Fast Nepal News

कांग्रेसका ५ भ्रातृ संघ नेतृत्वविहीन

banner single news

काठमाडौँ — २३ पुस २०७८

काठमाडौँ , कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित र मनोनीत भएपछि प्रमुख ५ भ्रातृ संघ स्वतः नेतृत्वविहीन भएका छन् । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका अध्यक्ष केन्द्रीय सदस्य भएपछि पार्टीको विधानअनुसार उनीहरूको पद रिक्त भएको हो । तर उनीहरूले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छैनन् । विधानको धारा ४२ मा भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुने उल्लेख छ । पार्टीको गत महिना सम्पन्न १४ औं महाधिवेशनबाट तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना र नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य निर्वाचित भएका छन् । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी र नेपाल दलित संघका महाधिवेशन आयोजक समिति संयोजक मीन विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

युवा जमातलाई संगठित गर्ने तरुण दल भने अस्तित्व रक्षाको अवस्थाबाट गुज्रिरहेको छ । पोखरामा २०७३ मंसिरमा भएको महाधिवेशनबाट जितजंग बस्नेतको अध्यक्षतामा उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ रहेको अपूरो कार्यसमिति बनेको थियो । विधानमा ९५ सदस्यीय कार्यसमितिको व्यवस्था भए पनि पार्टी नेताहरूबीचको भागबन्डामा ४ जनालाई राखेर कार्यसमिति घोषणा गरिएको थियो । अहिले अध्यक्ष बस्नेत पार्टी केन्द्रीय सदस्य भएका छन् भने विवादका कारण महासचिव शाही पनि जिम्मेवारीमा छैनन् । ‘केन्द्रीय कार्यसमितिले पूर्णता नपाएरै नियमित कार्यकाल सकियो, अहिले पार्टीले म्याद थपेर तरुण दलको अस्तित्व जीवित राख्ने काम गरेको छ,’ उपाध्यक्ष चापागाईंले भने । नियमित कार्यकाल सकिएपछि पार्टीले कार्यसमितिको म्याद ३ पटक थपेको र पछिल्लो म्याद चैत १५ सम्म रहेको उनले बताए । पार्टीमा नेतृत्व उत्पादनको ‘नर्सरी’ मानिने नेविसंघको २०७३ साउनमा भएको अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महरको कार्यसमितिलाई पार्टीले ७ महिना कार्यकाल बाँकी रहँदै भंग गरेको थियो । तर १ वर्षसम्म पनि न त अर्को अधिवेशन गरियो न त तदर्थ समिति नै गठन गरियो ।   
६ महिनाभित्र अधिवेशन गर्ने गरी २०७६ साउनमा राजीव ढुंगानाको नेतृत्वमा २ उपाध्यक्ष र ८ महामन्त्रीसहितको तदर्थ समिति बनाइयो । तदर्थ समितिको पटक–पटक म्याद थपिए पनि अधिवेशन हुन सकेन । अहिले अध्यक्ष नै पार्टी केन्द्रीय सदस्य बनेछि नेविसंघ नेतृत्वविहीन बनेको छ । ‘विगतमा पार्टीको मूल नेतृत्वदेखि अन्य नेताहरूसमेत आफ्नो स्वार्थअनुरूप विधान चलाउने र भागबन्डा गर्ने काममा लाग्दा भ्रातृ संघहरू कमजोर भए,’ पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेविसंघका पूर्वअध्यक्ष महरले भने । करिब ३ वर्षदेखि नेविसंघमा सदस्यता वितरणसमेत हुन नसकेको उनले बताए । नेपाल महिला संघमा एकै पटक ४ पद रिक्त भएको छ । अध्यक्ष रेग्मी केन्द्रीय सदस्य मनोनीत हुँदा उपाध्यक्ष सरस्वती अर्याल, महासचिव मन्जु खाँण र कोषाध्यक्ष जानकी सिंह महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । ६ जना पदाधिकारीमध्ये महासचिव धना खतिवडा र सचिव उषा रावत मात्र पार्टी विधानअनुसार आफ्नो पदमा कायम छन् । महासचिव खतिवडाका अनुसार संघको ४ वर्षे कार्यकाल सकिएपछि पार्टीले तेस्रो पटक ६ महिनाका लागि साउन १७ सम्म म्याद थपेको छ । ‘कार्यसमितिको म्याद बाँकी रहे पनि पार्टी विधानअनुसार नेतृत्व स्वतः रिक्त भएपछि के गर्ने भन्ने अन्योल सिर्जना भएको छ,’ उनले भनिन्, ‘पार्टीले छिट्टै केही न केही निर्णय गर्ला भन्ने विश्वासमा छौं ।’ नियमित कार्यकाल सकिएर म्याद थप भएका नेपाल दलित संघ र नेपाल मुस्लिम संघमा पनि नेतृत्वविहीन भएपछि अन्योल भएको छ ।                 

नेपाल दलित संघका महाधिवेशन आयोजक समिति संयोजक विश्वकर्माले आफू संघको अध्यक्षभन्दा पनि महाधिवेशन गर्ने जिम्मेवारीमा रहेको बताए । ‘दलित संघको विधान पार्टीले स्वीकृत गरेको छैन, त्यसैले मलाई महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘त्यसैले मैले दलित संघको जिम्मेवारीबाट अलग हुनेभन्दा पनि महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने सोचिरहेको छु ।’ उनका अनुसार नेपाल महिला संघ र नेपाल किसान संघको पनि विधान स्वीकृत भएको छैन । पार्टी केन्द्रीय सदस्य भएपछि स्वतः पदमुक्त भएका शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले भने जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा पुस १३ मा बसेको पदाधिकारी बैठकले उपमहासचिव भीष्मराज ओझालाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ । पार्टी विधानको धारा ४२ मा कांग्रेसको आदर्श, उद्देश्य र सिद्धान्तलाई मान्ने वर्गीय वा अन्य रचनात्मक क्रियाकलापमा संलग्न संस्थालाई केन्द्रीय कार्यसमितिले निर्णय गरी भ्रातृ संघको मान्यता दिन सक्ने उल्लेख छ ।

सोही व्यवस्थाअनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज गरी १३ संस्थालाई भ्रातृ संघको मान्यता दिएको छ । विधानको धारा ४२ (१) (च) मा भ्रातृ संघले विधानमा उल्लेखित अवधिमा केन्द्रीय अधिवेशन हुन नसके केन्द्रीय समिति स्वतः विघटन हुने उल्लेख छ । सोही धाराको १ (छ) मा पार्टीको केन्द्रीय कार्यसमितिले भ्रातृ संघको विघटन वा पुनर्गठन गर्न सक्ने भनिएको छ । नेपाल भूतपूर्व सैनिक संघ र नेपाल राष्ट्रिय मगर संघबाहेक अन्य भ्रातृ संघको विधानमा उल्लेखित कार्यअवधि समाप्त भइसकेको छ । नेपाल किसान संघको त एक दशकदेखि अधिवेशन हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार म्याद सकिएका ११ वटै भ्रातृ संघलाई पार्टीले म्याद थपेर सक्रिय बनाइरहेको छ । ‘विधानको व्यवस्थाअनुसार समयमै अधिवेशन गर्न नसकेका भ्रातृ संघहरूको म्याद थपेर सक्रिय बनाउने काम भइरहेको छ,’ उनले भने, ‘अब पार्टीको महाधिवेशन भइसकेकाले भ्रातृ संघले पनि अधिवेशन गरेर नयाँ गति लिन्छन् ।’

Inside Article Ads

गतिशील बनाउन गृहकार्य सुरु गरिसक्यौं : महामन्त्री थापा

पार्टी महामन्त्री गगन थापाले भ्रातृ संघलाई गतिशील बनाउन गृहकार्य सुरु भइसकेको बताएका छन् । दुवै महामन्त्री (विश्वप्रकाश शर्मासमेत) ले सोमबार सभापति देउवालाई भेटेर भ्रातृ संघलाई वैधानिक तबरले सक्रिय बनाउन छलफल गरेको उनले जानकारी दिए । ‘सभापतिले भ्रातृ संघको अवस्था र तत्काल तिनीहरूलाई सक्रिय बनाउन के–के गर्नुपर्छ भनेर गृहकार्य गर्न दुइटै महामन्त्रीलाई भन्नुभएको छ,’ उनले भने, ‘हामीले अन्य पदाधिकारीसँग समेत छलफल गरी भ्रातृ संघको समस्यालगायत तत्काल गर्नुपर्ने अन्य कामको तयारी थालेका छौं ।’ महामन्त्री थापाका अनुसार भ्रातृ संघभित्र दुईखाले समस्या देखिएका छन् । एउटा– अध्यक्ष नै पार्टीको केन्द्रीय कार्यसमितिमा गएपछि विधानतः निम्तिएको जटिलता र अर्को– वर्षौंदेखि अधिवेशन नहुँदा देखिएको वैधानिक समस्या । ‘यी दुवै समस्यालाई मध्यनजर गर्दा जतिसक्दो छिटो भ्रातृ संघहरूको अधिवेशन गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.