
भैरहवा — २५ पुस २०७८
भैरहवा , निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । विमानस्थलको निरीक्षण गर्दै उनले परीक्षण उडान गरिएको दुई महिनाभित्र विमानस्थल सञ्चालनमा ल्याइने दाबी पनि गरे । अहिलेको मौसममा सुधार आउनासाथ परीक्षण उडान सुरु गरिने उनको भनाइ छ । ‘विमानस्थल चाँडो सञ्चालन गर्न हामी आतुर छौं,’ उनले भने, ‘मौसममा आएको खराबीका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानमा ढिलाइ भएको हो ।’ मौसम सफा भएको साता दिनमै परीक्षण उडान गरिने उनले बताए । ‘केही समयअघि भारत भ्रमणका क्रममा मैले भारतीय समकक्षीसँग छोटो हवाई रुट अनुमति दिन आग्रह गरिसकेको छु,’ उनले भने, ‘उताबाट काम टुंगिँदै जान्छ ।
यता हामीले सबै काम समयमै सक्नुपर्छ ।’ छोटो हवाई रुट दिन भारतीय नागरिक उड्डयनमन्त्री सकारात्मक रहेको र सहयोग गर्न पनि तयार रहेको उनको दाबी छ । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसमक्ष छलफल गर्ने तयारी गरे पनि कोरोना संक्रमण बढेपछि भ्रमण रद्द भएको उनले बताए । परीक्षण उडान गर्ने जिम्मेवारीसहित ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै परीक्षणमा ढिलाइ गरेपछि नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक पहिलो साता भारतको ‘एयरपोर्ट अथोरिटी अफ इन्डिया’सँग परीक्षण उडान गर्ने विमान ल्याउने सम्झौता तयारी गरेको थियो । मन्त्री आलेले अब ढिलाइ नगर्न आयोजना र ठेकेदारलाई निर्देशन दिए । स्थलगत निरीक्षणका क्रममा मन्त्री आलेले अहिलेको टर्मिनल भवनको क्षमता निकै कम भएको बताए । आयोजनाका अनुसार टर्मिनल भवनको क्षमता ४ सय जना अट्न सक्ने छ ।
विमानस्थल बनेपछि लुम्बिनी क्षेत्रमा पर्यटकको ओइरो लाग्ने मन्त्री आलेको भनाइ छ । आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहे पनि आईसीबी टूअन्तर्गतका उपकरण जडानको काम सकिएको गौतम बुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘परीक्षण उडानका लागि विमानस्थल तयार भएको छ,’ उनले भने, ‘अबको मुख्य काम भनेको परीक्षण उडान नै हो ।’ आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सकिएको छ । विमानस्थलको भौतिक संरचना निर्माणको काम भने चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले गरिरहेको छ । आयोजनामा अब केही निर्माण र फिनिसिङका काम मात्र बाँकी छन् ।
( कान्तिपुर दैनिक )
