
(पर्सा) — १८ पुस २०७८
(पर्सा), माइती नेपाल वीरगन्ज आवधिक गृहले सन् २०२१ मा वीरगन्ज नाकाबाट १ सय ४३ जनाको उद्धार गरेको छ । संस्थाले भारतका विभिन्न स्थानबाट ५८ जना महिलालाई उद्धार गरेर स्वदेश फर्काएको छ । गृहकी प्रमुख संगीता पुरीका अनुसार वीरगन्जस्थित नेपाल–भारत सीमामा वर्षैभरि गरिएको सीमा निगरानी तथा गृहमा परेको उजुरीका आधारमा उनीहरूको उद्धार गरिएको हो । नेपाल तथा भारत प्रहरीको समन्वयमा भारतको रक्सौल, सुगौली, छौडादानो, आदापुर, बर्गिनिया, कोलकाता, मनिपुर र आसामबाट महिलाहरूलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । १ वर्षमा सीमामा १८ हजार ७ सय ५० जनालाई चेलीबेटी बेचबिखनविरुद्ध परामर्श दिइएको थियो । बारा र पर्साका अन्य निकायहरूबाट अलपत्र अवस्थामा फेला पारेर ३५ जनालाई गृहको जिम्मा लगाइएको थियो । यस अवधिमा गृहमा लैंगिक हिंसासम्बन्धी ३१ जनाले उजुरी दिएका थिए । ७१ जनाको खोजतलासका लागि गृहमा निवेदन परेको थियो । तीमध्ये ३० पर्सा, बारा र धनुषाका ६/६, सर्लाहीका ५ र अन्य जिल्लाका ११ जना थिए । निवेदन परेका ७१ मध्ये १९ जना फेला परेका थिए ।
( कान्तिपुर दैनिक )
