
सुनसरी — २२ पुस २०७८
सुनसरी , जंगल फँडानी भएपछि धरान बजार स्थापना भएको १२१ वर्ष पुगेको अवसरमा मंगलबारदेखि तीन दिनसम्म धरान दिवस (धरान उत्सव) सुरु भएको छ । धरान उत्सवको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । धरान उपमहानगरपालिकाको आयोजनमा धरान उत्सव सुरु भएको हो । धरान–१२ स्थित पब्लिक हाईस्कुलको मैदानमा सांस्कृतिक र्याली र झाँकीसहित विभिन्न व्यापारिक स्टल राखिएका छन् । प्रधानमन्त्री धरान उत्सवको उद्घाटन गर्दै धरानको प्रशंसा गरेका थिए । २ मिनेट मात्र बोलेर सम्बोधन टुंग्याएका उनले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्यापीठको उल्लेख्य सुधारको पक्षमा आफू रहेको बताए । उनले धरानलाई शिक्षा, स्वास्थ्य, सांस्कृतिक र खेलकुदको हव बनाउन पहल गर्ने बताए । एक अर्को प्रसंगमा प्रम देउवाले समस्याग्रस्त रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
यसअघि देउवा विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए । बिहान नेपाली सेनाको हेलिकोप्टरमा धरान आइपुगेका देउवाले धरान २ मा नवनिर्मित नेपाली कांग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेका थिए । देउवाले पार्टीको भविष्य बनाउन एकता जरुरी भएको बताए । उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए । उनले पार्टी एकताको सुरुवात धरानबाट हुने पनि उनले अपेक्षा राखे । पार्टी कार्यालय उद्घाटनमा उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । उनले वामपन्थीगढ धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने लागेको तर स्थानीय तहको निर्वाचनमा लालकिल्ला ढालेर कांग्रेसले झन्डा गाडेको बताए । धरान आएको अवसरमा प्रम देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरे ।
( कान्तिपुर दैनिक )
