
गोरखा — १६ पुस २०७८
गोरखा , हिउँले धार्चे–४ लाप्राकको नमुना बस्ती ढाकेपछि स्थानीयवासी पुरानै बस्ती लाप्राक फर्किएका छन् । हिउँ परेर चिसो बढेसँगै उनीहरू पुरानै बस्ती फर्किएका हुन् । ‘चिसो वढेको छ, फेरि गुप्सीपाखाको मौसम कहिले घाम लाग्ने, कहिले ओझेल पर्ने गरी छिन–छिनमा परिवर्तन भइरहेको छ,’ उनले भने, ‘अहिले हिउँ पर्न रोकिए पनि हिउँ पग्लिसकेको छैन ।’ लाप्राक बस्तीमा हिउँ रोकिए पनि चिसो बढेपछि गाउँले घरभित्रै आगो तापेर बसेका छन् । बिहीबार बिहान ३ बजेबाट हिउँ पर्न रोकिए पनि पग्लने क्रम भने जारी रहेको उनले बताए । ‘डेढ फिट जति हिउँ जमेको छ,’ उनले भने, ‘बाटोहरू सबै हिउँले ढाकेका छन्, आँगनभर हिउँ नै हिउँ छ ।’
हिउँ खेल्नका लागि फाट्ट फुट्ट आन्तरिक पर्यटक समेत लाप्राक पुगेका छन् । ओसिलो ठाउँ भएकाले लाप्राकको हिउँ पग्लन समय लाग्ने स्थानीयले बताए । गुप्सीपाखा बस्ती हिउँले ढाकेर जनजीवन कष्टकर वनेपनि सेताम्मे हिउँले दृश्य भने सुन्दर वनेको छ । गोरखा बजार, बाह्रकिलो, आवुखैरेनी, मुग्लीनसम्मका स्थानीयलाई हिउँ खेल्नका लागि सवैभन्दा नजिकको गन्तव्य गुप्सीपाखा वन्दै आएको छ । गत वर्ष लाप्राक गुप्सीपाखामा हिउँ खेल्न पुग्नेको घुइँचो लागेको थियो । यो वर्ष झनै आन्तरीक पर्यटक वढ्ने स्थानीयको विश्वास छ ।
त्यस्तै चुमनुब्री–७ छेकम्पारमा हिउँ जमेसँगै तापक्रम माइनस १ डिग्री सेल्सिएस पुगेको छ । छेकम्पारमा २.५ फिट हिउँ जमेको स्थानीय बुर्जी छिरिङ लामाले बताए । जाडो सुरु हुनु अगावै स्थानीयले दाउराको जोहो गरेर राखेका छन् । अहिले घरभित्रै आगो तापेर दिन कटाइरहेको तार्सिङले बताए । छेकम्पारका वस्ती यतिवेला हिउँले ढाकको उनले बताए । चुमनुब्री गाउँपालिका अन्तर्गत छेकम्पार, सामागाउँ, साम्दो, लोक्पा लगायतका वस्ती हिउँले ढाकेको स्थानीयले बताए । जनजीवन कष्टकर बने पनि हिउँ परेपछि गहुँ, जौ, तथा आलुखेतीका लागि राम्रो हुने कृषकहरू बताउँछन् ।
( कान्तिपुर दैनिक )
