
अछाम — २२ पुस २०७८
अछाम , ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । प्रसूति गराउनका लागि बनाइएका बर्थिङ सेन्टरमा मापदण्डअनुसारका सामग्री छैनन् । जसको मार सर्वसाधारण सेवाग्राहीलाई परिरहेको छ । मंगलसेन नगरपालिका–१३ मा रहेको स्वास्थ्य चौकी एक प्रतिनिधि स्वास्थ्य संस्था हो । एक वर्षअघि मात्रै उक्त वडा सडक सञ्जालसँग जाडियो । तर ग्रामीण भेगका नागरिकका दुःख भने जस्ताको तस्तै छन् । जीर्ण अवस्थाको भवनमा रहेको स्वास्थ्य संस्थामा भवनमा न त औषधि पाइन्छ । न त प्रभावकारी जाँच नै हुन्छ । साविकको बस्ती गाविसमा मुख्य तीन गाउँ छन्, बस्ती, डाँडीगडे र बाँडा । वडा केन्द्रका रूपमा रहेको बस्तीमा पुग्न डाँडीगडेबाट ३ घण्टा लाग्छ भने बाँडाबाट ५ घण्टा लाग्छ । स्वास्थ्य चौकी पनि बस्तीमै छ । स्थानीयका अनुसार बाँडा र डाँडीगडेबाट सुत्केरी हुन आउने धेरै महिलाले बाटोमै बच्चा जन्माएका छन् ।
‘बाँडाबाट बस्ती आउन स्वस्थ मान्छेलाई नै पाँच घण्टा लाग्छ । सुत्केरी व्यथा लागेका महिलालाई धेरै जोखिम छ,’ स्थानीय सुनिता नेपालीले भनिन्, ‘मेरो कान्छो छोरा बाटोमै भएको हो । बर्थिङ सेन्टरमा आउनका लागि बाँडाबाट आएकी थिएँ, स्वाथ्य चौकी पुग्न नपाई जंगलमै सुत्केरी भए । त्यो दिन भाग्यले बाँचियो ।’ उनका अनुसार स्वास्थ्य चौकीमा सुत्केरी हुन आए पनि स्वास्थ्यकर्मी भेटिँदैनन् । ‘गाउँमा सडक भरखर पुगेको छ । तर गाडी भने समयमा पाइँदैन । बिजुली छैन । अरू समस्या त कति छन् कति । सबैभन्दा बढी महिलाले नै दुःख पाउने गरेका छन्,’ वडा सदस्य सरु धीमले भनिन्, ‘बाँडा, डाँडीगडेका महिलालाई सुत्केरी हुन टाढा जानुपर्छ, सहज छैन भनेर पटकपटक वडाको बैठकमा पनि कुरा राख्छु । हाम्रो कुरा कोही सुनिदिँदैनन् । न त स्वास्थ्य चौकीमा सुविधा छ ।’
अव्यवस्थित स्वास्थ्य चौकी
जिल्लाको चौरपाटीमा १२ वर्षदेखि निर्माण सुरु भएको स्वास्थ्य भवन, मष्टाबन्डाली, तुर्माखाद,, धमाली, रहफ, पुल्लेतोला, बैजनाथ र कालागाउँका स्वास्थ्य चौकी भवनसमेत अलपत्र अवस्थामा रहँदा यी ठाउँमा रहेका स्वास्थ्य संस्थाले गुजाराकै भरमा सेवा दिइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अछाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था र क्लिनिक गरी अछाममा ५ सय ८१ स्वास्थ्य संस्था छन् । तीमध्ये आफ्नै स्वामित्वमा जग्गाधनी भएका स्वास्थ्य संस्था ७४, आफ्नै भवन भएका ९१, खानेपानीको उपलब्धता भएका ५४, टेलिफोन सेवा उपलब्धता भएका स्वास्थ्य संस्था ३५ मात्रै छन् ।
( कान्तिपुर दैनिक )
