
दैलेख — २१ पुस २०७८
दैलेख , जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना भएका छन् । कुनै वडा त २ वटासम्म स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर बिरामीले केही न केही औषधिको अभाव खेपिरहेकै हुन्छन् । अस्पताल वा स्वास्थ्यचौकीमा औषधि नपाइएपछि निजी मेडिकलबाट औषधि किन्नुपर्ने बाध्यता बिरामीले लामो समयदेखि भोग्दै आइरहेका छन् । त्रिवेणी गाउँपालिका–७ की रमिला खड्काले गाउँकै स्वास्थ्यचौकीमा औषधि नपाइँदा मेडिकलको भर पर्नुपरेको बताइन् । ‘घर नजिक त स्वास्थ्य चौकी छ,’ उनले भनिन्, ‘तर जुन औषधि आवश्यक पर्यो, त्यही औषधि कहिल्यै पाइँदैन ।’ स्वास्थ्य चौकीमा सामान्य समस्या लिएर जाँदा एउटा न एउटा औषधिको अभाव व्यहोर्नुपर्ने अवस्था कायमै मुसीकोट नगरपालिका–१२ का डिलबहादुर ओलीले बताए । स्थानीय तहले आफै औषधि खरिद गरेर दिने गर्छन् । समयमा औषधि खरिदको प्रक्रिया सुरु नहुने, सुरु भएपनि खरिद हुन ढिला हुनु, सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्याउन पनि समय लाग्ने भएकाले औषधिको अभाव हुने गरेको हो । बाँफिकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव सुनिल केसीले सबै स्वास्थ्यचौकीमा केही औषधिको अभाव भएको बताए ।
उनका अनुसार केही स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टीन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अतिआवश्यक औषधिको अभाव भएको छ । ज्वरो, आउँ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको उनले जानकारी दिए । ‘जुन औषधिको बढी माग हुन्छ,त्यहीकै अभाव बढी हुन्छ,’ उनले भने, ‘मौसम परिवर्तनका कारण बिरामीहरू पनि बढ्दा औषधि व्यवस्थापनमा केही समस्या भएको हो ।’ अभाव भएको औषधि मगाएको उनले जानकारी दिए । जिल्ला अस्पतालका डा.भिमकान्त जैसीले कतिपय नभइ नहुने औषधि पनि चाहिएका बेला नहुने समस्या रहेको बताए । ‘कतिपय औषधि नहुँदा अस्पतालले पनि किनेर चलाउने गरेको छ,’ उनले भने, ‘कहिलेकाहीं बिरामीले आफैं पनि मेडिकलबाट किन्नुपर्ने समस्या छ ।’
स्वास्थ्यकर्मीको पनि समस्या
( कान्तिपुर दैनिक )
