Fast Nepal News

बसाइँसँगै सर्‍यो भुवो पर्व

banner single news

कञ्चनपुर, धनगढी — १९ पुस २०७८

कञ्चनपुर, धनगढी, हातमा तरबार र ढाल छ । सबैले दौरा सुरुवाल लगाएका छन् । गोलो घेरामा रहेका सबै पुरुषहरू युद्धकला देखाएजस्तै बाजाको तालमा खुट्टा चालिरहेका छन् । तरबारको प्रहारलाई ढालले छेकिरहेका छन् । झट्ट हेर्दा युद्धकलाको प्रदर्शन भइरहे जस्तो देखिन्छ । भुवो पर्वका अवसरमा आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा भुवो भस्सी खेलको आयोजना गरिएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीमा मनाइने यो पर्व बसाइँसराइसँगै तराईमा पनि खेल्न थालिएको हो । हल्दुखालमा चार दशकअघिसम्म भुवो भस्सी खेलिन्थ्यो । तर युवा पुस्ताले त्यसमा चासो दिन छाडेपछि भुवो खेल पनि लोप हुने अवस्थामा पुगेको थियो । ‘हल्दुखालमा चालीस वर्षपछि भुवोको रौनक आएको छ,’ भुवो संरक्षणमा लागेका हल्दुखालका स्थानीय लक्षिधन अधिकारीले भने, ‘भावी पुस्ताले भुवो खेल कस्तो थियो भन्ने अवस्था नआओस् भनेरसमेत यसको संरक्षण गर्नुपर्ने भएको छ ।’

पाण्डवले कौरवमाथि विजय गरेपछि भुवो पर्व खेलेको धार्मिक मान्यता छ । त्यसै बेलादेखि अस्त्यमाति सत्यको जीतका रूपमा यो पर्व मनाइन्छ । पुसे पूर्णिमाका दिन राँको बालेर भुवो बसाइन्छ । त्यसपछि औंसीको तेस्रो दिनदेखि भुवो भस्सी खेल्न सुरु गरिन्छ । औंसीको तेस्रो दिनदेखि सुरु भएको भुवो पर्व पुस मसान्त वा पूर्णिमाका दिनसम्म खेलिन्छ । ‘देउसीभैलो र होली खेलेजस्तै घरघरमा पुगेको भुवो भस्सी खेलिन्छ,’ ८० वर्षीय धनबहादुर अधिकारीले भने, ‘पहिले पहिले भुवो पर्वमा गाउँमा बेग्लै रौनकता हुन्थ्यो, अहिले त्यति खेल्ने पनि छैनन्, फेरि घरघरै खेल्न पनि जाँदैनन् ।’ हल्दुखालको सिद्ध सामुदायिक सेवा समितिले भुवो भस्सी खेलको आयोजना गरेको हो । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले खेलको उद्घाटन गरेका हुन् । भुवो पर्व बाजाको तालमा र गीत गाउँदै पनि खेलिन्छ । भुवो गीत भट्याउनुलाई माडा हाल्ने भनिन्छ । भट्याउने व्यक्तिलाई भस्यारा भनिन्छ । यसमा पाण्डव गाथा गाइन्छ । भाण्डवहरूले कौरवमाथि विजयी गर्दाको अवस्था र त्यसपछिका गतिविधिहरू यसमा समेटिन्छन् ।

Inside Article Ads

भुवो पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बझाङ, बाजुरा र अछाममा सार्वजनिक बिदा दिएको छ । तिनै जिल्लाबाट बसाइँ सरेर कैलाली र कञ्चनपुरमा पनि भुवो पर्व मनाउनेको संख्या बाक्लै भएका कारण यहाँ पनि सार्वजनिक बिदा दिनुपर्ने स्थानीय बताउँछन् । बाजुरा सेवा समाजको आयोजनामा आइतबार धनगढीमा भुवा पर्व मनाइएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङलगायत पहाडी जिल्लाको मौलिक पर्वका रूपमा रहेको यो पर्व हरेक वर्ष पुस औंसीबाट सुरु हुन्छ । मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्यले बाजुरा पुर्खौली घर भएकाहरूले भुवा पर्वको आयोजना गरिएको सेवा समाजका अध्यक्ष चेतन थापाले । भुवा पर्वका उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए । महाभारत कथाका पात्रहरू पाण्डव र कौरवको युद्ध गाथामा आधारित रहेको यस भुवा पर्वलाई पहाडी जिल्लामा स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् । दमाहाको तालसँगै एक हातमा ढाल र अर्को हातमा तरबार नचाएर खेलिने भुवा पर्वमा युद्धकालीन कौशलताको झल्को दिने गरेको छ । त्यही युद्धको सम्झना तथा पाण्डव पक्षको विजयको खुसियालीमा मनाउने परम्परा सुरु भएको बूढापाकाहरू बताउँछन् ।               

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.