
काठमाडौँ — २१ पुस २०७८
काठमाडौँ , कांग्रेसका बाँकी रहेका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने भएको छ । यसअघि पुस २७ गते तय गरिएको अधिवेशन राष्ट्रिय सभा निर्वाचनका कारण मिति सारिएको बताइएको छ । केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले ती जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सार्ने निर्णय गरेको हो ।
‘माघ १२ गते मुलुकका सातवटै प्रदेशमा सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १२ गतेको निर्णयअनुसार जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन पौष २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचन माघ १५ गते शनिबारका दिन हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको १४औं महाधिवेशन सम्पन्नअन्तर्गत सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन बाँकी नै छ । यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको थिएन । बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशनसमेत सम्पन्न भइसकेको छ ।
( कान्तिपुर दैनिक )
