम हुन्छ,’ एक नेताले भने । महन्त ठाकुर समूहले नयाँ पार्टी बनाउँदा केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना जसपामै बसेका थिए । त्यसमध्येका परशुराम खापुङ प्रदेश १ प्रमुख भएका छन् । बाँकी ३३ मध्ये २० जना आफूहरूसँग रहेको भट्टराई पक्षधरको दाबी छ । केन्द्रीय समितिमा पनि यादव अल्पमतमा रहेको दाबी छ । यसैकारण यादवले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाउन आनाकानी गर्ने गरेको आरोप लागेको छ । भट्टराईका पक्षमा महिन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, प्रदीप यादव, लालबाबु राउतलगायतका नेता रहेको दाबी गरिएको छ ।
अशोक यादव अझै स्पष्ट भएका छैनन् । अहिलेकै जस्तो कदमले आगामी चुनावमा एकलौटी टिकट वितरण गर्न सक्ने भय भट्टराई र उनी पक्षधर नेताहरूमा छ । ‘सामूहिक निर्णय र अधिकार बाँडफाँटमा यादव तयार भएनन् भने परिस्थिति जेसुकै हुन सक्छ’, केन्द्रीय कार्यकारिणी समितिका एक नेताले भने, ‘अहिले पनि यत्तिकै जाने हो भने स्थानीय, प्रदेश र संघको चुनावमा उनले पार्टी कब्जा गर्छन् ।’ नेता सुवेदीले भने पार्टी विभाजनको अवस्थामा नरहेको दाबी गरे । ‘पार्टी रूपान्तरणको दिशामा छ, विभाजनको दिशातिर बिल्कुल छैन,’ उनले भने ।
( कान्तिपुर दैनिक )
