
कञ्चनपुर — १८ पुस २०७८
कञ्चनपुर , दुई वर्षदेखि सुनसान कञ्चनपुरको सीमावर्ती ब्रह्मदेव बजारमा फेरी चहलपहल सुरु भएको छ । कोरोना संक्रमण सुरु भएदेखि बजार सुनसान थियो । शनिबार भने यहाँ बेग्लै चहलपहल भयो । शुक्रबार साँझदेखि नै भारतीयहरूको भीड लाग्न थाल्यो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन ब्रह्मदेवमा पुरानै रौनकता देखियो । सुनसान रहेको ब्रह्मदेव बजार शनिबार गुल्जार बन्न पुग्यो । ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा दर्शन गर्नेदेखि बजारमा किनमेल गर्नेको भीड निकै लागेको थियो । यहाँका व्यवसायीहरूलाई दुई वर्षपछि पुरानो झल्को मात्रै दिएन व्यापारमा फर्किने उत्साह पनि दिएको छ । ‘नयाँ वर्षमा भीडभाड बढ्ने भएकाले लामो समयदेखि बन्द रहेका पसलहरू पनि खुलेका छन्,’ ब्रह्मदेवका व्यवसायी श्यामराज जोशीले भने, ‘थोरै भए पनि यहाँका व्यवसायीहरूलाई राहत पुगेको छ ।’ कोरोना संक्रमण सुरु भएसँगै व्यापार व्यवसाय बन्द भएपछि उनले पनि पसल बन्द गरेका थिए । शुक्रबारदेखि नै दर्शनार्थीको चहल पहल बढेपछि उनले पसल खोलेका हुन् ।
हरेक वर्ष अंग्रेजी नयाँ वर्षका दिन यहाँ सिद्धबाबाको दर्शन गर्न आउनेको भीड लाग्ने गर्छ । कोरोना संक्रमण सुरु भएयता यहाँ भारतीय दर्शनार्थी आउन बन्द भएको थियो । यस वर्ष संक्रमण केही कम भएपछि भारतीय दर्शनार्थीहरू आएका हुन् । ‘हरेक वर्ष पूर्णागिरि माताको दर्शनसँगै सिद्धबाबाको दर्शन गर्न आउँथ्यौं,’ भारत उत्तर प्रदेशको बरेली नजिकको सयदपुरबाट सिद्धबाबाको दर्शन गर्न आएका सयद सिंहले भने, ‘यो वर्ष केही सजिलो भएपछि आएका हौं ।’ उनको गाउँबाट ४० जना शुक्रबार पूर्णागिरि माताको दर्शनपछि सनिबार ब्रह्मदेवको सिद्धबाबा मन्दिर पुगेका हुन् । सिद्धबाबाको मन्दिर परिसर सनिबार दर्शनार्थीले भरिभराउ थियो । दर्शनका लागि ठूलो संख्यामा लाइन लागेका थिए । मन्दिरको चौरमा बालबालिकादेखि वृद्धवृद्धाहरू भरिएका थिए । यसले चैत/वैशाखमा लाग्ने पूर्णागिरि मेलाकै झल्को दिन्थ्यो । फागु पूर्णिमादेखि सुरु हुने यो मेलामा यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । एकै दिन दस/पन्ध्र हजार दर्शनार्थीहरू पुग्ने गरेका थिए । तर कोरोना संक्रमण सुरु भएदेखि दर्शनार्थी आउन बन्द भएको छ ।
‘भीडभाड त बढ्यो तर किनेमल गर्ने ग्राहक आएनन्,’ ब्रह्मदेवका व्यवसायी सिद्धराज पनेरुले भने, ‘यस पटक सीमावर्ती क्षेत्र आसपासकै मान्छे मात्रै आए, विगत जस्तो किनमेल गर्ने टाढाका मान्छे आएनन् ।’ उनका अनुसार विगतमा लखनउ, कानपुर, दिल्लीलगायत क्षेत्रबाट समेत दर्शनार्थीहरू आउने गर्थे । यो पटक नजिकैको टनकपुर, खटिमा, पिलिभित र बरेलीसम्मका दर्शनार्थी मात्रै आएका छन् । ब्रह्मदेव बजारमा विगतमा चिनियाँ सामग्रीहरूको व्यापार ठूलो मात्रामा हुन्थ्यो । लुगाकपडादेखि, जुत्ता चप्पल, छाता, विद्युतीय सामग्री र खेलौनाहरू भारतीयले निकै रुचाउँथे । नयाँ वर्षको एक दिन एउटै पसलमा एक/डेढ लाखको कारोबार हुने गरेका व्यवसायीहरू बताउँछन् । दुई वर्षदेखि यहाँको व्यवसाय ठप्प भएको छ । ‘अब चिनियाँ सामान सबै भारतमै पाउन थाल्यो, यताको व्यापार ठप्प भयो,’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘दुई वर्षपछि भए पनि अलिअलि चहलपहल देखिएको छ ।’ उनका अनुसार कोरोना संक्रमणका कारण ७ व्यवसायीहरू व्यापार छाडेर हिडेका छन् । कतिपय अहिले पनि ज्याला मजदुरी गरिरहेका छन् ।
( कान्तिपुर दैनिक )
