
काठमाडौँ — २० पुस २०७८
काठमाडौँ , नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् । दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
( कान्तिपुर दैनिक )
