Fast Nepal News

देउवाका सबै कार्यक्रम गुजरातमा

banner single news

नयाँदिल्ली, काठमाडौं — २२ पुस २०७८

नयाँदिल्ली, काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको आइतबारबाट हुने तीनदिने भारत भ्रमण भारतीय समकक्षी नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा केन्द्रित हुने भएको छ । देउवा गुजरातको गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन त्यसतर्फ लागेका हुन् । यो राजकीय भ्रमण होइन ।  देउवा भ्रमणको कार्यतालिका औपचारिक रूपमा आइसकेको छैन । स्रोतका अनुसार समिटकै दौरान देउवाले भारतीय समकक्षी मोदीसँग साइडलाइन भेटवार्ता गर्नेछन् । उनी दिल्ली हुँदै गुजरात जाने कार्यक्रम छ । देउवाले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो भ्रमणबारे मन्त्रीहरूलाई जानकारी दिएका थिए । ‘उहाँले रासायनिक मल आयात, ऊर्जा व्यापार, हवाई रुट, सीमालगायत विषयमा भारतसँग कुरा गर्नुपर्ने बताउँदै सम्बन्धित मन्त्री र सचिवलाई तयारीका लागि निर्देशन दिनुभएको छ,’ एक मन्त्रीले भने । 

लिम्पियाधुरा, कालापानीका विषयमा नक्सा विवाद उत्पन्न भएपछि दुई देशबीच उच्चस्तरीय औपचारिक भ्रमण आदानप्रदान भएको थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा तीनदिने भारत भ्रमण गरेका थिए । त्यसअघि प्रधानमन्त्री रहेका देउवाले २०७४ भदौमा पाँचदिने राजकीय भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने ७ वर्षे कार्यकालमा ३ पटक नेपाल भ्रमण गरेका छन् । देउवा र मोदीबीच दुई महिना अगाडि कोप–२६ को सन्दर्भमा स्कटल्यान्डको ग्लास्गोमा भेट भएको थियो । त्यहाँ एकले अर्कालाई भ्रमणको निम्तो दिएका थिए । यो भ्रमणलाई दुवै मुलुकले सम्बन्ध सुधारका रूपमा लिएका छन् । केही समय पछाडि मोदीको पनि नेपाल भ्रमण हुने आकलन गरिएको छ । नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार देउवा नेतृत्वको प्रतिनिधिमण्डल दिल्ली पुग्ने जनाइएको छ ।

नेपाल एयरलाइन्सले सबै यात्रुलाई ओरालेपछि देउवा त्यही विमानमा गुजरातका लागि प्रस्थान गर्नेछन् । भाइको उपचारका क्रममा दिल्लीमा रहेकी देउवापत्नी आरजु राणा दिल्ली विमानस्थलबाट टोलीमा सामेल हुने सम्भावना छ । नेपाली टोलीमा प्रधानमन्त्री, उनकी पत्नी, स्वकीय सचिवालय, परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र र अर्थसचिव, मन्त्रालय र दूतावासका अन्य अधिकारी तथा केही उद्योगी, व्यवसायी हुनेछन् । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाका चार तथा प्रहरी र अनुसन्धानका एक–एक गरी ६ सुरक्षाकर्मीलाई भ्रमण दलमा राखिएको परराष्ट्रका अधिकारीले बताए । ‘प्रधानमन्त्रीले टोली सानो बनाउन निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘तर सरकारी मिडियाका केही प्रतिनिधिसमेत गरेर टोली २२/२४ जनाको हुन सक्छ ।’

Inside Article Ads

भारतीय प्रधानमन्त्री मोदीले पुस २६ मा समिट उद्घाटन गर्नेछन् । उद्घाटन सत्र अपराह्न २ देखि साढे ५ बजेसम्म हुनेछ । देउवाले उद्घाटन सत्रमा सम्बोधन गर्नेछन् । मोदीले गुजरातको मुख्यमन्त्री भएका बेला लगानी आकर्षित गर्न सन् २००३ मा भाइब्रेन्ट गुजरात कार्यक्रम प्रारम्भ गरेका थिए । नेपालको सेमिनार पहिलो दिन नै बिहान साढे १० देखि १२ बजेसम्म हुनेछ । देउवाले यही मौकामा भ्रमणलाई राजकीय बनाउन चाहेका थिए तर भारतले स्वीकार नगरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा सहितको टोली भ्रमणको तेस्रो दिन गुजरातमा रहेको प्रसिद्ध मन्दिर सोमनाथको दर्शनमा जाने र पुस २८ मा दिल्ली हुँदै काठमाडौं फर्किने कार्यक्रम छ । भ्रमणबारे आधिकारिक जानकारी दुवै मुलुकले एक साथ बाहिर ल्याउने तयारी भइरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.