Fast Nepal News

घरभाडा र पेन्सनबाट दुर्गममा सहयोग

banner single news

सिन्धुपाल्चोक — २५ पुस २०७८

सिन्धुपाल्चोक , चाउरी परेका गाला, जीर्ण शरीर । अब उनमा कुनै रहर बाँकी छैन, शरीरमा प्रेसर, सुगर, दमजस्ता अनेकन् रोग समस्याले बिरामी परिरहिन्छन् । तरचौतारा साँगाचोकगढी नगर वडा–१ स्याउले गाउँकी ७७ वर्षीया पदमकुमारी कार्की झोला बोकेर जिल्लाको तीन नगर र नौ गाउँपालिकाको दुर्गम भेगका विद्यालय, वृद्ध, बालबालिका आश्रममा सहयोग गर्न धाइरहेकी हुन्छिन् । पदमकुमारीको आम्दानीको स्रोत हो, काठमाडौं सुकेधारास्थित दुईतले घरको भाडा र श्रीमान्को फौजी पेन्सन । उनी आफ्नो आम्दानी सामाजिक क्षेत्रको सहयोगमा खर्चिन्छिन् । दुर्गम इलाकाका ७ विद्यालयलाई आठ वर्षयता उनले वार्षिक चार लाख बराबरको लत्ताकपडा, झोला र शैक्षिक सामग्री वितरण गरिरहेकी छन् ।

केही वृद्धाश्रममा पनि वार्षिक १० हजार बराबरको सहयोग गरिरहेकी छन् । पदमकुमारी बुधबार जुगल–७ हगाम गाउँ पुग्दा बालबालिकाले ‘हजुरआमा आउनुभो’ भन्दै अँगालो हाले, वरिपरि घेरिएर गाला मुसार्दै स्नेह पोखे । उनले झोला, लत्ताकपडा र चकलेट हगामस्थित पञ्चकन्या माध्यमिक विद्यालयका बालबालिकालाई बाँडिन् । ‘यी भगवान्रूपी निर्दोष बालबच्चाले हजुरआमा भन्दै माया गर्छन्, मेरो परिवार यही हो, मलाई यति भए पुग्छ,’ उनले भनिन् । सेनामा जागिरे श्रीमान् लीलाबहादुर बितेपछि उनी एक्लो छिन् । उनले २०६३ सालमा पदम–लीला प्रतिष्ठान खोलेर वृद्धाश्रम र बालगृहलाई सहयोग गर्न थालेकी हुन् ।          

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.