
लमजुङ — २६ पुस २०७८
लमजुङ , निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छेडिएको छ । आयोजनाले ५.१ किलोमिटर मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेको हो । भूकम्प, नाकाबन्दी, कोरोना संक्रमण साथै हरेक बर्खायाममा आउने बाढीपहिरोसँग जुध्दै आयोजनाले सुरुङ छेड्ने काम पूरा गरेको हो । प्रवर्द्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमझीका अनुसार सुरुङ छेडिएपछि ढलान कार्य भइरहेको छ । ‘हामीले सफलतापूर्वक मुख्य सुरुङ खन्ने काम पूरा गर्यौं । यो महत्त्वपूर्ण हो,’ उनले भने । उनका अनुसार ४ महिनामा ढलान सकिन्छ । उनले आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सकिएको बताए । ‘हामीले सुरुमा भूकम्प र नाकाबन्दीको सामना गर्यौं । कोरोना र बाढीपहिरो सामाना गरिरहेका छौं’ उनले भने, ‘सबै विपत्तिको सामना गर्दै उठेका छौं । अब हामी निर्माण पूरा हुने तयारीमा छौं ।’ उनका अनुसार गत असारमा बाढीले बगाएको आयोजनाको बाध क्षेत्रको पुनःनिर्माणकार्य सुरु गरिएको छ । ‘बाढीले बाध र बाधसम्म जाने सडक बगायो । असारदेखि रोकिएको कार्य अहिले तीव्र बनाएका छौं’, उनले भने ।
उनले बाधक्षेत्रको निर्माणकार्य ३ महिनामा सकिने दाबी गरे । आयोजना निर्देशक अर्जुन गौतमका अनुसार सुरुङबाहेक १ हजार १ सय मिटर पेनस्टक पाइप जडान कार्य भइरहेको छ । विद्युत्गृहको सिभिल संरचना निर्माणकार्य पूरा भएर उपकरण जडान भइरहेको उनले बताए । आगामी जेठमा परीक्षण थालेर असारमा विद्युत उत्पादन गर्ने गरी अघि बढेको कम्पनीका प्रबन्ध निर्देशक रायमाझीले बताए । उनका अनुसार गत असार १ को राति दोर्दीखोलामा आएको बाढीले निर्माण कार्यतालिका नै प्रभावित बनाएको उनले बताए । पछिल्लो तालिका अनुसार आयोजनाले २०७६ फागुनदेखि विद्युत् उत्पादन गर्नुपर्ने थियो । ‘सुरुमा भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति, कोभिड–१९ को महामारीले निर्माणकार्य प्रभावित भयो । लकडाउन र निषेधाज्ञाले निर्माण सामग्री ढुवानी बन्द भयो । कामदार पनि भएन,’ आयोजना निर्देशक गौतमले भने, ‘सबै विपत्ति गरी १ वर्ष बढी समय निर्माण रोकियो । अहिले निर्माण कार्य सहज बन्दै छ ।’
प्रवर्द्धकको स्वलगानी (इक्विटी) पुँजी ३० प्रतिशत अर्थात् २ अर्ब ५० करोड रुपैयाँ रहेकोमा यसको १० प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँ जिल्लावासीले लगानी गरेका छन् । उत्पादन बढ्दा आयोजनाको लागत ८ अर्ब ८० करोड प्रक्षेपण गरिएको छ । यो प्रतिमेगावाट १६ करोड ३० लाख रुपैया हो । आयोजनामा बैंक लगानी ७० प्रतिशत छ । नदीको बहाव (रनअफ रिभर) प्रविधिको आयोजनाबाट वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन प्रक्षेपण गरिएको छ ।
उत्पादित विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुरबेंसी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको प्रसारण लाइन आयोजना आफैंले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहने छन् । ५ वटा टावर निर्माण सकिएको आयोजनाले जनाएको छ । दोर्दी गाउँपालिका–६, ताजे गाउँमाथि तुम्सीमा बाँध बाँधेर भूमिगत सुरुङमार्फत ल्याइएको पानीलाई लोदो र दोर्दी खोलाको दोभानमा खसालिनेछ । बाहिरी क्षेत्रबाट करिब ४ सय मिटरभित्र भूमिगत विद्युत्गृहमा खसालिएको पानीबाट विद्युत् उत्पादन गरिने छ । पानीलाई पुनः दोर्दी खोलामा पुर्याउन ४ सय मिटर टेलरेस निर्माण गरिएको छ ।
( कान्तिपुर दैनिक )
