
मोरङ — २६ पुस २०७८
मोरङ , प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने प्रदेश १ मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउन उच्च अदालत विराटनगरले आइतबार आदेश दिएको छ । उच्चका न्यायाधीशद्वय तेजनारायण सिंह राई र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबारको पेसीमा मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउने आदेश दिएका हुन् । यसका साथै प्रदेश मन्त्रिपरिषद्ले सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मालाई खारेज नगरी यथास्थितिमा राख्ने उच्च अदालतको पुस १४ को निर्णयलाई समेत पुस २७ सम्मका लागि निरन्तरता दिन आदेश दिएको हो । निवेदक शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ को कार्यकारी निर्देशकको पदबाट मुक्त गर्ने गरी कुनै निर्णय गरेको वा पत्र जारी गरेको भए उक्त निर्णय पुस २५ सम्म कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूको एकल इजलासले पुस १४ मा नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को नाममा आदेश दिएका थिए ।
निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोसमेत उल्लेख गरी सूचना प्राप्त भएको मितिले १५ दिनभित्र विपक्षीले मुख्य न्यायाधिवक्ताको कार्यालय प्रदेश १ विराटनगरमार्फत लिखित जवाफ लिई आउन आदेश गरेको थियो । उक्त आदेशअनुसार प्रदेश सरकारले लिखित जवाफ पेस गरेपछि मन्त्रिपरिषद्को सक्कल निर्णय लिएर आउन पुस २७ मा पेसी तोकिएको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले गठन गरेको प्रतिष्ठान मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्को मंसिर ९ को बैठकले खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को २०७७ पुस ६ को निर्णयले शर्मालाई चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मुख्यमन्त्री राई नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णयमा पनि उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नसमेत आदेश दिइसकेको हो ।
( कान्तिपुर दैनिक )
