Fast Nepal News

कठ्यांग्रिएर दुई जनाको मृत्यु, जनजीवन कष्टकर

banner single news

बझाङ — १८ पुस २०७८

बझाङ , मंगलबारदेखि बिहीबारसम्म भएको हिमपातसँगै बझाङको तापक्रम निकै घटेको छ । चिसोका कारण दुई जनाको मृत्यु भएको छ । जनजीवन नराम्ररी प्रभावित बनेको छ । चिसोले कठ्यांग्रिएर छबिसपाथीभेरा–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी र सुर्मा गाउँपालिका–१ दौलिचौरका किट्टु बोहराको मृत्यु भएको छ । धामी अर्को गाउँबाट राति घर फर्कंदै गर्दा बिहीबार बिहान नौपाते भन्ने ठाउँमा मृत फेला परेका थिए । मंगलबार गुरेना भन्ने गाउँमा गएका बोहरा बिहीबारसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा पदाली भन्ने ठाउँमा हिउँमा पुरिएको अवस्थामा मृत भेटिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुवैको मृत्यु जाडोले कठ्यांग्रिएर भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले बताए । लगातार दुई दिनसम्म भएको हिमपातपछि बझाङका अधिकांश हिमाली र पहाडी गाउँमा बाक्लो हिउँ जमेकोले दैनिक गतिविधि गर्न कठिनाइ भइरहेको हो । साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाका अधिकांश ठाउँमा जमेको हिउँ अझै पनि नपग्लिएको स्थानीयले बताएका छन् । ‘पानीका पाइप पनि जमेकाले धारामा पानी आएको छैन,’ साइपाल गाउँपालिका—५ न्युनाका उमेश बोहराले भने, ‘हिउँ पगालेर खाइरहेका छौं । हिउँले बाटाघाटा सबै पुरिएका छन् ।’

लेकाली भेगका विद्यालय बन्द

Inside Article Ads

हिमपातपछि प्रतिदिन बढ्दै गएको जाडोले जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई पनि समस्या हुन थालेको छ । जाडो बढेपछि स्थानीयहरूको दैनिक कामकाज प्रभावित भएको छ भने उच्चपहाडी तथा हिमाली भेगका विद्यालय बन्द भएका छन् । चिसोका कारण गाउँका मानिसहरू घरभित्र आगो तापेर बसेका छन् । बजार क्षेत्रका बासिन्दा पनि चोक गल्लीहरूमा बिहान साँझ आगोमै झुम्मिरहेका देखिन्छन् । ‘बिहान र साँझ घाँसदाउरा र पानी पँधेरो गर्न निकै समस्या हुने गरेको छ,’ सुर्मा गाउँपालिकाकी शर्मिला बोहराले भनिन्, ‘घरधन्दाको काम गर्ने महिलाहरूलाई बढी समस्या भएको छ ।’ अहिले दिनहुँजसो बादल लाग्ने र दिउँसो पनि राम्रोसँग घाम नलाग्ने भएका कारण कामधन्दा गर्न गाह्रो भइरहेको उनले बताइन् । ‘आगो नबालेर बस्न सकिने अवस्था छैन । यति धेरै जाडो त पहिला कहिल्यै भएको थाहा छैन,’ चैनपुरकी ७० वर्षीय महेश्वरी सिंहले भनिन्, ‘यो वर्ष खपिनसक्नु जाडो छ ।’

हिमपातपछि साइपाल, सुर्मा गाउँपालिका र बुंगल नगरपालिकाको हिमाली भेगका ठाउँहरूको तापक्रम रातमा माइनसभन्दा तल झर्ने गरेको छ । चिसोले ससाना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । अत्यधिक जाडो बढेपछि ओढ्ने र लगाउने लुगाफाटो नभएका गरिब परिवारहरूलाई झन् सास्ती थपिएको छ । जाडोले बेमौसमी वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित परिवारहरू, हलिया, बादी र विपन्नहरू बढी समस्यामा छन् । जाडो बढेसँगै बालबालिकामा निमोनिया र वृद्धवद्धाहरूमा दमको संक्रमण बढिरहेको स्वास्थ्य संस्थाहरूले बताएका छन् । ‘चिसो बढेका कारण नै जिल्ला अस्पतालमा बिरामीहरूको चाप पनि बढेको छ । पहिलाको तुलनामा २५ प्रतिशतभन्दा बढी दम र निमोनियाका बिरामी दुई/चार दिनयता बढेका छन्,’ जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले भने, ‘अहिले सबै बेड दम र निमोनियाका बिरामीले भरिएका छन् । धेरैलाई अक्सिजन दिएर उपचार गर्नुपरिरहेको छ ।’
निमोनिया, श्वासप्रश्वाससम्बन्धी रोग र बाथ रोगका बिरामीहरूलाई चिसोयाममा बढी समस्या हुने गरेको बताउँदै उनले चिसोमा आगो ताप्ने र धूवाँले गर्दा दम र निमोनियाका रोगीहरूको रोग बिथोलिने भएकाले यसबाट सचेत हुनुपर्ने सुझाए । चिसो बढेसँगै दाउराको मूल्य पनि बढेको छ । बझाङ सदरमुकाम चैनपुरमा ग्यास प्रचलनमा आएसँगै गर्मीयाममा प्रायः ठप्पजस्तै हुने दाउराको व्यापार जाडो बढेसँगै फस्टाएको दाउरा व्यापारीहरू बताउँछन् । दौलिचौरको पटुडीबाट दाउरा बेच्न आएकी सखी बोहराले भनिन्, ‘गर्मीको मौसममा भनेजस्तो मूल्य पनि पाइँदैनथ्यो । तर अहिले जति ल्याए पनि बिक्री हुन्छ भने जति मूल्य पनि पाइन्छ ।’ गर्मीयाममा एक भारी दाउरा बेच्न दिनभरि बजार घुम्नुपर्ने गरेको बताउँदै उनले अहिले मानिसहरू दाउरा खरिद गर्नका लागि आधा बाटोसम्म पुग्ने गरेको बताइन् । एक महिनाअघिसम्म ३ देखि ४ सयसम्ममा पाइने प्रतिभारी दाउराको मूल्य अहिले ६ सयसम्म पुगेको दाउरा व्यापारी किणीदेवी बोहराले बताइन् ।    

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.