
सल्यान — १९ पुस २०७८
सल्यान , कुमाख गाउँपालिका–६ की १८ वर्षीया एक युवतीले एक साताअघि जिल्ला अस्पतालमा छोरा जन्माइन् । १४ वर्षको उमेरमा विवाह गरेकी उनले ४ वर्षमै तेस्रो सन्तानलाई जन्म दिएकी हुन् । तर यसअघि जन्म दिएका २ सन्तानको मृत्यु भइसकेको छ । छत्रेश्वरी गाउँपालिका–६ की १९ वर्षीया युवतीले पनि ३ सन्तानलाई जन्म दिए पनि २ सन्तान जीवित भएनन् । बालविवाहको अवस्था भयावह भएको सल्यानमा पछिल्लो समय कलिलैमा आमा बन्ने प्रचलन बढ्दै गएको छ । जसका कारण आमा र शिशु मृत्युको जोखिम बढिरहेको छ । एक महिनाअघि छोरालाई जन्म दिएकी छत्रेश्वरी गाउँपालिका–६ की १७ वर्षीया एक किशोरीका २ सन्तान पनि खेर गएका छन् । ‘अब त शारीरिक रूपमा परिपक्व नभई बच्चा जन्माउँदिन,’ उनले भनिन्, ‘लगातार २ वर्ष गर्भ रहँदा शारीरिक अवस्था कमजोर भएको छ, सानो काम गर्न पनि समस्या हुन्छ ।’
जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोपिला रानाले जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेमध्ये करिब ५० प्रतिशत २० वर्षमुनिका हुने बताइन् । ‘यहाँ आउने किशोरी आमाको ज्यान त बच्छ, तर धेरैले शल्यक्रिया गरेर मात्र बच्चा जन्माउन सक्छन्,’ उनले भनिन्, ‘२० वर्षमुनि पाठेघर पूर्णरूपमा विकसित नहुँदा गर्भपतन हुने, पाठेघर खस्नेलगायत समस्या देखिने गरेका छन् ।’ देखासिकी, मोवाइलको दुरुपयोग, चेतनाको कमी, आफ्नो स्वास्थ्यप्रति गम्भीर नहुनुलगायत कारण किशोरीहरू कम उमेरमै सुत्केरी हुने गरेको जिल्ला अस्पतालका डा. अबिक बुढामगरले बताए । उनले जिल्ला अस्पतालमा दैनिक ८/१० जना महिला सुत्केरी हुनेमा २० वर्ष मुनिकाको संख्या कम्तीमा ३ जना हुने बताए । उनका अनुसार कम उमेरमा सुत्केरी हुँदा ‘नर्मल डेलिभरी’ नहुने समस्या बढी छ । उनले जिल्लामा प्रतिहजार महिलामा ४ महिला र ५ शिशु मृत्यु हुने गरेको जानकारी दिए । ‘भागीविवाहले कलिलैमा सुत्केरी हुने संख्या बढायो,’ उनले भने, ‘बालविवाह गर्नेहरूको जन्मान्तर पनि कम हुने गरेको छ ।’ शारीरिक रूपमा परिपक्व नभई विवाह गर्दा मानसिक समस्या आउने, पाठेघर खस्ने, गर्भपतन हुने, रक्तस्राव हुने, पाठेघरको क्यान्सर हुनेलगायत समस्या देखिरहेको उनी बताउँछन् ।
( कान्तिपुर दैनिक )
