Fast Nepal News

अक्सिजन प्लान्ट निर्माण धमाधम

banner single news

बिर्तामोड — १८ पुस २०७८

बिर्तामोड , दमक अस्पलातमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना गरिएको हो । दमक नगरपालिका मातहत सञ्चालित अस्पतालमा विश्व बैंकको सहयोगमा प्लान्ट स्थापना गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । विश्व बैंकको ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेडनेस प्रोजेक्ट’ अन्तर्गत प्लान्ट स्थापना गरेको अधिकारीले बताइन् । प्लान्ट निर्माणको काम डेढ वर्षअघि सुरु गरिएको थियो । विश्व बैंकले युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेस (यूएनओपीएस) मार्फत प्लान्ट स्थापना गरेको हो । ‘कोरोनाकालमा अक्सिजनको अभाव झेल्नुपर्‍यो । एक सिलिन्डर अक्सिजनका लागि हजारौं रुपैयाँ बेहोर्नुदेखि कैयौं ठाउँ भौंतारिनुपर्‍यो,’ उपप्रमुख अधिकारीले भनिन्, ‘त्यो अवस्था फेरि आउन नदिन हामीले तत्काल अक्सिजन प्लान्ट स्थापनाको पहल सुरु गरेका थियौं । प्लान्ट राखेर सञ्चालनमा ल्याउन सफल भयौं ।’ अस्पतालका सबै १५ शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइनको व्यवस्था गरिएको छ । ‘प्लान्ट अस्पतालमै राखिएकाले उत्पादित अक्सिजन आवश्यक पर्ने बिरामीलाई सिधै प्रयोग गर्न मिल्ने गरी शय्यासम्मै पाइपलाइनको व्यवस्था गरेका हौं,’ उनले भनिन् ।

प्लान्टबाट पश्चिम झापा, पूर्वी मोरङ र दक्षिणी इलामका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने उनले बताइन् । प्लान्ट सञ्चालनका लागि २ जना दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छ । २ जना प्राविधिकसहित ३ वर्षसम्म प्लान्ट सञ्चालन एवं मर्मतसम्भारको व्यवस्थापन यूएनओपीएसले गर्ने सम्झौता छ । प्लान्टमा अक्सिजन उत्पादन गर्ने डबल मेसिन जडित रहेकाले नियमित अक्सिजन उत्पादनमा खासै समस्या नआउने अधिकारीले बताइन् । २०७३ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी १५ शय्याको दमक अस्पताल बनाइएको थियो । पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगरसमेत भएकाले दमक अस्पतालका लागि अहिले अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ । एक सय शय्याको क्षमता हुने गरी निर्माणाधीन अस्पतालमा पहिलो चरणमा ५० शय्या सञ्चालनार्थ प्रदेश १ सरकारमा प्रक्रिया अघि बढाएको उपप्रमुख अधिकारीले बताइन् ।

Inside Article Ads

दमक अस्पतालको अक्सिजन प्लान्ट जिल्लामा तेस्रो हो । यसअघि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । नेपाल मेडिकल एसोसिएसन र प्रदेश १ सरकारको सहयोगमा गरी दुइटा छुट्टाछुट्टै प्लान्ट स्थापना गरिएको छ । मेडिकल एसोसिएसनको सहयोगमा जडान गरिएको प्लान्टबाट दैनिक एक सय सिलिन्डर तथा प्रदेश सरकारको सहयोगमा जडान गरिएको प्लान्टबाट दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंकप्रसाद बाराकोटीले जानकारी दिए । सानो प्लान्ट प्रदेश सरकारको एक करोड बजेटबाट जडान गरिएको डा. बाराकोटीले बताए ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.