Fast Nepal News

प्रधानमन्त्रीसँग म कुरा गर्छुभन्दा ओलीजीले कुरा अन्तै मोड्नुभयो : पौडेल

banner single news

काठमाडौँ — २२ पुस २०७८

काठमाडौँ , सत्ता गठबन्धन पाँच दल आबद्ध उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । पौडेलले लामो समय संसद् अवरुद्ध बन्दा जनताको सरोकारका विषय र विकासका मुद्दा ओझेलमा परेको बताउँदै राजनीतिक निकासका लागि ओलीसँग आग्रह गरेका हुन् । उनको आग्रहमा ओलीले आफ्ना पुरानै भनाइ दोहोर्‍याएको पौडेलले बताए ।

‘संसद् प्रतिपक्षी दलको हो, लामो समय संसद् बन्द हुँदा मुलुक नै अस्तव्यस्त बन्न पुग्यो, एउटा राजनीतिक विषयलाई इगोको रूपमा लिएर मुलुकलाई पछि धकेल्ने काम गर्न भएन, यो अप्ठ्यारो र दुरवस्थाबाट अघि बढ्नुपर्छ, संसद्लाई सुचारु पार्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको पनि हो,’ पौडेलले ओलीसँग राखेका भनाइ उल्लेख गर्दै भने, ‘तर उहाँले पुरानै कुरा दोहोर्‍याउनुभयो ।’ ओलीले सभामुखले गल्ती नसच्याएसम्म संसद्को गतिरोध नखुल्ने संकेत गरेका थिए ।  आफ्नो पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस नगरेर सभामुखले राजनीतिक पूर्वाग्रह लिएको उल्लेख गरेका थिए । पौडेलले सांसदमाथिको कारबाहीको विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अब त्यसैलाई इगो बनाएर संसद्को गतिरोध जारी राख्न नहुने बताएका थिए ।

Inside Article Ads

उनले बहुचर्चित एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा एमालेको सहयोगको अपेक्षा राखेका थिए । देउवासँग सल्लाह गरेरै ओलीसँग भेट्न पुगेका पौडेलले एमसीसीका विषयमा एमालेको प्रस्ट धारणा ल्याउन आग्रह गरेको बताए । ओलीले यस विषयमा प्रधानमन्त्रीले आफूसँग कुरा गर्न नआएको भन्दै गुनासो गरेका थिए । ‘तपाईंको धारणा के छ प्रस्ट भन्नुहोस्, प्रधानमन्त्रीसँग म कुरा गर्छुभन्दा ओलीजीले कुरा अन्तै मोड्नुभयो,’ पौडेलले भने, ‘प्रतिपक्षले जिम्मेवारीबोध गर्नुपर्छ । अब पनि संसद् अवरोध जारी राख्नु अति हुन्छ । कहीँ न कहीँ गएर निकास नदिने हो भने राजनीतिक दल गैरजिम्मेवार भएको ठहर्छ । संसद्लाई समस्याको होइन, समाधानको थलो बनाइनुपर्छ ।’    

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.