Fast Nepal News

बजार अनुगमनमा व्यवसायीको असहयोग

banner single news

रौतहट — १८ पुस २०७८

रौतहट , जिल्लाका विभिन्न बजारमा बेलाबेलामा अनुगमन हुने गर्छ । तर, अनुगमन टोली पुग्दा अधिकांश पसल बन्द हुन्छन् । अनुगमन टोली आउने जानकारी पहिले नै थाहा पाएपछि व्यवसायीले पसल बन्द गरेर भाग्दा अनुगमन हुन नै पाउँदैन । केही दिनअघि गरुडास्थित बजारमा स्थानीय प्रशासनको टोली पुग्दा व्यापारीहरू पसल बन्द गरेर लुके । उनीहरूले पहिले नै प्रशासन, राजस्व र घरेलु उद्योगको टोली अनुगमनमा आएको थाहा पाएका थिए । जिल्लाकै ठूलो व्यापारिक केन्द्र गरुडामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रवल कायस्थसहितको टोली पुगेको थियो । तर, टोली पुग्नुअगावै व्यापारी धमाधम सटर झारे । एकैछिनमा बजारमा सन्नाटा छायो । अधिकृत कायस्थले अनुगमन टोलीलाई सघाउनुपर्नेमा उल्टै व्यापारीहरू पसल बन्द गरेर भागेको देख्दा अचम्म लागेको बताए । ‘हामीले व्यापारीलाई धेरै अनुरोध गरेका थियौं । पसल खोलेर टोलीलाई हेर्न र जाँच गर्न दिनुस् भन्यौं,’ उनले भने, ‘कुनै व्यापारी सम्पर्कमा आएनन् । सबै लुकें ।’

अनुगमन टोली ३ वटा साना पसल हेरेर फर्किएको थियो । पसल बन्द गरेर लुक्ने व्यापारीविरुद्ध कारबाहीको प्रक्रिया सुरु गर्ने प्रशासनले जनाएको छ । प्रशासनले बेलाबेलामा मूल्यसूची, म्याद नाघेको समान छ/छैन, कर चुक्ता, पसल दर्तालगायत जाँच गर्दै आएको छ । यसैमा व्यापारीहरू चुकेकाले टोली आउने खबर पाएपछि पसल नै बन्द गरेर भाग्ने गरेको प्रशासनको ठम्याइँ छ । ‘अब पनि यस्तै रबैया भयो भने व्यापारीलाई जरिवाना गर्ने, पसलमा छुट्टै ताला लगाउनेजस्ता कारबाही थाल्छौं,’ अधिकृत कायस्थले भने, ‘नियमसंगत व्यवसाय गरेको छ भने भाग्न कुनै जरुरी नै छैन । व्यापारीहरू कुनै न कुनै कुरामा चुकेका छन् ।’ गरुडा बजारमा २ सय बढी व्यापारी छन् । घरेलु तथा साना उद्योग कार्यालय गौरका अधिकृत रिंकु जैसवालको टोली बुधबार जिल्लाको कटरिया बजार अनुगमनमा पुग्दा त्यहाँ पनि व्यापारीहरू पसल बन्द गरेर भागे । 
टोलीले बंकुल, मौलापुर, शिवनगरका पसलको अनुगमन गरेको थियो । व्यापारीहरू पसल बन्द गरेर भाग्न थालेपछि घरेलुले अर्को दिन गएर सम्झाएको थियो । घरेलु कार्यालय गौरका प्रमुख जयकान्त झाले व्यापारीहरू भाग्न थालेपछि फोनबाट बन्द नगर्न र भागेर समस्या समाधान नहुने भनेर सम्झाउने गरेको बताए । ‘व्यापारीलाई नभाग्नुस्, न लुक्नुस्, पसल बन्द नगर्नुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने, ‘कमीकमजोरी, गल्ती छ भने एकैचोटि कारबाही गरिहाल्दैनौं भनेर सम्झाएका छौं ।’

उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जैसवालले कुन चिजको अनुगमन गर्न आएको हो, आफ्नो पसलसित सम्बन्धित छ/छैन भन्ने नबुझेर बन्द गर्दा समग्र व्यापारीको बेइज्जत भएको बताए । ‘टोलीले पसलको बहीखाता लैजान्छन् । दुःख दिन्छन् भन्ने व्यापारीमा एकखालको डर छ,’ उनले भने, ‘यही डरले टोली आयो भने पसल बन्द गरेर लुक्छन् ।’ अध्यक्ष जैसवालका अनुसार वाणिज्य संघले मिटिङ राखेर व्यापारीलाई सम्झाउने गरेको छ । ‘बन्द गरेर समस्या नहुने, बन्द गर्दा सिंगो व्यापारीको अपमान हुन्छ भन्दै आएका छौं, अब उपरान्त कुनै हालतमा पसल बन्द नगर्न अनुरोध गरेका छौं,’ जैसवालले भने ।

Inside Article Ads

केही दिनअघि कर, स्थानीय प्रशासन, घरेलुको टोलीसहितले कार्यक्रम राखेर गरुडालगायतका बजारका व्यापारीलाई अनुगमनमा आउँदा आफ्नो पसल बन्द नगर्न र भए गरेको व्यापारको प्रगति र नियमसंगत छ/छैन देखाउन अनुरोध गरेको थियो । बन्द गरेर समस्या समाधान नहुने भन्दै सम्बन्धित निकायले व्यापारीलाई बारम्बार सम्झाउँदै आएको छ । गरुडा स्थानीय व्यापारी किशोर साहले विगतमा अनुगमनको नाममा पसलको बहीखाता सिल गरेर जाने अनि तारेखजस्तै धाउन बाध्य बनाउने गरेको गुनासो पोखे । ‘त्यसै पसल बन्द गरेर लुकेका होइनौं । केही हुँदैन भनेर सम्झाएर के गर्नु,’ उनी भन्छन्, ‘सानोतिनो कुरामा त्रुटि देखाएर दुःख दिने प्रवृत्तिका कारण सबै व्यापारी लुक्न थालेका हुन् ।’

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.