Fast Nepal News

ओमिक्रोनको असर फोक्सोमा न्यून, घाँटीमा बढी

banner single news

लन्डन — १९ पुस २०७८

लन्डन, पछिल्लो समय विश्वभर द्रुत गतिमा फैलिरहेको 
कोभिड–१९ को संक्रामक भेरिएन्ट ओमिक्रोनले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम रहेको नयाँ अनुसन्धानले देखाएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनमा ओमिक्रोनले संक्रमित व्यक्तिको घाँटीमा समस्या उत्पन्न गरे पनि फोक्सोमा गम्भीर असर 
नगर्ने देखिएको हो । तीमध्ये चारवटा अध्ययनअनुसार यसअघिका डेल्टा वा अन्य भेरिएन्टले जस्तो ओमिक्रोनले मानिसको फोक्सोमा असर 
नगर्ने देखिएको बेलायती अखबारहरूले उल्लेख गरेका छन् । उक्त अध्ययन प्रतिवेदन अन्य वैज्ञानिकहरूले गहिरोसँग अध्ययन गर्न भने बाँकी रहेको जनाइएको छ । प्राध्यापक जेम्स स्टेवार्टका अनुसार युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्च ग्रुपले प्रकाशित गरेको प्रतिवेदनमा ओमिक्रोन मुसामा परीक्षण गर्दा असर निकै कम देखिएको पाइएको छ । मुसा ओमिक्रोनबाट संक्रमित गराउँदा तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको हो ।

‘यो एनिमल मोडल (मुसा) मा प्रयोग गरी प्रकाशित प्रारम्भिक अध्ययन प्रतिवेदन हो । ओमिक्रोनले उपल्लो श्वासप्रणाली नाक तथा घाँटीमा असर पुर्‍याउने, छिटोछिटो भाइरसको संख्या बढ्ने र छिटो सर्ने देखिएको छ,’ लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापाले कान्तिपुरसँग भने, ‘तर फोक्सोमा गम्भीर असर गरेको पाइएको छैन ।’ डा. थापाका अनुसार ओमिक्रोन फोक्सोको तन्तुमा भन्दा बढी नाक तथा घाँटीका कोषिकामा छिरेर रहिरहने, संख्या बढाउने र लक्षण देखाउने पाइएको छ । नाक तथा घाँटीमा रहिरहने भएकाले हाछ्युँ गर्दा अरूलाई छिटो सर्छ । डा. थापाले डिसेम्बरअघि र अहिलेको तुलना गर्दा अस्पताल भर्ना हुने बिरामी दोब्बर बढेको तर मृत्युदर निकै कम भएको बताए । ‘अहिले बेलायत, युरोप र अमेरिकातिर ओमिक्रोनकै संक्रमण बढी छ । ओमिक्रोनको स्पाइक 
प्रोटिनमा परिवर्तन आए पनि बुस्टर डोजका कारण मृत्युदर कम देखिएको छ,’ थापाले भने । बुस्टर डोजका कारण रोगप्रतिरोध क्षमता बढेपछि मृत्युदर न्यून देखिएको चिकित्सकहरूको विश्वास छ ।

Inside Article Ads

यसअघि बेलायतको स्वास्थ्य सुरक्षा नियकाले आफ्नो प्रारम्भिक अध्ययनमा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भएको र झन्डै ७० 
प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना हुन नपर्ने देखिएको बताएको थियो । डिसेम्बर २३ मा प्रकाशित इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन र विश्लेषणमा पनि डेल्टाभन्दा ओमिक्रोन छिटो सर्ने तर मानिसलाई असर कम गर्ने पाइएको थियो । ओमिक्रोन संक्रमण तीव्र फैलिइरहँदा बेलायतले कामदारको चर्को अभाव झेलिरहेको छ । फाइनान्सियल टाइम्सका अनुसार ओमिक्रोन संक्रमणपछि आइसोलेसन बस्दा अहिले निजी कम्पनीहरूमा झन्डै २५ प्रतिशत कामदार गयल भएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.