Fast Nepal News

अर्घाखाँचीमा एमाले जिल्ला प्रतिनिधि सर्वसम्मत चयन

banner single news

अर्घाखाँची — १९ पुस २०७८

अर्घाखाँची , एमालेको आठौं जिल्ला अधिवेशनका लागि अर्घाखाँचीका ६ स्थानीय तहका ६१ वडा र शाखा सबैमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । पुस २३ गते जिल्ला अधिवेशन हुँदैछ । एमाले जिल्ला पार्टी कार्यालय सचिव लीला विकले सबै वडा प्रतिनिधि सर्वसम्मत छनोट भएको बताए । शाखा र वडाबाट गरी ४ सय ३६ जना प्रतिनिधि चयन भएका छन् । १ सय सदस्यीय जिल्ला कमिटीका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था छ । २७ जना प्रतिनिधि जिल्ला कमिटीको बैठकले मनोनीत गरेको छ । जिल्ला अधिवेशनका लागि ५ सय ६३ जना प्रतिनिधि छन् ।

एमालेको चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताए । ‘६१ वडाबाट ४० प्रतिशत युवा प्रतिनिधि सर्वसम्मत छनोट भएर आएका छन्,’ उनले भने, ‘जिल्लाको नेतृत्व पनि अब युवाकै काँधमा आउने निश्चित छ ।’ धेरैजसो नयाँ अनुहार प्रतिनिधिमा छनोट भएका छन् । २९ वर्षीय अर्जुन भुसाल सन्धिखर्क नगरपालिका–८ किमडाँडाबाट प्रतिनिधि चुनिए । ‘पहिलोपटक प्रतिनिधिमा सर्वसम्मत छनोट भएँ,’ उनले भने, ‘पार्टीमा जिम्मेवारी थपिएको महसुस भएको छ । अब पार्टीमै बसेर काम गर्छु ।’

Inside Article Ads

अखिलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य रहेका प्रदीप नेपाली पनि प्रतिनिधि छनोट भएका छन् । उनी पहिलोपटक वडाबाट प्रतिनिधि चुनिएका हुन् । विद्यार्थी राजनीतिमा सक्रिय नेपाली एमाले र माओवादी केन्द्र पार्टी एकीकरण हुँदा जिल्ला सदस्य थिए । ‘अहिले म सर्वसम्मत जिल्ला अधिवेशन प्रतिनिधि चुनिएको छु, अब जिल्ला उपसचिव पदमा उम्मेदवारी दिने तयारीमा छु,’ उनले भने, ‘समग्र युवापंक्ति र अग्रजको सल्लाहअनुसार अघि बढ्दैछु । एमाले पार्टी अब युवाले हाँक्ने हो ।’ जिल्ला अधिवेशन प्रतिनिधिमा ४० प्रतिशतभन्दा बढी युवा आएकामा आफूलाई सुखी लागेको उनले बताए ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.